क्याबिनेटमै हुन्न भन्ने मन्त्रीको सोधाइ-संसद विघटन ठीक कि बेठीक ?
प्रधानमन्त्री के.पी शर्मा ओलीले संसद बिघटन गरेलगत्तै कृषि तथा पशुपन्छी विकास मन्त्रीबाट राजीनामा दिएका नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा नेता,कार्यकर्तालाई आज प्रश्न गरेका छन्-संसद बिघटन ठीक कि बेठिक ?
जिल्ला कमिटी रुपन्देहीको ब्यानरअन्तर्गत बुटवलमा आयोजित भेलालाई सम्बोधनकै शुरुवातमा उनले भने,‘यतिबेला नेकपाका आम नेता,कार्यकर्ता मात्रै नभएर सारा नेपालीको सामु प्रश्न तेर्सिएको छ संसद बिघटन गर्नु ठीक हो वा बेठीक हो ? अध्यक्ष केपी ओलीले भर्खरै केन्द्रीय सदस्य बनाउनुभएका कामरेडहरुलाई पनि सोध्न चाहन्छु कि यतिबेला संसद बिघटन गर्नु ठीक कि बेठीक ? संविधान मिच्नु ठीक कि बेठीक ? तमाम सम्भावनालाई कुल्चेर अगाडि बढ्नु ठीक कि बेठीक ?
नेता भुसालले पार्टी विभाजन भइनसकेको बताउँदै संसद पुनर्स्थापनाको विकल्प नभएको बताए । उनले भने, ‘यो सारा नेपालीको चासोको विषय हो । यदि संसद पुनर्स्थापना भएन भने त्यो अपवाद मात्रै हुनेछ । विश्वका केहि अफृकन मुलुकमा बाहेक संसारमा आजसम्म यसरी संसद विघटन भएको इतिहास पनि छैन । ती मुलुक जहाँ त्यसरी संसद विघटन भएको विषयलाई अदालतले सदर गरिदियो,मा दशकौँदेखि अस्थीरता चलिरहेको छ । द्वन्द्व चर्किरहेको छ। ’
नेता भुसालले अदालतले गलत नजिर नबसाल्ने जिकिर गर्दै भने,‘ यदि अदालतले गल्ती गरिहालेमा,फेरि चुनाव भइहालेमा अर्को प्रधानमन्त्रीले मनमौजी ढंगले संसद विघटन गर्छन् । यो अस्थीरता चलिरहन्छ । देश अस्तव्यस्त हुन्छ । यसैले हामी जनता बाध्य भएर संसद पुनर्स्थापनातिर लाग्नुको विकल्प छैन । ’
संविधानको मर्म राजनीतिक स्थायित्व र दिगो विकासकोलागि पनि संसद फर्कनु जरुरी रहेको उनले बताए । भुसालले ओली समूह वा प्रचन्ड- माधव समूह भन्दा पनि यतिबेला संविधानअनुसार ,कानूनअनुसार चल्ने समूह वा संसद विघटन हुनुपर्छ, संविधान नमाने पनि हुन्छ भन्ने समूहबीच कित्ताकाट भइरहेको पनि बताए ।
भुसालले भेलामा सहभागी नेता, कार्यकर्तालाई भने,‘तपाई कुनै ओली समूह वा प्रचन्ड माधव समूहमा लाग्ने होइन । यतिबेला संविधान मान्ने वा संविधान नमान्ने समूह कुन रोज्ने भन्ने हो ?” व्यक्ति मान्ने कि विचार र सिद्धान्त रोज्ने भन्ने समय आएको पनि उनैले बताए ।
उनले भने, ‘राजा महेन्द्रले ०१७ मा खोसेको संसद ०४७ मा पुनर्स्थापना भयो । ज्ञानेन्द्रले ०५९ मा खोसेको संसद ०६३ मा पुनर्स्थापना भयो भने केपी ओलीको दुस्प्रयास पनि धेरैबेर टिक्दैन । हामी सबै नालायक भएछौं, आत्मसमर्पण गरिहालेछौं भने पनि कुनैदिन संसद अवश्य फर्किन्छ । केहि मान्छेहरु मन्त्री,केन्द्रीय सदस्य, विभिन्न पदकोलागि आत्मसमर्पण गर्लान् तर उनीहरुले बुझे हुन्छ , अदालतले पुर्नस्थापित गरेन भने जनविद्रोहले ढिलोचाडो संसद पुनर्स्थापना गरेरै छाड्छ । ’
उनले भने, ‘जो साथीहरु अहिले ओली कामरेडसंग हुनुहुन्छ ,उहाँहरु सबै व्यक्तिगत कारणले हो । विचार र सिद्धान्तको कारणले होइन ।
भुसालले अदालतले संसद पुनर्स्थापना गरेन भने संसद माछा बजार जस्तै हुने चेतावनीसमेत दिए ।
उनले भने, ‘संसद पुनर्स्थापना भयो भने पार्टी विभाजन रोकिन्छ , संविधानको पनि रक्षा हुन्छ । यदि पुनर्स्थापना भएन भने संविधान उध्रिन्छ । देशमा अस्थीरता सृजना हुन्छ । बन्द हड्ताल शुरु हुन्छ । संविधानविरोधी शक्तिहरु हावी हुन्छन् । ’
भेलामा पूर्वसभामुख ओनसरी घर्तिले संविधानका धाराहरु पढेर सुनाउदैं कुनैपनि हालतमा प्रधानमन्त्रीले गरेको कार्य कानूनसम्मत नभएको बताइन् । उनले भनिन्, ‘एकातिर संसद विघटन गर्ने ,अर्कोतिर कामचलाउ सरकारले मन्त्रीपरिषद विस्तार गर्ने ? नेकपा लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेकी घर्तिले ७० प्रतिशत केन्द्रीय सदस्य उपस्थित भएर सम्पन्न बैठकले गरेको निर्णय सहि मान्ने कि नमान्ने भन्दै प्रश्न गरिन् – ‘प्रधानमन्त्रीले पार्टीबाट मलाई घेराबन्दी गरियो भन्नुभएछ , हो हामीले घेराबन्दी गरेकै हो भ्रष्टाचार नियन्त्रण गर्नुस्, कृषि र स्वास्थ्यमा बजेट बढाउनुस् भनेकै हो । ’
नेतृ घर्तिले ठूलो महत्वकांक्षा, आत्मकेन्द्रित विचार ,मभन्दा ठूलो संसारमा कोहि छैन भन्ने घमण्डले समस्या सृजना गरेको बताइन् । बामदेव क्षेत्रीले रायमाझीले राजालाई बुझाए झैं केपी ओलीले प्रतिगमन गरेको आरोप लगाए । उनले भने, ‘ लुम्बिनी प्रदेशमा पार्टी अध्यक्ष,सचिव र माइन्युट हामीसंग छ । अब के शंकर पोखरेलहरु अबैधानिक हुन् त?
माधव शर्माले विचार,विधि र संगठनको पक्षमा उभिन नेता- कार्यकर्तालाइ अपिल गरे ।
नेकपा रुपन्देहीले १४ गते बुटवलमा ठूलो जनप्रदर्शन गर्नेगरी तयारी थालेको जिल्ला सचिव निर्मल जि.सी.ले बताए ।
बैठकमा नेकपाबाट निर्वाचित रुपन्देहीस्थित विभिन्न पालिकाका प्रमुख,उपप्रमुख,प्रदेश सांसद, संविधानसभा सदस्यहरुको बाक्लो उपस्थिति रहेको खेम लुइँटेलले बताए ।
टिप्पणीहरू