अमेरिकामा ह्याकरहरूको उपद्रो

अमेरिकामा ह्याकरहरूको उपद्रो

ट्रम्प प्रशासनले पछिल्लो चार वर्षमा अमेरिकाको विशेषगरी अर्थ, वाणिज्य र आन्तरिक सुरक्षा मन्त्रालय तथा अन्य प्रमुख सरकारी निकायहरूको नेटवर्कमा विदेशी ह्याकरहरूले सहजै प्रवेश गरी ती निकायको इमेलमा निर्धक्कसँग पहुँच पुर्याएको बताएको छ । अमेरिकी अधिकारीहरूले ती सबै हर्कत मूलतः रुसी सरकारी तथा निजी क्षेत्रका ह्याकरहरूबाट भएको आरोप लगाएका छन् ।

उनीहरूका अनुसार यसबीच संघीय सरकारको प्रणालीमा प्राविधिक रूपमा सबैभन्दा परिष्कृत तवरले गरिएका साईबर आक्रमणमध्येको एउटा ठूलो आक्रमणको बारेमा धेरै कुरा पत्ता लगाउन खोजिएको थियो । त्यसरी गरिएका अधिकांश आक्रमण राष्ट्रिय सुरक्षासम्बन्धी निकायहरूतर्फ लक्षित थिए ।

ट्रम्प प्रशासनले ह्याकको बारेमा थोरै मात्र जानकारी सार्वजनिक गरेको छ । हालै भएको राष्ट्रपतीय निर्वाचनताका रूसी हस्तक्षेपको सम्भावनाबारे सरकार चिन्तित भएपनि संघीय प्रशासनसँग सम्बन्धित प्रमुख निकायहरूमा अत्याधुनिक साइबर आक्रमण भएपनि प्रायः सबै अनभिज्ञ नै देखिएका थिए।

आक्रमणले कति क्षति पुर्यायो र कति तथ्याङ्क हरायो भनेर हालसम्म केही बताउन सकिएको छैन ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन उलियटले हालै एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संयुक्त राज्य अमेरिका सरकार साइबर आक्रमणको रिपोर्टबारे पूर्ण सचेत छ र त्यससम्बन्धी कुनै पनि सम्भावित आक्रमणको समाधानका लागि आवश्यक सबै कदमसमेत चालिदैछ  ।’ आन्तरिक सुरक्षा मन्त्रालयको साइबर सुरक्षा विभागका प्रमुखलाई राष्ट्रपति ट्रम्पले नोभेम्बरमा एकाएक बर्खास्त गरेका थिए । राष्ट्रपतीय चुनावमा अत्याधुनिक प्रविधिमार्फत् कुनै खेलोफड्को नभएको बताए लगत्तै उनलाई बर्खास्त गरिएको थियो ।

उता,वाणिज्य मन्त्रालयले भने हालै आफू मातहतको एउटा विभागसमेत साइबर आक्रमणको नराम्रोसँग शिकार भएको बताएको थियो तर अर्थ मन्त्रालयमा भएको साइबर आक्रमण आक्रामक पाराले नभई निकै फुकी फुकी गरिएकोझैँ देखिएको थियो । एक सरकारी अधिकारीका अनुसार उक्त आक्रमणले कति क्षति पुर्यायो र कति तथ्याङ्क हरायो भनेर हालसम्म केही बताउन सकिएको छैन ।

धेरैजसोले अमेरिकामा भएको पछिल्लो साइबर आक्रमण वसन्त ऋतुको शुरुदेखि नै भइरहेको अनुमान गरेका छन् । किनकि अधिकांश कर्मचारी कोरोना भाइरसको महामारीतिर भुलिँदा ह्याकरहरूले निर्धक्कसँग आफ्नो काम फत्ते गरेका थिए तर रुसले भने अमेरिकाको उक्त आरोपको निरन्तर खण्डन गर्दै आएको छ ।

टिप्पणीहरू