शेयरबजारमा किन आयो आकस्मिक संकट ? राष्ट्र बैंकमा एकपछि अर्का रमिता

शेयरबजारमा किन आयो आकस्मिक संकट ? राष्ट्र बैंकमा एकपछि अर्का रमिता

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने बैंकिङ्ग कारोबारमा पहिलो पटक २०७५ असार मसान्तका दिन सीमा तोकेको हो । अन्तर्राष्ट्रिय प्रचलनलाई हेर्दा विद्युतीय माध्यमबाट गरिने कारोबार तुलनात्मक रूपमा जोखिमयुक्त हुने भएकाले सुरक्षाको लागि प्रतिपटक, प्रतिदिन र प्रतिअङ्कको गरी तीन तहको सीमा तोकिएको हुन्छ । राष्ट्र बैंकले पहिलो पटक जारी गरेको विद्युतीय बैंकिङ्ग कारोबारको सीमासम्बन्धी निर्देशनले पनि सोही मान्यतालाई आत्मसात् गरेको भनिएको थियो ।

त्यसबखत बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गर्ने कार्ड र नेटवर्क विश्वव्यापी भीसा, मास्टरकार्डकै प्रयोग गर्नुपर्ने, प्रयोग गरेवापत चर्को शुल्क डलरमा तिर्नुपर्ने भएकाले एउटा बैंक वा वित्तीय संस्थाले जारी गरेको कार्ड अर्को बैंक वा वित्तीय संस्थाले सञ्चालन गरेको एटीएममा प्रयोग गर्दा शुल्क लिनु अस्वाभाविक थिएन ।

त्यसपछि कारोबार सीमासम्बन्धी निर्देशनलाई संशोधन गर्दै लगियो । सोहीक्रममा अन्य नयाँ उपकरणहरूबाट गरिने कारोबारलाई समेत समावेश गर्दै कारोबार रकमको सीमामा केही बृद्धि गरिए तापनि शुल्क व्यवस्थालाई भने यथावत राखियो । त्यहि मेसोमा नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिष्टमको नेटवर्क ह्याक गरी ह्याकरहरूले काठमाडौंका धेरैवटा बैंकका एटीएम मेसिनबाट एकैपटक ठूलो रकम झिक्न सफल भए ।

नेपालमा एटीएम ह्याकरको बिगबिगी भएपछि मात्र केन्द्रीय बैंकले अनिवार्य रूपमा हेल्पडेस्क सञ्चालन गर्न निर्देशन जारी गरेको थियो । त्यसपछि एउटा बैंकले हेल्पडेस्क निर्देशनको कडाइका साथ पालना गरेकै कारण ह्याकरहरू सजिलै पक्राउ परे । रमाइलो संयोगचाँहि ह्याकर पक्राउ परेपछि मात्र केन्द्रीय बैंकले अनुसन्धान टोली गठन गरेको थियो ।

स्रोतका अनुसार टोलीले एटीएमबाट प्रतिदिन एक पटकमा पच्चिस हजार र बढीमा चार पटक गरी जम्मा एक लाख रूपैयाँ झिक्न सकिने व्यवस्था उपयुक्त रहेको प्रतिवेदन पेश गरेको थियो । तर, केही समयपश्चात् प्रतिदिन ६० हजार रूपैयाँ मात्र झिक्न सकिने गरी सीमा घटाइयो । त्यतिले नपुगेर उच्च प्रविधि र प्रणालीगतरूपमा नै निगरानी गरिनुपर्ने व्यवस्थालाई ढुँगे युगमा फर्काउँदै प्रत्येक एटीएम बुथमा सुरक्षा गार्ड राख्नुपर्ने कडा निर्देशन जारी गरियो । उक्त निर्देशनको भने बैंक तथा वित्तीय संस्थाहरूले बिरोध गरे । तर, केही समयपछि केन्द्रीय बैंकले रकमको सीमालाई पुनः एक लाख पुर्याउँदै सुरक्षा गार्ड राख्नुपर्ने त्यसअघिको निर्देशनलाई खारेज गरिदियो ।

बैंकले बेलाबखत जारी गरेको निर्देशनमा संशोधन गरी कारोबार रकमको सीमा बढाउँदै लगेको देखिन्छ । तर, त्यसतर्फ जोखिमको अनुमान नगरिएको भुक्तानी प्रणाली विज्ञहरू नै बताउँछन् । विद्युतीय माध्यमबाट गरिने कारोबारको मापन प्रयोगकर्ता, संख्या र पहुँचको आधारमा गरिनुपर्नेमा रकमको सीमा मात्र बढाएर त्यसको कूल रकमलाई मात्र आधार मान्ने गरिएको छ । यसबाट कारोबार रकमको परिमाण ठूलो देखिए पनि उपकरणको पहुँच आमजनता र व्यवसायीवीच पुग्न नसक्ने अवस्थाको सिर्जनस हुँदै गएको छ । यसले अन्ततः केन्द्रीय बैंकको नगद कारोबारलाई घटाउँदै लैजाने रणनीति नै असफल हुने देखिन्छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कोभिड–१९ को असर रहेसम्म एटीएम कारोबारमा शुल्क लिन नपाइने नीतिगत व्यवस्था साउन २ गते सार्वजनिक गरियो । त्यसको दुई दिनपछि एटीएम कारोबारमा शुल्क मिन्हाको निर्देशन जारी भयो । उक्त निर्देशनपछि एटीएम कारोबार ह्वात्तै बढ्यो । बैंक तथा वित्तीय संस्थाहरूले विदेशमा चर्को शुल्क तिर्नुपर्ने तर, ग्राहकसँग शुल्क लिन नपाइने व्यवस्थाले थप एटीएम स्थापना र सञ्चालनमा भने नकारात्मक असर परेकोतर्फ केन्द्रीय बैंकले कुनै ध्यान नदिएको अधिकारीहरू बताउँछन् ।

यसबाट बैंक तथा वित्तीय संस्थाहरू थप एटीएम स्थापना र भएकामा पनि विगतमा झैं समयमा रकम भर्न अनिच्छुक हुँदै गए । र, सर्वसाधारण फेरि थोरै रकमको लागि पनि पहिलेझैं बैंकको काउन्टरमा लाइन बस्न बाध्य भए । अवस्था थप बिग्रिनसक्ने देखिएपछि राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा शुल्क लिन पाइने पूर्ववत व्यवस्थालाई पुनरावलोकन गरेको हो । पछिल्लो दिन ‘गुदीमा भन्दा बोक्रामा ध्यान दिने’ प्रवृत्तिले घर गरेकाले बैंकमा निर्देशन जारी गर्नुअगावै कुन क्षेत्रमा के कस्तो असर पर्छ भन्नेसम्बन्धमा विगतमाझैं छलफल र गहन अध्ययन गर्ने परिपाटी हटेको छ । त्यसैगरी जुनसुकै विषयलाई पनि हलुका ढंगले लिई सस्तो लोकप्रियताको लागि निर्देशन जारी गर्ने र प्रचारमा रमाउने परिपाटीको विकास हुँदै गएको पाइन्छ ।

मौद्रिक नीतिको पछिल्लो समीक्षामा उल्लेख गरिएको एउटा वाक्यको कारण गत साताको पहिलो दिन आइतबारको सेयर बजार नसोचेको बिन्दूले तल झर्यो । १ सय २३ अंकले घटेको नेप्से नेपाली सेयर बजारमा एकैदिन सबैभन्दा धेरै अंकले तल झरेको पहिलो रेकर्ड हो । गभर्नरले ‘सेयर धितो ऋण पुनरावलोकन गर्ने’ जनाएपछि सेयर बजारमा पहिरो गएको हो । नियामक निकायको सानो वाक्यले समेत पुँजी बजारमा ठूलो असर पर्नेतर्फ केन्द्रीय बैंकको वर्तमान अनुदारवादी नेतृत्वले बेलैमा ढङ्ग नपुर्याएको परिणाम आइतबारबाट देखिन थालेको नीजि क्षेत्रले आरोप लगाउन थालेको छ । भलै यो साता नेप्से बिस्तारै बढेर पहिलेको स्थानमा आइपुग्न खोजको देखिन्छ ।

पछिल्लो समयमा नियामक निकायको व्यवस्थापन तह र कर्मचारीमा व्यक्तिवादी सोच बढ्दै गएकोले अहिलेको अवस्था देखिएको बैंकभित्रैका एकथरिले बताएका छन् । ‘सक्षम र अनुभवी कर्मचारीलाई अनिवार्य अवकाश दिइएको जस्ता कारण बैंकले जारी गर्ने नीति निर्देशनमा बेलाबखत विचलन आउन थालेको’एकजना पूर्व गभर्नरले स्वीकारे ।

टिप्पणीहरू