श्रीमतीमाथि तातो तेल खन्याएपछि…

धादिङको एउटा हृदयविदारक घटनापछि ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ होइन, ‘लोग्ने स्वास्नीको झगडालाई चिताको आगो’ भन्नुपर्ने भएको छ । यहाँका एक पुरुषले पुरानो उखान बिर्साउने बर्बरता मच्चाएका छन् । रिसको झोंकमा पुरी पकाउँदै गरेको ताईको तातो तेल खन्याएका हुन् । यस्तो किस्सा गरुड पुराणमा यमदूतहरूले कराईमा भकभकी पाकेको तातो तेल खनाएर नर्कमा यातना दिने गरेको कहालीलाग्दो किंवदन्तीकारुपमा सुनिँदै आएको हो । तर मत्र्यलोकमै देखिएको छ यस्तो घटना ।

समझदारीमा मिल्न सकिने सानोतिनो आपसी विवादमा नीलकण्ठ नगरपालिका–११ ज्यामरुङका अश्विन परियारले घर बाहिर बसिरहेकी २० वर्षीया श्रीमती पूजालाई टाउको र शरीरमा भकभकी पाक्दै गरेको तातो तेल खन्याएर मार्न आँटेका थिए । छिमेकीले तत्काल शरीरमा पानी खन्याएर अस्पताल पु¥याएपछि मुस्किलले प्राण जोगियो । गएको कात्तिक १८ गते यस्तो क्रुर घटना भएको हो । घाइते कीर्तिपुर मोडेल अस्पतालमा उपचारपछि धादिङ फर्किएकी छन् ।

श्रीमतीको मोबाइलमा अश्लील फोटो देखेपछि दशैं विदामा घर गएका परियारको मनमा शंकाले लंका जलाएको हो । त्यसपछि अश्विनले अगेनामा सेलरोटी पकाउन उम्लिँदै गरेको तेल खन्याए । शरिरका सबै भाग जलेर बेहोश बनेकी पूजालाई गाउँलेले तत्काल उद्धार गर्दै अस्पताल लगे । तातो तेलले टाउको, ढाड, घाँटी, गोडा र हात डढेको थियो । घटनालगत्तै पक्राउ परेका परियारविरुद्ध मिश्री दर्जीको जाहेरीमा जिल्ला सरकारी वकीलको कार्यालयले ज्यान मार्ने उद्योग अभियोगमा मुद्धा दर्ता ग¥यो । पूजाले अघिपछि पनि शंकाको भरमा मरणासन्न हुनेगरी कुटपिट गर्दै आएको बकपत्र प्रहरी र अदालतमा गरेकी छन् ।

यी प्रतिबादीलाई मुलुकी फौजदारी अपराध संहिता ऐनको दफा १८३ (१) को. कसुरमा सोही दफाको उपदफा (२) बमोजिम हदैसम्मको सजायँ माग गरिएको छ । यी दफामा कसैले कसैको ज्यान मार्ने नियतले उद्योग गर्न नहुने र यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिवाना हुने प्रावधान छ । पीडितलाई मनासिव क्षतिपूर्तिको मागसमेत गरिएको छ ।

विवेकशून्य बनेका अश्विनले आखिर जिल्ला अदालत र प्रहरीमा अपराध स्वीकार गरेका छन् । । उनले अदालतमा यस्तो बयान दिएका छन्, ‘श्रीमतीको मोबाइलमा नाङ्गो भिडियो राखेको जानकारी पाएँ । मैले काठमाडौ हुँदा आफूले नै पठाएको फोटोहरूमात्र होला भनेर गम्भीर रुपमा लिइन । यसबारेमा सोध्दा ठूलो स्वरले होइन भने पनि खोसेर हेर्दा नाङ्गो फोटोहरू देखेपछि पुरी पकाउन तताएको तातो तेल खन्याएको हुँ ।’
जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले यही मंसिर १६ गते परियारलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । मतियारको भूमिकामा रहेकी सासू सीता र ससुरा सुजन परियारलाई जनही १ लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ । यो मुद्दालाई अदालतले ‘फास्ट ट्रयाक’ मार्फत सुनुवाइ गर्ने भएको छ ।

टिप्पणीहरू