काठमाण्डौ उपत्यकामा बस्न कठिन
देशको राजधानी काठमाण्डौमा प्रदूषणको मात्रा अहिलेसम्मकै उच्च देखिएको छ । यहाँको आकाशमा वायुप्रदूषणको मात्रा अत्याधिक बढेको खबरले मानिसहरुमा सन्त्रास छाइरहेका बेला वातावरण विभागले खतराको संकेत दिएको हो ।
विभागले अत्यावश्यकबाहेक घरबाट ननिस्कन आग्रह गर्दै निस्कनै परे विशेष सावधानी अपनाउन भनेको छ । मौसममा आएको बदलावका कारण प्रदूषणको मात्रा बढेको भन्दै विभागले जसका कारण स्वास्थ्यमा नकारात्मक असर पर्न सक्नेतर्फ सचेत गराएको छ ।
विशेषगरी बालबालिका,बृद्ध बृद्धा, स्वासप्रस्वास सम्बन्धी रोगका बिरामी र मुटुका रोगीलाई बढी असर गर्ने हुँदा त्यस्ता मानिसलाई सकभर घर बाहिर ननिस्कन विभागको आग्रह छ ।
विभागले उपत्यकाबाहेक तराई क्षेत्रमा पनि प्रदूषणको मात्रा उच्च रहेकाले सावधानी अपनाउन भनेको छ । वायु प्रदूषण मौसममा निर्भर गर्ने भएकाले यस्तै मौसम भैरहे थप केही दिन प्रदूषणको अवस्था यस्तै रहने या अझ बढ्न सक्ने भन्दै विभागले सतर्क गराएको छ ।
वायुप्रदूषणले कोभिडका बिरामीहरुलाई थप असर पुर्याउने भन्दै स्वास्थ्यकर्मीहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् । दूषणबाट बच्न कालो चस्मा लगाउने, दिनमा दुईतीन पटक सफा पानीले आँखा पखाल्ने र आँखा धेरै सुख्खा भयो भने ‘आइ ड्रप’ हाल्न उनीहरुले सुझाव दिएका छन् ।
यता एअर क्वालिटी सिटी र्यांकिङ (एक्युआई) ले नेपालको वायु प्रदूषणको तह ४८८ पुगेको उल्लेख गर्दै काठमाडौँलाई प्रदुषित शहरको पहिलो नम्बरमा राखेको छ । वातावरण विभागले भने मङ्गलबार उपत्यकाको वायुप्रदूषण अहिलेसम्मकै बढी भए पनि सूचाकाङ्क ३०० पुगेको जनाएको छ । ३०१ देखि माथिको सूचकलाई खतरा मान्ने गरिन्छ ।
टिप्पणीहरू