नेता, उपियाँ र तमासा

नेता, उपियाँ र तमासा

कौशल चेम्जोङ

हिजोआज सिनो पनि होइन कङ्काल बोकेर एकथरी मान्छे सडकमा छन् । ती कम्युनिष्ट सरकारको विरोधमा निकै लामो फेहरिस्त खडा गरेर ‘ढुकुवा खेलाडी’को भूमिका निर्वाह गर्न अग्रसर छन् । करिब करिब प्रतिपक्षविहिन बनाएर नेपाली जनताले सत्ता सुम्पेका कम्युनिष्ट सरकारविरुद्ध ढुकुवा खेलाडीहरू किन सल्बल्याए ? राजनीतिक अभिष्ट पुरा गर्ने यो आन्दोलनको आयोजक सतहमा राष्ट्रिय नागरिक आन्दोलन, २०७७ देखिन्छ । यो खेलको शील्ड वर्तमान संविधानको खारेजी अनि हिन्दू राज्य र राजतन्त्रचाहिँ पदकको रुपमा सजाइएका छन् । धमिलो पानीमा माछा मार्न मछुवारहरू सल्बलाउनु अनोठौ कुरा होइन । सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेस प्रतिपक्षी भूमिका निर्वाह गर्न नसकेपछि हिन्दूवादी राजतन्त्र समर्थकहरू उठ्नु स्वभाविकै हो । यस्तो किन भयो ? कांग्रेसलाई त सत्ता नफापेकै हो । के कम्युनिष्टलाई पनि सत्ता फाप्दैन ?

सत्तासीन कम्युनिष्टहरूले सत्ताविहिन कम्युनिष्टहरूलाई खाते देख्न थालेपछि यो समस्या सिर्जना भएको हो । व्यक्तिलाई केन्द्रविन्दुमा राख्दै विचार र सिद्धान्तलाई चाकरी–चाप्लुसीमा रुपान्तर गर्ने व्यसन लागेपछि कम्युनिष्टहरू पतनोन्मुख हुँदैछन् भन्न हिच्किचाउनु पर्दैन् । दुई अध्यक्षका दुई कुरा, तिनका भाटहरूले देखाउने हैसियत तीन कुरा । कसका कुरामा विश्वास गर्ने ? जोड्न पाएको छैन फोड्न हतार हुने ? सत्ताको चास्नी लागेका उपियाँहरूले गर्दा नेताहरूबिच फाटो बढेको छ । नेताका दिलदिमागमा बसेर उपियाँहरू ‘नेता मार्न’ तल्लीन छन् । एउटै उदाहरण काफी छ, उपियाँहरूले अध्यक्ष द्वयलाई देवत्वकरण गर्छन् मानौं ‘मेरोे अध्यक्ष के.पी. शर्मा ओली’ र अर्का ‘मेरोे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले गल्ती गर्नै सक्दैनन् । र, एउटा नेताको आड लिएर अर्को नेतालाई चियापसलमा कम्मरमुनीको भाषासमेत प्रयोग गर्छन् । आफैंले आफैंलाई नङ्ग्याउने यो काइदाको काम हो । समर्थकहरू अन्धभक्त हुनु अनोठौ कुरा भएन । तर अध्यक्षद्वय नि ? मुहान सङ्ग्लो भए पुछार धमिलिँदैन भन्ने कुरा किन बिर्सेका ? अध्यक्षद्वयप्रति कम्मरमुनीको भाषा प्रयोग गर्नेहरूले कम्युनिष्ट पार्टीभित्र चल्ने वैचारिक संघर्षका इतिहासहरूबाट पाठ पढेको देखिन्न । मुखको स्वाद फेर्न कम्युनिष्ट नेताहरू जस्तै कार्यकर्ता पनि तम्सेका छन् । यस्तो बेला कङ्काल बोकेर मान्छे तर्साउन (फकाउन) आन्दोलन जारी छ ।

कांग्रेसलाई त सत्ता नफापेकै हो । के कम्युनिष्टलाई पनि सत्ता फाप्दैन ?

महाभारतमा शासकहरूको पतनका कारणहरूमध्ये क्रोध व्यसनलाई प्रमुख मानिएको छ, जुन शासक चुक्लि सुन्छ, बढी दुस्साहसी हुन्छ, जसका वाणीमा कठोरता हुन्छ, जो अनावश्यक रुपमा प्रतिशोध साँधेर आफ्ना आलोचकहरूलाई दण्ड दिन उद्यत हुन्छ अनि जो अर्थदूषण गर्छ, त्यस्ता शासकको पतन निश्चय हुन्छ । राजा ज्ञानेन्द्रमा यिनै क्रोध व्यसन थिए, जसले गर्दा राजतन्त्रको उन्मूलन भयो । अब पालो कम्युनिष्ट सरकारकोे हो ? क्षमता भन्दा चाकरी र चुक्लीलाई ग्राह्यता दिन थालिएको छ । राम्रोलाई भन्दा हाम्रोलाई छान्न थालेपछि जनताको विश्वास विस्तारै उठ्न सुरु भएको छ । एकताको नाममा गुट उपगुटहरू खडा गरिएको छ । यसले गर्दा जनतामा कम्युनिष्ट सरकारप्रति वितृष्णा जाग्दैछ । आलोचनालाई सकारात्मक रुपमा नलिने, उपियाँहरूलाई मात्रै अवसर र स्रोत वितरण गर्ने परिपाटी मन पराउन थालिएको छ । यसले गर्दा व्यक्ति होइन सिद्धान्त मन परेर कम्युनिष्ट भएकाहरूलाई वाकवाकी लाग्नु स्वाभाविक हो । यसमा सरकारले गरेका राम्रा कामहरूको प्रशंसा गर्न नसक्ने नेकपाका नेता र कार्यकर्ताहरू जति जिम्मेवार छन्, त्यति नै विधिलाई अटेर गरी सत्ताले मातेका नेता र कार्यकर्ताहरू पनि मुख्य छन् । केपी ओली र प्रचण्डको अनुहार मात्रै हेरेर नेपाली जनताले कम्युनिष्टहरूलाई दुईतिहाइ मत दिएका होइनन् ।

यो बेला गुट उपगुटको पक्षपोषण गर्नुभन्दा एकताको प्रक्रियालाई स्वस्थ ढङ्गले देश र जनताको हित हुने गरी वैचारिक बहस गर्नुपर्ने हो । सरकारबाट भएका कमी–कमजोरीको मूल्याङ्कन गर्दा सत्तासीनहरू पनि सच्चिन तत्पर बन्नु पर्ने हो । तर अवस्था यस्तो छैन । तीन वर्षअघि चुनावी घोषणापत्रमा गरिएका वाचाहरू कति पुरा भए ? अब दुई वर्षपछि जनताले हिसाबकिताब माग्छन् भन्ने कुरा सत्तासिन कम्युनिष्टहरूले बिर्सेझैं छन् । एक्लाएक्लै हिँडेर समाजवादमा पुगि“दैन भन्ने कुरा नेताहरूले नबिर्सिदिने हो भने पनि उपियाँहरूको उफ्राइ अलिक कम हुन्थ्यो । कम्युनिष्ट पार्टीको भलो हुन्थ्यो । कङ्काल बोकेर तमाशा गर्नेहरू जिल्लिन्थे । तर लाग्छ, जस्ता नेता उस्तै उपियाँ । भाँडमा जाओस् कम्युनिष्ट पार्टी र सिद्धान्त, के त्यस्तै हो ? होइन भने महाधिवेशनको टुङ्गो गर र छिनोफानो गर । नेतृत्व र विचार कसको हो ? स्थापित गर । तमाशा नगर ।

टिप्पणीहरू