कैलाली हत्याकाण्डमा १७० पेजको फैसला
उच्च अदालत दिपायलले डिल्लीबजार कारागारमा लामो समयदेखि ज्यानमुध्दा झेल्दै गरेका निवर्तमान माननीय रेशम चौधरीलगायतको बिरुद्ध पुस २ गते गरेको फैसलाको पूर्ण पाठ जारी गर्ने अन्तिम तयारी सकिएको छ । १ सय ७० पृष्ठको पूर्ण पाठमा ५८ जनाउपर कर्तव्य,ज्यान,डाँका,चोरी तथा ज्यान मार्ने उद्योगको कसुरअन्तर्गत दुई दर्जन जनालाई दोषी ठहर गरिएको छ । न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलले गरेको फैसला हात परेपछि बल्ल दोषीहरूलाई तोकिएको हद म्यादभित्र पुनरावेदनमा सर्वोच्च जाने कानुनी अधिकार रहेकाले सोहीबमोजिम पूर्ण पाठ तयार पारी एक जना न्यायाधीश अध्ययनको निम्ति आइतबार सिङ्गापुरतर्फ प्रस्थान गरेको सर्वोच्च अदालतस्थित श्रोतले जनआस्थालाई बतायो ।
फैसलाको संक्षिप्त व्यहोराअनुसार प्रतिवादीहरूमध्ये रेशमलाल चौधरी,हरिनारायण चौधरी,प्रदिप चौधरी,वीरबहादुर चौधरी,सीताराम चौधरी र गंगाराम चौधरीसमेत ६ जनाको हकमा मुलुकी ऐन ज्यानसम्बन्धी महल,१ नं. को कसुरमा सोही महलको १३ (३) नं बमोजिम जन्म कैद र सोही महलको १५ नं.को ज्यान मार्ने उद्योगमा जनही छ वर्ष कैद सजाय समेत हुने गरी कैलाली जिल्ला अदालतको ठहरलाई उच्चले सदर गरेको देखिन्छ ।
तर, अभियोग दावीबाट सफाई पाउँ भन्ने निज प्रतिवादीहरूको पुनरावेदन जिकिर र डाँका चोरीमा समेत सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न नसकेको फैसलामा उल्लेख छ ।
अर्का प्रतिवादी लक्ष्मण थारुले टिकापुर घटनाको योजना बनाई नेतृत्व लिई निर्दोष राष्ट्रसेवक प्रहरी अधिकृत तथा कर्मचारी र नाबालकको ज्यान लिनेसम्मको विभत्स घटना घटाउन घटनास्थलमा उपस्थितसमेत भई वचन दिएको तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि भएकोले मुलुकी ऐन,ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १७ (७) नं. बमोजिम ३ वर्ष सजाय हुने ठहर्याएको जिल्ला अदालतको फैसलालाई उल्टाई निजलाई अभियोग माग दावीवमोजिम ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १३ (४) नं. बमोजिम जन्म कैद ठहर्याइएको छ ।
साथै,निजलाई सोही महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योगमा छ वर्ष कैद सजायसमेत हुने ठहर गरिएको छ । अर्का प्रतिवादी सङ्गम भन्ने सन्तोष चौधरी,दिलबहादुर चौधरी र जितबहादुर चौधरीले हातहतियारसहित वारदातस्थलमा मौजुद रहेको तथ्य स्वीकार गरी बयान गरेकोमा जिल्ला अदालतबाट मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १७ (३) नं. बमोजिम ३ वर्ष सजाय हुने जिल्ला अदालतको फैसलाअनुसार नै निज प्रतिवादीहरूलाई उक्त महलको १७ (१) नं. अन्तर्गत जनही १० वर्ष कैद ठहर भएको छ ।
कानूनको द्वन्दमा परेका नाबालक श्रवणकुमार चौधरीको हकमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १३ (३) नं. बमोजिम जन्मकैद ठहर्याई नाबालक भएकोले सोको आधा सजाय १० वर्ष कैद हुने गरी भएको जिल्ला अदालतको फैसलालाई पनि सदर गरिएको छ ।
प्रतिवादी सुन्दरलाल कठरिया,बृजमोहन चौधरी,राजेश चौधरी र राजकुमार कठरियाको हकमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १नं. को कसुर कायम गरी सोही महलको १३ (३) नं.बमोजिम जन्म कैदको सजाय हुने ठहर्याई भएको जिल्ला अदालतको फैसलालाई निज प्रतिवादीहरूको संलग्नताको आधारमा उक्त महलको १७ (२) नं. बमोजिम जनही छ वर्ष कैद सजाय ठहर छ ।
त्यसैगरी प्रतिवादी रामप्रसाद चौधरी,सन्तराम चौधरी,किसनलाल चौधरी र प्रेमबहादुर चौधरीको हकमा निजहरूको वारदातमा रहेको संलग्नताअनुसार मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १७ (३) नं. वमोजिम ३ वर्ष कैद सजाय हुने ठहर्याएको सुरु अदालतको फैसला उल्टाई निजहरूलाई उक्त महलको १७ (३) नं. वमोजिम जनही छ वर्ष कैद सजाय हुने ठहर गरेको छ ।
प्रतिवादी चुन्नीराम चौधरी, लाहुराम चौधरी र राम कुमार कठरियाको हकमा मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १ नं. को कसुरमा सोही महलको १७ (३) नं. वमोजिम जनही ३ वर्ष कैद सजाय हुने ठह¥याई भएको जिल्ला अदालतको फैसलालाई नै सदर गरेको छ । प्रतिवादी विश्राम चौधरीको हकमा जिल्ला अदालत, कैलालीबाट ज्यान सम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १७ (३) नं. वमोजिम ३ बर्ष कैद सजाय हुने फैसला गरेपनि उच्च अदालतले सफाई दिने ठहर गरेको छ ।
प्रतिवादी राम नरेश चौधरी, तहाँबर अली र विसराम चौधरीको हकमा पनि अभियोग दावीबाट सफाई हुने ठहर्याेई भएको फैसलालाई नै सदर गरेको छ । त्यसैगरी, कानूनको द्वन्द्वमा परेका नाबालक करण चौधरीको हकमा १४ वर्ष मुनिको नाबालक भएकोले ज्यान सम्बन्धी महलको १ नं. को कसुरमा ६ महिना कैद सजाय ठहर गरी भएको जिल्ला अदालतको फैसलालाई नै उच्च अदालतले सदर गरेको छ ।
टिप्पणीहरू