विघटनको देशभर विरोध

विघटनको देशभर विरोध

संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलन चर्काइरहेको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार देशभरका क्याम्पसहरुमा कालो ब्यानर प्रदर्शन गरेको छ । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अनेरास्ववियूले कालो व्यानर टाँगेर देशभरका क्याम्पसहरुमा कोणसभा गरेको हो ।

मंगलबार (आज) दोस्रो चरणको आन्दोलन घोषणा गरेको सो संगठनले उपत्यकाका विभिन्न क्याम्पसमा प्रदर्शन गरेको छ । उपत्यकाका रत्नराज्य, सानोठिमी, पशुपति, मीनभवनलगायतका क्याम्पसहरुमा कालो व्यानरसहित विरोध प्रदर्शन गरेको जनाइएको छ । रत्नराज्य क्याम्पसमा कुनै नाराबाजी नगरी क्याम्पस हाताभित्र कालो ब्यानर टाँगेर प्रदर्शन गरेको संगठनका नेता शिशिर बस्यालले जानकारी दिए ।

यता सानोठिमी क्याम्पसमा पनि प्रधानमन्त्रीको कदमका विरुद्ध विद्यार्थीहरु आन्दोलित भएका छन् । सो क्रममा विद्यार्थीहरुले ‘अनेरास्ववियू जिन्दावाद !’, ‘केपी सरकार मूर्दावाद !, ‘असंबैधानिक संसद विघटन फिर्ता गर!’ जस्ता नारा लगाएका थिए । अनेरास्ववियूका केन्द्रीय सदस्य उत्तर खडकाको नेतृत्वमा पशुपति क्याम्पसमा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । संसद विघटनविरुद्ध उपत्यकाको मीनभवन क्याम्पसमा पनि कालो व्यानरसहित विरोध प्रदर्शन गरिएको छ ।

अनेरास्ववियूले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पुस २१ गतेदेखि २९ गतेसम्मको लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।जसअन्तर्गत भोलि २२ गते उपत्यकामा लाल्टिन जुलुश र उपत्यका बाहिर आवश्यकताअनुसार लाल्टिन, सिठी र लाठी जुलुश निकालिने छ । पुस २३ गते प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र धर्ना दिने तथा २५ गते असंवैधानिक कदमविरुद्ध सडक बहस सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनको क्रममा २६ गते बयलगाडा प्रदर्शन गर्ने, २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत तथा गजल कार्यक्रम गर्ने, २८ गते सडक नाटक, सडक कला, स्ट्रीट वाल पेण्टिङ्ग र २९ गते सडकमा प्ले कार्डसहित कार्टुन प्रदर्शन गरिने बताइएको छ । अनेरास्ववियुले प्रधानमन्त्रीको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलनको कार्यक्रम जारी राख्ने बताउँदै तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गर्ने जानकारी दिएको छ ।

टिप्पणीहरू