लड्दै, पड्दै अघि बढ्दै बाग्मती
नमस्कार शाह
रोल्पाको सदरमुकाम लिवाङबाट ३० किमि टाढा रहेको काप्रा किमिचौरस्थित जनज्योति माविका मिहिनेती शिक्षक थिए किमबहादुर थापा क्षेत्री । नियमित पठन, पाठन गराउनु उनको दैनिकी थियो । पढाउँदा, पढाउँदै ०५२ सालमा शुरु भएको जनयुद्धतर्फ झुकाव बढ्यो । पढाउने र घरको काम गर्ने दैनिकी बदलियो, पढाइसँगै जनयुद्धको कार्यमा सघाउन थाले । रोल्पाको गजुल घर भएका उनी तत्कालीन सरकारी पक्षको निशानामा शुरुदेखि नै परिसकेका थिए ।
०५५ मा विद्यालयमा घेरा हालेर समात्ने सुरक्षा निकायको प्रयास असफल भएपछि उनी भागेर नेकपा माओवादीको पूर्णकालीन कार्यकर्ता भए ।
उनै असल शिक्षक किमबहादुर भूमिगत भएपछि तत्कालीन विद्रोही पार्टीको प्रिय कमरेड सुनीलका रूपमा सक्रिय भए । भूमिगत भएपछि गजुलस्थित उनको निवास, उनकी धर्मपत्नी बाग्मती क्षेत्रीनीलगायत सपरिवार सरकारको निशानामा पर्यो । घरमै बस्ने, खेती–किसानी गर्ने, स–साना बच्चा स्याहार्ने जिम्मेवारीमा रहेकी बाग्मतीले विभिन्न यातना भोग्नुपर्यो ।
म एकपटक बलात्कारमा परें । ठूली छोरीलाई पटक–पटक बलात्कार गरे ।
श्रीमान् भूमिगत भएकै कारण सहनसम्म यातना सहे । यही क्रममा उनको पूरै परिवार पार्टीमा लाग्यो । ५ पटक त प्रहरीले घेरा हाल्यो, बिहान उठ्न नपाउँदै प्रहरीले घेरा हालिसकेको हुन्थ्यो–बाग्मतीले बिगत सम्झिइन्–गजुल प्रहरी चौकीबाट आउने प्रहरीले हामीलाई घरमै थुनेर बन्धक बनाउँथ्यो, धम्क्याउने, कुट्ने, पिट्ने त सामान्य भइहाल्यो ।
२ छोरी र ५ छोराको रेखदेख गर्ने जिम्मेवारीमा रहेकी बाग्मतीले छोरा, छोरीसँग असह्यै यातना भोगिन् । यो क्रममा उनको सुनीलसँग कहिलेकाहीँबाहेक भेट भएन ।
प्रहरीले पक्रने, छाड्ने क्रम चलिरहेका बेला ०५६ सालमा उनीलगायत परिवारका सदस्यहरूलाई दशैंकै दिन प्रहरीले लग्यो । त्यसबेला १९ दिन हिरासतमा बस्नुपर्यो । सो क्रममा प्रहरीको निर्घात कुटाइ खानुका साथै बलात्कृतसम्म हुनुपर्यो । म त एकपटक बलात्कारमा परें–उनले भनिन्– ठूली छोरीलाई पटक–पटक बलात्कार गरे ।
१९ दिन हिरासतमा बसेपछि जेठो छोरालाई राखेर बाग्मती र छोरीलाई रिहा गरियो । तत्पश्चात् उनीलगायत परिवारका सबै सदस्य भूमिगत बने । साक्षर बाग्मतीले पार्टीको काममा सघाउन थालिन् भने छोराछोरी कोही जनसेनामा कोही संगठन, कोही साँस्कृतिक टिममा थिए । माइलो छोरा सेना, जेठोे छोरा संगठनमा थिए भने जेठी छोरी डिसिएम ।
जनयुद्धकै क्रममा माइला छोरा दिलीप थापाले सहादत प्राप्त गरे । ०७१ साल वैशाख १ गते दाङको सतबरियामा भएको दोहोरो भिडन्तबाट बचेर प्युठानको मुरकुटिमा पुग्दा भएको दोहोरो भिडन्तमा उनले ज्यान गुमाएका हुन् । जनयुद्धकै क्रममा माइलो छोराबाहेक ज्वाइँ प्रवीण महरा, भाञ्जी ज्वाइँ क्यासबिन थापा, भाञ्जी तेजकुमारी महरा, भतिजा ऋषि खड्कालगायत ६ जना परिवारका सदस्य गुमाएको पीडा ताजै छ ।
संगठनको कामको सिलसिलामा रोल्पाको थवाङ, राङकोट, दाङ, सल्यानलगायत स्थानमा बसेर काम गरेकी उनले श्रीमान् सुनीललाई समेत सघाएकी थिइन् । सुनील जनसेनाका कमाण्डर थिए । सुनीलको नेतृत्वमा भएका कैयौं आक्रमणमा बाग्मती पनि साथ दिन सँगसँगै पुग्ने गर्थिन् ।
सुनील रोल्पाको गाम, होलेरी, लिस्ने, रुकुमको खारा, म्याग्दीको बेनी, भोजपुर, रोल्पाकै घर्ती गाउँ झिन्तवामा भएका ठूला भिडन्तमा लडेका कमाण्डर हुन् । घर्ती गाउँ झिन्तवाको भिडन्तमा सामान्य चोट लाग्नुबाहेक अन्य कुनै आक्रमणमा घाइते हुनु परेन । राम्रो कमाण्डिङ गरेकै कारण उनलाई ०६२ साल मंसिर १४ गते रोल्पा र सल्यानको सिमाना झ्याम मैनावरी गाउँमा डिभिजन कमाण्डर घोषणा गर्ने कार्यक्रम थियो । कार्यक्रममा माओवादी नेताहरू बिप्लव, पासाँग, सुदर्शन वली लगायत सहभागी थिए । नेताहरू बोल्ने क्रम सकिनै लाग्दा तत्कालीन शाही सेनाले हवाई आक्रमण ग¥यो । २ हजारभन्दा बढीको उपस्थितिमा भएको कार्यक्रममा बटालियन घोषणा भएकै दिन सुनीलले सहादत प्राप्त गरे । उनीसँगै अर्का कमाण्डर निर्मलबाहेक अरूले ज्यान गुमाउनु परेन ।
उक्त दिन बाग्मती सुनीलसँगै घोषणा कार्यक्रममा गएकी थिइन् । उनको निधन भएपछि त्यहीँ कतै गाडिएको, पछि सल्यानबाट रोल्पा ल्याई गाडिएको भन्ने सुनिन् बाग्मतीले तर त्यसबेला दाहसंस्कार गर्न सम्भव थिएन । उनी घटना भएकै दिन बटालियनसँगै हिँडिहालिन्, त्यो दिन उनीहरू रोल्पाको डुम्लामा बास बसे ।
यसरी दुःखका पहाड बोक्दै पार्टी काममा अगाडि बढिन् । उनको निष्ठा, इमान्दारी देखेर पार्टीले ०७४ को स्थानीय निर्वाचनमा सुवर्णावती गाउँपालिका उपाध्यक्षको टिकट दियो । निर्वाचन जितिन् । ०७५ मा यस क्षेत्रकै लोकप्रिय नेता सुनीलको सम्झनामा पालिकाको नाममा सुनील स्मृति गाउँपालिका राख्ने प्रस्ताव पार्टी र सिंगो गाउँपालिकाले राख्यो तर उक्त निर्णय हुन नदिन प्रतिपक्ष लगायतले ६ दिनसम्म आन्दोलन गरे । अन्ततः पालिकाको नाम प्रस्ताव गरेबमोजिम नै भयो । अहिले बाग्मती श्रीमान्को स्मृतिमा राखिएको सुनील स्मृति गाउँपालिकाको उपाध्यक्ष पदमा कार्यरत छिन् । भन्छिन्, ‘सुनीलकै सपना पूरा गर्न लागिरहेकी छु । पार्टीका लागि, जनता, देशका लागि लड्दा, लड्दै अहिले यो स्थानमा पुगेकी छु ।’
टिप्पणीहरू