महिला अधिवक्ताले इतिहास रच्दै

महिला अधिवक्ताले इतिहास रच्दै

पर्सि २२ गतेदेखि सर्वोच्च अदालतको संबैधानिक इजलासमा शुरु हुने प्रतिनिधिसभा विघटनसम्बन्धी १३ वटा छुट्टाछुट्टै रिटउपरको एकमुष्ट सुनुवाइमा पहिलोपटक महिला अधिवक्ताबाट अदालतको सहयोगीका हैसियतमा बहस हुने टुंगो लागेको छ ।

सर्वोच्च बारद्वारा तोकिएका अध्यक्ष पूर्णमान शाक्यसहित पूर्व अध्यक्ष खगेन्द्र अधिकारीमध्ये अधिकारी कोरोना संक्रमणका कारण सेल्फ आइसोलेसनमा जानु भएपछि वरिष्ठता र ब्यवहारिकताको आधारमा महिला अधिवक्ताको पालो आएको हो । यस हिसाबले अब पर्सि एमिकस क्युरीको रूपमा वरिष्ठ अधिवक्ता गीता पाठक बहसको निम्ति अदालत जानुहुनेछ ।

यसअघि सर्वोच्चको मागबमोजिम नेपाल बार केन्द्रीय समितिबाट तीन जना अदालतको सहयोगीका रुपमा पठाउन ब्यक्ति चयन गर्दा महिला प्रतिनिधित्वबारे व्यापक छलफल भएको थियो तर अन्त्यमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिजयकान्त मैनालीलाई रोज्दा महिला सहभागिता शून्य हुन पुग्यो । मैनाली एमिकस क्युरीमा परे पनि प्रधानमन्त्रीको स्पष्ट पक्षमा हुनुहुन्छ ।

अन्ततः आकस्मिक र नौलो रोगले बिश्वलाई गाँजे झैं यहीबेला अधिकारी कोरोनाको सिकार हुने दुखद अवस्थामा पुग्नुभयो । र,नेपाली महिला कानूनविदको तर्फबाट गीता पाठकले इतिहास रच्न लाग्नुभएको छ । पूर्व महान्यायाधिवक्ता प्रा.डा.युवराज सङ्ग्रौला उहाँको पति हुनुहुन्छ । यो दम्पतिले भक्तपुरमा काठमाण्डौ स्कूल अफ ल कलेज स्थापना गरी अहिलेसम्म नौ सय अधिवक्ता उत्पादन गरिसकेको छ ।

टिप्पणीहरू