नेकपा विवादमा कित्ताकाट : १ नं. प्रदेशका को-कता ?

नेकपा विवादमा कित्ताकाट : १ नं. प्रदेशका को-कता ?

नेकपाको कोटेश्वर-पेरिसडाँडास्थित कार्यालयमा हिजो भएको १ नम्बर प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै खुमलटार समूहका नेताहरूले संघीय तथा प्रदेश सांसद, केन्द्रीय सदस्य एवम् प्रदेश कमिटीका कमरेडहरूलाई पार्टी नफुट्ने तर नेतृत्वको कार्यशैली अब यसैगरी नजाने कुरामा सचेत रहन आह्वान गर्नुभएको छ । त्यस अवसरमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबाट भएका घातका अनेक घटना सुनाउनुभएको थियो । उहाँले भन्नुभयो, ‘अध्यक्ष ओली अहिले पनि दर्जनौं तानाबाना र षड्यन्त्र बोकेर अघि बढिरहनुभएको छ ।’

दाहालको भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘उहाँका ती सबै फेहरिस्त अहिले नखोलौं । विशेष अधिवेशन आह्वानको लागि पार्टीका पौने सयभन्दा बढी सांसदको निवेदन र हस्ताक्षर दर्ता नगरिएसँगै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति अस्तिको स्थायी समिति बैठकबाट गरियो । साथीहरूले निवेदनको फाइल फिर्ता लिएर मार्गप्रशस्त गरिदिनुभयो । तर, प्रधानमन्त्रीले आफ्नो वचन यतिखेरसम्म कार्यान्वयन गर्नुभएको छैन । उहाँ सँधै यस्ता खालका षडयन्त्रका दर्जनौं पुलिन्दा बोकेर हिँड्नमै रमाउनुहुन्छ ।’

पटकपटक घडी हेर्दै बोल्नुभएका दाहाल र वरिष्ठ नेता नेपाल सम्बोधनलगत्तै बाहिरिनुभएको थियो । सोहि क्रममा नेपालले प्रधानमन्त्रीले आफूलाई बहुदलीय जनवाद मान्नेहरू सबै एक ठाउँमा हुनुपर्छ भन्नेदेखि पूर्व एमालेजति एक ठाउँमा हुनुपर्छ भनेर समेत फकाउन पछि नपरेको स्मरण गराउँदै केही सीप नलागेपछि आफूलाई वेटिङ्ग प्रधानमन्त्रीको समेत अफर गर्नुभएको रहस्य खोल्नुभएको थियो । ‘तर अब यस्ता तरिकाले हुँदैन’ भन्दै नेपालले नेकपा गठनपछि एमाले नरहेको,माओवादी पनि नरहेको वास्तविकतालाई सबैले मनन् गर्नुपर्ने बताउनुभयो । बालुवाटारतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो ‘अब उदाउँदो सूर्य चिन्ह राखेर एमालेकै नाममा दल दर्ता गरेपनि त्यो हैसियत रहन्न । पार्टीलाई नयाँ शीराबाट नयाँ शक्तिको रूपमा अघि बढाउनुको विकल्प छैन । कसैले चाहेर पनि टुटफुटको सम्भावना छैन ।’

पटकपटक घडी हेर्दै बोल्नुभएका दाहाल र वरिष्ठ नेता नेपाल सम्बोधनलगत्तै बाहिरिनुभएको थियोअब उदाउँदो सूर्य चिन्ह राखेर एमालेकै नाममा दल दर्ता गरे पनि त्यो हैसियत रहन्न ।

नेकपामा अब न पूर्व एमाले न पूर्व माओवादी न बहुदलीय जनवाद वा न नौलो जनवाद रहेको उल्लेख गर्दै नेपालले सबै अस्त्र सकिएपछि प्रधानमन्त्रीले पटक पटक अध्यादेशको झेली र फोहोरी राजनीति गरेको बताउनुभएको हो । हिजोका कार्यक्रममा उपस्थित सबै नेताहरू प्रतिबद्ध देखिएको र सँधै नरम बोल्ने नेपाल भने ‘बोल्ड’ र कडा ढंगले प्रस्तुत हुनुभएको सहभागीहरुले जनआस्थालाई बताए । अर्का वरिष्ठ नेता झलनाथ खनालले सैद्धान्तिक कुराहरू राख्नुभएको थियो । उपाध्यक्ष वामदेव गौतम भने सचिवालयका पाँच भाइको बैठकमा मात्र उपस्थित हुने बताउँदै कार्यक्रममा नजानुभएको बताइन्छ ।

प्रदेश इञ्चार्ज भीम आचार्यले कार्यक्रम आयोजनाको ‘कन्क्लुजन’ प्रस्तुत गर्दै अहिलेको अवस्था पार्टीभित्र लामो समयदेखि हुँदै आएको संघर्षको पछिल्लो रूप रहेको बताउनुभएको थियो । उहाँले प्रधानमन्त्री तथा अध्यक्षलाई नेतृत्वले धेरै अघिदेखि सच्चाउने प्रयास गरेको, छुट्टाछुट्टै भेला बैठक नगर्न अनुरोध गर्दा पनि बालुवाटारले नटेरेपछि आफूहरूले पनि कार्यक्रमको आयोजना गर्नपरेको बताउनुभएको थियो । आचार्यले अब पनि गलत प्रवृत्ति नसच्चिए पार्टी प्रणाली र पद्धतिभित्र रहेर जस्तोसुकै कठोर निर्णय गर्न नेतृत्व पंक्तिलाई आग्रह गर्नुभयो ।

भेलामा संघीय सांसद, प्रदेश सांसद, प्रदेश कमिटीका सदस्य गरी झण्डै ७ दर्जनको उपस्थिति थियो । देवकुमार राई, यज्ञराज सुनुवार, सुरेशकुमार राई, सुदन किराँती गरी एक दर्जन जति सांसद नै हुनुहुन्थ्यो । पार्टीभित्र देखिएको अन्तरबिरोधलाई विश्लेषण गर्दा प्रदेश कमिटीका इञ्चार्ज भीम आचार्य, सह इञ्चार्ज सावित्रीकुमार काफ्ले र अर्का सह इञ्चार्ज नरेश खरेल सबै खुमलटार निकट मानिनुहुन्छ । सह इञ्चार्ज तथा प्रदेशका मुख्यमन्त्री शेरधन राईचाहिँ  बालुवाटार निकट हुनुहुन्छ ।

त्यसैगरी, १५ वटा जिल्लामध्ये तेह्रथुमका लक्ष्मण तिवारी, संखुवासभाका हेमराज घिमिरे, खोटाङ्गका पृथ्वी राई, इलामका सोम राना, ताप्लेजुङ्गका बिजी किराँती र सुनसरी जिल्ला अध्यक्ष खुमलटार निकट मानिनुहुन्छ । प्रधानमन्त्री ओली निकटहरूमा मोरङ्गका ऋषि पोखरेल, भोजपुरका प्रेमकुमार राई, धनकुटाका राजेन्द्र राई र झापाका चिन्तन पाठक चर्चित हुनुहुन्छ  ।

टिप्पणीहरू