काठमाडौं र भक्तपुरमा काँग्रेसको ताँती
नेपाली काङ्ग्रेस,जिल्ला कार्यसमिति,काठमाडौंको आयोजनामा बिरोध र्याली भएको छ । केही समयअघि काठमाडौंका विभिन्न स्थानमा जम्मा भई रत्नपार्कसम्म जुलुस निकालेर सभामा परिणत हुने कार्यक्रमबमोजिम अहिले काठमाडौंको भित्री भागमा काँग्रेसको नाराबाजी र प्रदर्शन देखिएको हो ।
सरकारको सर्बसत्तावादी प्रवृत्ति देखिएको,कोभिड–१९ नियन्त्रणमा असफल भएको,स्वास्थ्य सामाग्री खरिदमा अनियमितता देखिएको,राज्य आतङ्क बढेको,मूल्य बृद्धि रोक्न नसकेको र कुशासनबिरुद्ध भन्दै आज काँग्रेसले मुलुकभरका जिल्ला सदरमुकाममा बृहत बिरोध र्यालीको आयोजना गर्ने क्रममा काठमाडौंमा पनि प्रदर्शन गरेको हो ।
त्यहि क्रममा काठमाडौं क्षेत्र नं. ९ का प्रदेश सभासद जयकिसन महर्जनको नेतृत्वमा सुन्धारामा जम्मा भएका प्रदर्शनकारीहरू एकैछिन अघि नारा,जुलुशसहित शान्तिबाटिका,रत्नपार्कतर्फ गएका थिए ।
उता भक्तपुर नगरपालिका-१ सल्लाघारी सृजनानगरबाट जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा निर्वाचित जनप्रतिनिधि,महासमिति सदस्य,जिल्ला कार्यसमितिका पदाधिकारी र स्थानीय पार्टी कार्यकर्ताहरू गरी करिव १८००-२००० जनाको र्याली सृजनानगरबाट सल्लाघारी,घलाते,पाण्डु बजार हुँदै सूर्यविनायक चोक पुग्दैछ । उक्त र्यालीका कारण अरनिको राजमार्गको भक्तपुरबाट काभ्रेतर्फ जाने बाटो अवरुद्ध भएको छ ।
उनीहरूले यस्ता नारा लगाएका छन् :
– सर्वसत्तावादी ओली सरकार – मूर्दावाद ।
– तनहुँमा भएको दुर्व्यवहार -अपमान र अत्याचार ।
– बढ्यो महिला हिंसा र बलात्कार – अकर्मण्य भयो ओली सरकार ।
– चारैतिर भ्रष्टाचार – जनताले चिन्यो ओली सरकार ।
– अति भो अति भो -मुलुककै छवि क्षति भो ।
– जनता कोरोनाको मारमा – नेकपा सत्ताको जीतहारमा ।
– औषधि छैन,मल छैन – सत्ताको लडाइँ लाज छैन ।
टिप्पणीहरू