पोइल भन्दा आत्महत्या बढी सोचें
– वैकुण्ठ ढकाल
त्यो दिन (रात) पनि लोग्नेसँग झगडा (भिडियो) च्याटमा परेको रहेछ । लामो समयदेखि पैसा नपठाएको, पारिवारिक जिम्मेवारी कुनै पनि पूरा नगरेको गुनासो । लोग्नेले यी कुरालाई जहिल्यै हाँसेर वा त झगडा गरेर टार्ने । पछिल्लो समय त लोग्ने विदेशमा अर्की युवतीसँग लागेको कुरा पनि कानसम्म आइपुगेको थियो । कहिलेकाहीं लोग्ने कुरा गर्र्र्दागर्दै अर्को फोन आयो भनेर तर्किन्थ्यो । कसको फोन भन्दा ‘कान्छी’को भन्थ्यो । यसले मनमा च्वास्स तिखो काँडाले घोचे झैं हुन्थ्यो । हुन त लोग्ने सँगै हुँदा पनि सम्बन्धमा समस्या नै समस्या थियो । टाढा हुँदा पनि समस्या उस्तै ।
‘ए भने पछि बूढाले कान्छी ताकेछन्, अब तिमी पनि कान्छो खोज न ?’
‘हो भन्या, कहिलेकाहीं त त्यस्तै लाग्छ । तर त्यस्तो मान्छे अहिलेसम्म भेट्नु त परको कुरा देखेको पनि छैन ।’ (लामो हाँसो…)
‘तिमीले पोइल जाने कुरा सोच्यौ कि आत्महत्या गर्ने कुरा सोच्यौ धेरै ?’
‘आमहत्या नै धेरै सोचें ।’ उनले अझै एक कदम अघि बढेर भनिन् सोचें मात्रै हैन, एकपटक त प्रयास नै गरें ।
अनि म झसँग भएँ, एक हिसाबले आत्तिए पनि । किनकि एकपटक प्रयास गर्नेले यो क्रम दोहो¥याउन सक्छ । दोहोर्याउँदा के हुन्छ यसै भन्न सकिन्न ।
‘अनि के ले रोक्यो त ?’
‘सन्तानको मायाले, म मरें भने के होला उनीहरूको भविष्य ?’
एक आमालाई आत्महत्या गर्न सन्तानको मायाले रोक्दो रहेछ । धेरै पटक सोच्दा पनि एकपटक मात्रै प्रयास गरिन् । अबचाहिं आत्महत्याबारे सोच्दा पनि नसोचुन्, मेरो कामना ।
तर आत्महत्या गर्ने सन्तानलाई चाहिं बाआमाको मायाले किन रोक्दैन/रोकेन ?
त्यत्तिबेलै यो प्रश्न आएको थियो, अनि मेरा बाआमाले भनेको सम्झन्छु माया भनेको उँदोको लाग्दो रहेछ । खैर जे होस्, अकाल मृत्यु नरोजोस कसैले पनि ।
गत कात्तिकमा २१ वर्षीया किशोरीले आत्महत्या गरिन् । त्यो अविश्वसनीय घटना थियो । सरसर्ती हेर्दा, बुझ्दा आत्महत्या गर्नु पर्ने कारण केही थिएन । जीवन सकियो । बा–आमाको सपना चुँडियो ।
∞∞
उनै महिलासँग हालैको एक दिन विवाहेत्तर सम्बन्धका बारेमा पनि कुरा भयो । चिनजानकै एक महिला, सेनाकी श्रीमती । बाहिरबाट हेर्दा नपुग्दो केही थिएन । दुई छोराकी आमा, एकदमै माया गर्ने श्रीमान । गाउँमा श्रीमतीलाई गाह्रो भयो भनेर काठमाडौंमा घर बनाई राखेको । शान्ति मिसनमा गएर श्रीमतीलाई पैसा पठायो । घर आउँदा श्रीमती छैन, पैसा छैन, गरगहना पनि छैन ।
कानूनी उपचारका लागि अदालत गए । न्यायाधीशले सबै कुरा हेरे । दुबै पक्षको बहस पनि सुने । बैवाहिकसम्बन्धको फेहरिस्त पल्टाउँदा पनि सम्बन्ध बिच्छेद गर्नुपर्ने कारण केही देखिएन । अनि न्यायाधीशले सोधे– श्रीमानसँग अलग हुनु पर्नाको कारण के हो ?
श्रीमान्, लोग्नेले मलाई सबै कुरा दिए, सुख, खुशी, शान्ति, सन्तान । यो सबै कुरा जहाँ गएर जसलाई पनि भन्न कुनै समस्या छैन, संकोच छैन । तर यीबाहेक पनि केही कुरा हुँदो रहेछ, सम्बन्धमा । सम्बन्धमा सबैकुरा हुँदाहुँदै पनि ‘सन्तुष्टी’ भएन भने फिका हुँदो रहेछ । यही कारण हो, सम्बन्धबिच्छेद माग्नुको ।
उनैले भनिन्, ‘विवाह संस्था जोगाउने विश्वासले हो ‘म यही भन्दै आएको छु । मेरा विवाहित महिला साथीहरू पनि यसै भन्दछन् । तर ती महिलाले अदालतमा दिएको कारणले छक्क परियो । सायद हामीले सम्बन्धमा सन्तुष्टी नखोजेर हो कि ?’
सन्तुष्ट हुने हो कि, सन्तुष्टी लिने हो ? दोस्रो सम्बन्ध बनाउने र पहिलो भन्दा सन्तुष्ट भइयो भने वैधानिक संस्था भत्काउँदै हिंड्ने हो भने कहाँ पुगिएला ?
टिप्पणीहरू