दीप बस्न्यात सर्वोच्चबाट छुट्लान् ?

दीप बस्न्यात सर्वोच्चबाट छुट्लान् ?

पूर्वसचिव तथा अख्तियार प्रमुख दीप बस्न्यात बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा तानिएपछि विशेष अदालतको आदेशबमोजिम आइतबार साँझ पुर्पक्षको लागि प्रहरी हिरासतमा पुगेका छन् । अकुत सम्पत्तिमा छानबिन भइरहेका बस्नेतले प्रधानमन्त्रीको निवासलाई विस्तार गर्ने गुरुयोजना बनाउँदा बदनियत राखेको देखिन आएपछि मुख्य न्यायाधीश प्रेमराज कार्कीसहितको इजलासले उनलाई प्राप्त प्रमाणको आधारमा पुर्पक्षको लागि जेलमा राख्न आदेश दिएको हो ।

अब बस्न्यात सर्वोच्च अदालत जाने हो भने सबैभन्दा पहिले मविरुद्ध विशेषको आदेश बदर गरी पाऊँ भनेर सर्वोच्चमा निवेदन दिनुपर्ने हुन्छ । निवेदन दर्ता भएपछि के आधारमा थुनामा राखेको हो भनेर विवरण खुलाई कैफियत प्रतिवेदन पेश गर्न सर्वोच्चले आदेश दिन्छ । विशेषले पनि यो यो आधारमा थुनामा राखेको हो भनेर लेखी पठाउनुपर्छ । त्यसपछि मात्र पेशी चढ्छ र बहस शुरु हुन्छ । त्यस्तो बेला सर्वोच्चको टाइम फ्रेमको महत्वपूर्ण भूमिका हुन्छ । कहिलेकाँही छिटै भए पनि महिनौंसम्म लाग्ने गरेको देखिन्छ । तर, थुनुवा मुद्दा भएकाले उक्त मुद्दाले सबैभन्दा पहिलो प्राथमिकता पाउने बताइन्छ ।

केही समयअघि भूमिसुधार मन्त्रालयका सचिव दिनेश अधिकारी त्यस्तै प्रकृतिको मुद्दामा पाँच लाख रुपैयाँ धरौटीमा छुटेका थिए । अहिले बस्न्यातलाई लागेको मुद्दा पनि अख्तियार प्रमुख भएको नाताले नभई तत्कालीन सचिव हुँदा गरेको कामकारबाहीको आधारमा हो । त्यसको लागि मिसिल नहेरी यसै हुन्छ भनेर भन्न नसकिने कानुनविद्हरू बताउँछन् ।

टिप्पणीहरू