भष्मासुरको कथा र अहिलेका व्यथा

भष्मासुरको कथा र अहिलेका व्यथा

– पुरुषोत्तम पौडेल

बुवाले समय–समयमा भष्मासुरको कथा सुनाउनुहुन्थ्यो । भष्मासुर देवासुर संग्रामका एक विध्वंशकारी र हिंस्रक पात्र हुन् । वैदिक युगमा देवता र असुरहरूबीच लडाइँ हुँदा असुर वर्गका अगुवा पात्र । अत्यन्त महत्वाकांक्षी भष्मासुरले आफूले पाएको वरदानको सदुपयोग गर्न नजानेर आफँैलाई भष्म खरानी गराएका थिए ।

देवासुर संग्रामकै समयमा भष्मासुरलाई देवताहरूसँग लड्न शक्ति चाहिएको थियो । शक्ति आर्जनका लागि उनले दिव्य १२ वर्ष महादेवको घनघोर तपस्या गरे । भष्मासुरको घनघोर तपस्यापछि महादेव प्रकट भएर वरदान माग्न भन्नुभयो । महादेवलाई देखेर खुशी हुँदै भष्मासुरले आफूलाई त्रिलोक विजयी र अमर बनाइदिन वरदान मागे । महादेवले कसैलाई अमर बनाउन नसक्ने तर तिमीले जसको टाउकोमा हात राख्छौ उसको भष्म खरानी हुने वरदान दिए । वरदान पाउँदा खुशी भएका भष्मासुर गद्गद् भएर उफ्रिए ।

महादेवबाट वरदान पाएका भष्मासुर सबभन्दा पहिले महादेवकै टाउकोमा हात राख्न आइलागे । भष्मासुरलाई पहिले आफूभन्दा शक्तिशाली तिनै वरदान दिने महादेव भएकाले पहिले उनैलाई भष्म गरिदिन्छु भन्ने लाग्यो । महादेव भष्मासुरबाट जोगिन भागिरहेका थिए ।

महादेव भाग्दै भाग्दै हलेसीसम्म आइपुगे । भगवान् विष्णुले पीडा नबुझ्ने कुरै थिएन । यसर्थ षोडशी सुन्दरी बनेर हलेसी पुगे । र, भष्मासुरलाई मोहित गर्न थाले । भष्मासुर पनि सुन्दरी फकाउनतिरै लठ्ठ भए । षोडशी विष्णुले चलाखीपूर्वक भष्मासुरलाई मोहित गर्दै नाच्न लगाए । नाच्दानाच्दै भष्मासुरको हात उनकै टाउकोमा राख्न लगाएर विष्णुले भष्म खरानी गराइदिए । यसरी भष्मासुरले आफूलाई वरदान दिनेलाई नै भष्म गर्न खोजे तर अन्त्यमा आफै भष्म भएर महादेवको ज्यान जोगियो ।

०५१ सालमा कांग्रेस नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । उनीसँग बहुमत थियो । पार्टीमा समस्या पैदा भयो । गिरिजाबाबुले दुई तिहाइ बहुमतको कुरा गर्दै संसद् विघटन गरे । उनले आफूलाई प्रधानमन्त्री बनाउने संसद्लाई विनाकारण विघटन गर्नुको परिणाम ०५१ सालमा आमनिर्वाचन भयो । आमचुनावरूपी जनताको भट्टीमा नेपाली कांग्रेस भष्म भएर दोस्रो पार्टी बन्यो । नेकपा एमाले सबैभन्दा ठूलो पार्टीको रूपमा उदाएर सरकार बनाउन सफल भयो । कांग्रेस त्यही बेलादेखि ओरालो लाग्दै गयो ।

०६७ सालमा नेकपा एमालेको तर्फबाट कमरेड झलनाथ खनाल प्रधानमन्त्री हुनुभयो । उहाँलाई तत्कालीन संविधानसभाको सबैभन्दा ठूलो पार्टी नेकपा माओवादीसहित करिब दुई तिहाइ मतको समर्थन थियो । दुई पार्टीबीच पूरा अवधि सरकार चलाएर नयाँ संविधान जारी गर्ने र शान्ति प्रक्रिया टुंगोमा पु¥याउने सहमति थियो तर तत्काल नेकपा एमालेभित्र शक्तिमा रहेको ओलीपक्षले शुरुदेखि नै ओट हालेर प्रधानमन्त्रीलाई समस्या खडा गरिरह्यो । सरकारका हरेक काममा अवरोध ग¥यो । माओवादीलाई दिने भनिएको गृह मन्त्रालय नदिने निर्णय गरेर सर्कुलर गरिदियो । अन्त्यमा पार्टीभित्रको दबाब र अवरोधका कारण कमरेड झलनाथले दुई तिहाइ बहुमतको समर्थन हुँदाहँुदै राजीनामा गर्नुप¥यो ।

मूलतः प्रधानमन्त्री संसद्को प्रतिनिधि हुन्छ । नेपालको संविधानअनुसार प्रधानमन्त्रीको चुनाव संसदले गर्छ । त्योभन्दा पहिले पार्टीले उम्मेदवार चयन गर्छ र संसदीय दलले दलको नेता बनाउँछ । बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था संविधानमा छ । यसले प्रधानमन्त्री एकैपटक टिकट दिने पार्टी, संसदीय दल र देशका समग्र जनताप्रति जवाफदेही हुन्छ । उसले कुनै गुट, केही व्यक्तिको जागिर र आफ्नो निहित स्वार्थ तथा मनोगत आग्रहका लागि काम गर्ने होइन । अझ त्यसैको लागि असंवैधानिक र गैरजिम्मेवार ढंगले संसद् विघटनजस्तो काम गर्नु देश र जनताको निम्ति ठूलो धोकाबाहेक केही होइन ।

माथिका प्रसंग आजको दिनमा सबैका लागि प्रासंगिक हुन सक्छ । कुनै पनि देशका प्रधानमन्त्रीको लागि जनताको म्यान्डेटलाई नजरअन्दाज गर्नु र मनपरीको अभ्यास गर्नु कदापि क्षम्य हँुदैन । जनताको निम्ति समर्पित हुनुपर्ने प्रधानमन्त्रीले जनतालाई धोका दिने काम गर्नु, संसद्प्रति जवाफदेही हुनुपर्ने प्रधानमन्त्रीले संसद्लाई नै विघटन गरिदिनु अनि पार्टीको नेता भएर आफ्नै पार्टीलाई बर्बाद गरी अघि बढ्नु भष्मासुरको बाटोबाहेक केही होइन । वास्तवमा नेपाली जनताले चुनेका प्रतिनिधिहरूको घाँटी निमोठ्नु, जनमतलाई प्रतिनिधिविहीन बनाउनु अनि देशलाई आर्थिक रूपले जर्जर बनाएर चुनावको भुमरीमा होम्ने बाटोमा लाग्नु वर्तमान प्रधानमन्त्री केपी ओलीको भष्मासुर पन्थको यात्राबाहेक केही होइन ।

अझ देश कोरोना महामारीका कारण पीडित भएका बेला आफ्नो निहित स्वार्थका लागि संसद् विघटन गरेर चुनावमा जाने वर्तमान प्रधानमन्त्रीको कृत्य गलत, अस्वीकार्य, निन्दनीय र असंवैधानिक पनि छ । यस्तो संविधानविरोधी कार्यलाई तत्काल सच्याएर अघि बढ्नु नै आम पार्टी कार्यकर्ता र जनताको माग हो । अब यो जिम्मेवारी देशको सर्वोच्च अदालतको काँधमा गएको छ । आशा गरौँ, सर्वोच्च अदालतले षोडशीरूपी विष्णुको काम गरेर देश र जनताको पक्षमा फैसला सुनाउनेछ ।

टिप्पणीहरू