कोरोनाको एक वर्ष, भोलिदेखि नयाँ वर्ष
–साहस न्यौपाने
आज सन् २०२० को अन्तिम दिन । भोलिदेखि अंग्रेजी पात्रोअनुसार नयाँ वर्ष २०२१ शुरु हुँदैछ । २०२० वर्षको अन्तसँगै विश्वव्यापी कोरोना भाइरस महामारीको पनि एक वर्ष पुगेको छ । गत वर्ष डिसेम्बरको अन्त्यतिर चीनको वुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । वुहानमा थोरै संख्यामा संक्रमित देखिने बित्तिक्कै यसको नियन्त्रणमा सम्पूर्ण शक्ति खर्चेको चीन धेरै पहिले सफलता निकाल्न सफल भयो ।
तर अमेरिकालगायत युरोपका शक्तिशाली मुलुकहरू,जापान,कोरिया र छिमेकी भारत भने अझै पनि कोरोनासँग मुकाबिला गरिरहेका छन् । विश्वका झण्डै दुई सय राष्ट्रमा फैलिएको कोरोना संक्रमणबाट नेपाल पनि आक्रान्त छ ।
कोरोनाकै कारण विश्व मानवजातिका लागि यो वर्ष ठूलो चुनौतीको वर्ष रह्यो । दिग्गज वैज्ञानिकहरूलाई समेत रोगको पहिचान गर्न र यस बिरुद्धको खोप आविश्कारमा हम्मेहम्मे पर्यो । मानव सभ्यतामै अब्बल भनिएका मुलुक र क्षेत्र स्वास्थ्य सुरक्षाको दृष्टिकोणले उन्नत मुलुकलाई नै कोरोनाले नराम्रोसँग थला पारेको स्थिति हो ।
स्वास्थ्य क्षेत्र तहसनहस
कोरोना महमारीको सुरुआती दिनमा मास्क,सेनिटाइजर जस्ता सामान्य स्वास्थ्य सामाग्रीको विश्वव्यापी हाहाकार मच्चियो । भेन्टिलेटर,पिपिआरलगायत परीक्षण किटको अभावमा अमेरिका,इटाली,स्पेनजस्ता विकसित राष्ट्रहरूमा समेत अस्पताल पुगेर पनि धेरैले अकाल ज्यान गुमाए । भेन्टिलेटरको अभावमा ६० वर्ष कटेकालाई उपचार नगरिएको भन्ने खबरले विश्वलाई नै स्तब्ध बनायो ।
चीनले जर्मनीलाई बेचेको स्वास्थ्य सामाग्रीसहितकोे कन्टेनर अमेरिकाले बाटैबाट दम्पच बनाएको खबरले दुनियाँलाई अचम्मित तुल्याएको थियो । नेपालमा पनि संक्रमितको संख्या बढ्दै जाँदा ठूलो स्वास्थ्य चुनौति खडा भएको छ । तयारीका लागि प्रशस्त समय हुँदा पनि नेपालले स्वास्थ्य सामाग्री आयात र पूर्वाधार निर्माणमा उदासीनता देखाउँदा सर्वसाधारणले दुःख पाएका छन् । स्वास्थ्य सामाग्री आयातमा ठूलो अनियमितता भएको घटना सार्वजनिक भएको छ । राजधानीका अस्पतालहरूमा नै बेड अभावका कारण कतिपयले अकालमै ज्यान गुमाउनु परेको नमीठो तथ्यले सबैलाई पोलेको छ ।
अर्थतन्त्र ध्वस्त
महामारीले सबैभन्दा ठूलो धक्का विश्व अर्थतन्त्रलाई दियो । तुलनात्मक रूपमा पूँजीवादी अर्थनीति अपनाएका देशहरूले ठूलो मूल्य चुकाउनु परेको छ । छिमेकी मुलुक भारतको आर्थिक बृद्धिदर पछिल्लो ४० वर्षयताकै खराब अवस्थामा पुगेको समाचारहरू सार्वजनिक भएका छन् । कम विकसित राष्ट्रहरूको अर्थतन्त्र स्वतः प्रभावित बनेको छ । महामारीले पर्यटन र हवाई क्षेत्रलाई नराम्रोसँग लडाइदिएको छ । करोडौँ मानिसले रोजगारी गुमाएका छन् । लाखौंको संख्यामा ठूला उधोगधन्दाहरू बन्द हुँदा समग्रमा विश्व नै अर्थिक मन्दीको अवस्था पुगेको छ ।
नेपालमा पनि पर्यटन र यातायात क्षेत्र सबैभन्दा बढी मारमा परेको छ । आन्तरिक र वैदेशिक रोजगारी ठप्प प्रायः छ । वैदेशिक रोजगारीमा गएकाहरूले समेत रोजगारी गुमाएको देखियो । कोरोनाले पारेको प्रभावको असर बल्ल बैंक तथा वित्तीय संस्था र आर्थिक क्षेत्रमा देखिन थालेको बताइन्छ ।
राजनीतिक दाउपेच
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरस भनेपछि महामारीले राजनीतिक रूप नै लिनपुग्यो । ट्रम्पको त्यही अभिव्यक्तिलाई लिएर चीन–अमेरिका वाक्ययुद्ध भयो । ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) माथि बेतुकको आरोप लगाए भने अमेरिकी अनुदान रकम रोक्का गर्ने निर्णय गरे । दुनियाँ लकडाउनमा रहेको बेला कोरोनाको उच्च प्रभावमा रहेका अमेरिका,कोरियाजस्ता मुलुकमा आमनिर्वाचन समेत भए ।
कोरोनाका कारण नेपालको राजनीति पनि केही हद्सम्म तात्यो । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिन र पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने माग सडकमा उठाइयो । कोरोना उपचारमा सरकारले १० अर्ब भन्दाबढी खर्चेको भनेपनि नागरिकहरू आन्दोलित बने । सरकारले पनि नेकपाको आन्तरिक किचलोलाई देखाएर आफूले प्रभावकारी काम गर्न नसकेको भन्दै उम्कने प्रयास गरेको समेत देखियो ।
सामाजिक सम्बन्ध र सांस्कृतिक अवस्था
महामारीले विश्वका नागरिकलाई आफ्ना सामाजिक मूल्य,मान्यता,रीति रिवाजहरूमा ‘कम्प्रोमाइज’ गर्न बाध्य पारिदियो । संक्रमण जोखिमका कारण सामाजिक सम्बन्धहरूको घेरा सङ्कुचित बन्यो । अधिकांश चाड,पर्व औपचारिकतामा सीमित भए । सोसल डिस्टान्सको अवधारणाले आफन्तबीच नै आपतकालीन र आत्मीय सम्बन्धमा समेत भाँजो हालिदियो ।
अब खोपहरु पत्ता लाग्दैछन्, परीक्षण शुरु भएको छ, बन्द ब्यवसाय र क्षेत्र क्रमश: खुकुलो हुँदैछन् । आशा गरौं, एक वर्षको कहरबाट केही उन्मुक्ति प्राप्त हुनेछ । नयाँ वर्षको सबैमा शुभकामना ।
टिप्पणीहरू