प्रधानमन्त्रीको योजनालाई ऊर्जामन्त्रीको चुनौती

प्रधानमन्त्रीको योजनालाई ऊर्जामन्त्रीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलै तामझामका साथ उद्घाटन गर्नुभएको काठमाडौं उपत्यकामा बिजुलीको तार भूमिगत गर्ने योजनालाई उहाँकै क्याबिनेटका मन्त्रीले चुनौती दिएका छन् । गत फागुन ५ गते शहरलाई सुन्दर र व्यवस्थित बनाउन भन्दै तार भूमिगत गर्ने योजनाको प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको थियो । तर,नवनियुक्त ऊर्जामन्त्री टोपबहादुर रायमाझीले तार भूमिगत गर्ने काम गलत भएको दाबी गरेका छन् ।

आइतबार गृहजिल्ला अर्घाखाँची पुगेका मन्त्रीले तार भूमिगत गर्ने काम खतरनाक रहेको भन्दै यस्तो खतरनाक योजना किन अघि बढाइएको हो ? भनेर प्रश्नसमेत गरेका छन् । उनले भने, ‘कति साथीहरू मर्ने हुन्, कुलमानजीहरूले नै अन्डरग्राउण्ड बिजुली बनाउन थालेका हुन् । त्यहाँ एस्काभेटरले खन्न थाल्यो भने स्काभेटरको मान्छे पनि मर्छ, त्यो धेरै खतरनाक भइराखेको छ । अहिले त्यसबारे अध्ययन भइरहेको छ ।’

नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा काठमाडौं जिल्लाको शहरी क्षेत्रभित्र तार भूमिगत कार्य धमाधम गरिरहेको छ । मन्त्री रायमाझीले खतरापूर्ण कार्य भनिरहँदा प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भने पोलमा टाँगिने तारभन्दा भूमिगत तार सयौं गुणा सुरक्षित हुने बताएका छन् । शहरी क्षेत्रमा बिजुलीको बढ्दो माग धान्न पनि यहि प्रविधिमा जानुपर्ने घिसिङको दाबी छ ।

टिप्पणीहरू