कतै अवैध सम्बन्ध, कतै छाया आतंक

दसैंको छुट्टी मनाएर ड्युटी फर्कन लागेका पति सन्तोषलाई विदाइको टीका लगाइदिएकी श्रीमती ड्युटीमा हाजिर नहुँदै हराइन् भन्ने खबरले एकछिन त लाहुरे बेहोसजस्तै भए । श्रीमती मीना गुरुङ अर्कैसँग लागेको र घर माइती दोर्दी गाउँपालिका तर बसोबास सुन्दरबजार नगरपालिका । त्यहीँको निजी विद्यालयमा अध्यापन गराउने । लाहुरे मानबहादुरसँग बिहे भएको १०÷१२ वर्ष भयो । गर्भ रहेर पनि बच्चा जन्मन सकेन । तैपनि, मीना आफैँले लाहुरेलाई हतोत्साही नहुन ढाडस दिइन् । सान्त्वना दिने श्रीमती तिहारलगत्तै एक बच्चाको बाउसँग भागेको खबरले लाहुरे विक्षिप्त हुने नै भए । उनले जिल्ला प्रहरी कार्यालय बेंसीशहरमा कात्तिक १७ गते वर्ष ३१ की गहुँगोरी मेरी श्रीमती १४ गतेदेखि हराएकी र ठेकेदार धुर्त रामले लगेको आशंकासहित उजुर गरे । डिएसपी गंगा थापाले सम्पर्क पनि गराए । तर, युवतीले मंसिर ८ गते अस्पतालले बच्चा पाउने डेट दिएको छ । म राजीखुशीले धुर्तरामसँग आएको हुँ भनी फोनबाटै जानकारी गराएपछि प्रहरीले थप कारबाही अगाडि बढाउने कुरै भएन । धुर्तराम कतिसम्मको चलाख भने जेठी श्रीमती (एक छोरीकी आमा)लाई पहिले नै अंशबण्डा गरी मीनासँग ०७५ सालमै विवाह दर्ता गरिसकेका । जेठी श्रीमती पनि अर्काकै ल्याएका । १०÷१२ वर्षअघि लाहुरेसँग विवाह भए पनि विवाह दर्ता नभएको । कानुनतः श्रीमती भन्ने अधिकारबाट वञ्चित लाहुरेले काठमाडौंमा लुक्दैछिप्दै बस्दै आएकी श्रीमतीलाई पत्ता लगाएर गत साता मात्रै सोह्रखुट्टे चौकीमा उपस्थित गराए । विवाह भनेको सहमतिको दस्ताबेज रै’छ । मैले लिएर आएँ ठीक छ जान्छिन् भने लैजानु भनेर प्रहरी र आफन्तहरूमाझ धुर्तरामले भने पनि भर्खर मात्र छोरो जन्माएकी मीनाले जे भयो भयो नफर्कने बताइन् । नाबालक शिशुलाई दुवै जनाले दाबी गरेपछि डिएनए परीक्षण गरेर छिनोफानो गर्न प्रहरीले सुझाएको छ ।

यसबीच, लमजुङ प्रहरीले काकीलाई बोकाएर हत्या गरी भाग्ने सागर भुजेललाई ३६ घण्टा नबित्दै पोखराबाट पक्रेको छ । लमजुङ सुन्दरबजार नगरपालिका– ४ चारघरे दुराडाँडाका ध्रुव भुजेल वैदेशिक रोजगारीमै भएका बखत श्रीमती लक्ष्मी तीन छोरालाई छाडेर हिँडेपछि चार वर्षअघि नेपाल फर्केका उनले उमेरले ३० पनि नकटेकी लोग्ने पीडित घनमायालाई ४० पारको उमेरमै बिहे गरे । बाउले कान्छी आमा भिœयाएदेखि नै ध्रुवका छोराहरू हजुरबाआमासँग बस्न थालेका थिए । ध्रुव स्थानीय सुरभी गाई फर्ममा साँझ बिहान सरसफाइको काम गर्ने । सधैंझैं गत १ गते बिहान श्रीमतीलाई ओछ्यानमै छाडेर साढे पाँच बजेतिर गाई फर्मको काममा हिँडे । काम सकीवरी गाउँका दीनानाथ न्यौपानेको घरमा दाइँ हाल्ने काममा लागे । ध्रुवका भाइ राजकुमार र जेठो छोरा नारायण दाइँका लागि गोरु लिन जाँदा घरको ढोका खुल्लै, पिंढीदेखि आँगनसम्म आलो रगतका टाटा, भाउजूलाई बोलाउँदा चाइँचुइँ केही आवाज नआएपछि वरपर खोज्ने क्रममा रगतको डोब पछ्याउँदै जाँदा, आँगनको डिलमा रहेको पुरानो गोबरग्यासको ट्यांकीभित्र धनमाया मृत फेला पारिन् । श्रीमती एकाबिहानै मृत अवस्थामा भन्ने खबरले ध्रुव छाँगाबाट खसेझँै भए तर प्रहरीले पहिलो प्रहार उनैलाई गर्‍यो । पोखराका प्रहरी कुकुर लिएर घटनास्थल पुगे । मृतक महिलाको घाँटीमा पछ्यौरा कसिएको, एउटा आँखा फुटेको, नाकमा गम्भीर चोट लागेको । मतवाली धनमाया अलिअलि पिउँथिन् पनि । राम्री अधबैँसे । ध्रुव भ्याक्सेटोमी गरी बसेका उमेर पनि ढल्कँदो । बाँसको चोयाबाट डालो, डोको बुन्ने धनमायासँग केटाहरू हँसिमजाक गरे पनि ध्रुवले खासै चियोचर्चो नगर्ने । लोग्नेस्वास्नीमा ठाकठुक हुने गरेको पनि गाउँलेले चाल पाएनन् । हत्कडीसहित जिल्ला प्रहरी कार्यालय ल्याइएका ध्रुवलाई पाटपुट पारी श्रीमतीको हत्यारा करार गर्न खोजियो । खाएको विष पो लाग्छ ! ध्रुवले दिएको बयान र घटनाक्रमको तारतम्य नमिलेपछि अनुसन्धानको पाटो मोडियो । घटनास्थलमा आफैँ पुगेका डिएसपी गंगा थापाको कानमा एउटा सूचना प्राप्त भयो ।

सशस्त्र प्रहरीमा भर्तीका लागि अन्तर्वार्ता दिन पुगेका सागर भुजेल पोखराबाट समातिए । भुजेल ध्रुवको भतिजो । आउजाउ बाक्लै । कहिलेकाहीँ उतै खानेबस्ने । २० वर्षको ठिटो । काकीसँग मायाजाल बस्यो । गाउँमा धनमायाले पेट बोकेको हल्ला बढ्दै थियो । ठिटो यही अवैध काण्डमा च्यातिनेवाला थियो । हाडनाता करणी अनि बच्चा जन्मिने तनाव । काका बिहानै हिँडेपछि काकीको बेडतिर लाग्यो । साथमा थियो साथी विकास भुजेल । नाताले ध्रुवको भाञ्जो । चिसोको समय काकी धनमाया मस्त निदाएको मौका छोपी उनैको सलले घाँटी कसे । अनि विकासले पिँढीको जाँतो ल्याएर टाउकामा प्रहार गरे । विकासलाई बाहिर हेर्न लगाए भने आफूले शवलाई पुरानो गोबरग्यासको ट्यांकीको ढक्कन खोली त्यसमा राखेर त्यही दिन पोखरा हिँडे । विकास रगत पखाली घरमै बसे । ‘घटनाको अनुसन्धानको क्रममा लोग्ने ध्रुवलाई केही तलमाथि परे पनि सक्कली हत्यारा ३६ घण्टा नबित्दै पक्राउ परे । ३ गते पक्राउ परेका उनीहरूलाई सोही दिन अदालतमा पेश गरी थप अनुसन्धानका लागि अदालतले १५ दिनको म्याद थमाएको छ ।

– अञ्जनकुमार हिमाली

टिप्पणीहरू