नेकपाका नेता र मेयरकै सामु अभिभावक र बिद्यार्थीलाई बिप्लवको प्रशिक्षण

नेकपाका नेता र मेयरकै सामु अभिभावक र बिद्यार्थीलाई बिप्लवको प्रशिक्षण

गत बिहिबार रुकुम पश्चिमको एक बिद्यालयमा सत्तासिन दलका प्रमुख र स्थानीय तहका प्रमुखकै सामु बिप्लवका नेताले अभिभावक र बिद्यार्थीलाई प्रशिक्षण दिएका छन् । नेकपा बिप्लव समुहका गतिबिधि, नेता र कार्यकर्तालाई शून्यमा पुर्‍याउन सरकारले लगाएको प्रतिबन्धका बिच यस्तो कार्यक्रम भएको हो । उनीहरुका गतिबिधि बिरुद्ध आक्रामक सुरक्षा संयन्त्रलाई नै चुनौति दिनेगरी सत्तासिन दल र स्थानीय सरकार प्रमुखले नै बिप्लवका गतिबिधि सहज र सुरक्षित बनाईदिएको पाईएको छ ।

चौरजहारी नगरपालिका वडा नम्वर ५ स्थित आधारभूत बिद्यालय लरेसिमलमा भएको अभिभावक भेलामा बिप्लव समुहका जिल्ला नेता छविलाल घर्तिले पार्टीको गतिबिधि र आफ्ना नेता बिप्लवको प्रशंसा गर्दै प्रशिक्षण दिएका हुन् । घर्ति पार्टीको जिल्ला कमिटि सदस्य, आर्थिक विभाग प्रमुख र त्रिवेणी गाउँपालिकाका सेक्रेटरी हुन् । सोहि स्टेजमा रहेका सत्तासिन दल नेकपाका चौरजहारी नगर प्रमुख श्रीकृष्ण शर्मा र चौरजहारी नगरपालिकाका मेयर बिशाल शर्मालाई समेत लक्षित गर्दै उनले कार्यक्रम जुराईदिएकोमा खुुशियालि व्यक्त गरेका छन् । श्रीकृष्ण नेकपाको जिल्ला सचिवालय सदस्य पनि हुन् भने बिशाल कर्णाली प्रदेश कमिटिको सदस्य समेत हुन् ।

अभिभावक र बिद्यार्थी सहित करिब २ सयको सहभागिता रहेको उक्त कार्यक्रममा घर्तिले बिल्पवको सोच, क्षमता र लाईनको बारेमा प्रष्ट्याएका थिए । पार्टीको नाममा चन्दा असुलि गर्नेहरु आफ्ना कार्यकर्ता हुन नसक्ने भन्दै उनले आफ्नो पार्टी बिचमा रहेकोले लोभ, लालच र कुर्सि मोहमा फस्न नसक्ने ठोकुवा गरेका थिए । उनले हाउगुजि र लुटेर पार्टीको रुपमा नबुझ्न समेत आह्वान गरे ।

जन आस्थालाई प्राप्त जानकारी अनुसार त्यहाँको बिद्यालयका प्रधानाधयापक नन्दलाल केसीलाई स्थानीय कार्यकर्ताले चन्दा मागेको बिषय पार्टी भित्र छानबिनमा परेको थियो । छानबिनको संयोजक भई त्यहाँ पुगेका घर्ति करिब एक हप्ता नगरपालिकाकै व्यवस्थापन र सुरक्षामा नगरमा रहेका थिए । त्यहाँ बस्दा सम्मको खाना, आवास, यातायात र सुरक्षा व्यवस्था स्थानीय सरकारले गरेको श्रोतको भनाई छ ।

जनप्रतिनिधिहरुले नै बिप्लवका कार्यकर्ताहरुको बचाउ गरेको, खर्चपर्चको व्यवस्था सम्म गरिदिने गरेको देशव्यापी गुनासो बढेको बेला यो घटना भएको हो । यस कार्यलाई स्थानीय सुरक्षा संयन्त्र र प्रशासनले ठूलो चुनौतिको रूपमा लिएको छ ।

भिडियो

टिप्पणीहरू