गुण्डागर्दीमा ओर्लिए राष्ट्रपति

गुण्डागर्दीमा ओर्लिए राष्ट्रपति

आफ्ना समर्थकहरूले संसद भवन अर्थात् अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित क्यापिटल हिल कब्जा गरेपछि,डोनाल्ड ट्रम्पले उक्त भीडतन्त्रको निन्दा गरेनन् बरु उल्टै सहानूभूति प्रकट गरे ! ‘म हारेपछि यस्तो त भैहाल्छ नि’ भन्दै भीडलाई ‘भेरी स्पेशल’ मात्र भनेनन् ‘मलाई थाहा छ,तिमीहरू कस्तो महशुस गर्दैछौ’ भन्दै सान्त्वनासमेत दिन भ्याए । त्यसपछि उनले एक सासमा आफ्नो भनाई टुंगाइदिए ‘अब तिमीहरू शान्तिपूर्वक घर जाऊ ।’

ट्रम्पले दुई घण्टाअघि आफैँ सहभागी एउटा र्यालीलाई सम्बोधन गर्दै भनेका थिए ‘जाऊ,क्यापिटोल हिलमा आफ्नो जबर्दस्त उपस्थिति जनाऊ ।’ अमेरिकी इतिहासमा पदासीन राष्ट्रप्रमुखले खुलेआम गुण्डागर्दीलाई प्रश्रय दिएको यो नै पहिलो पटक हो । बुधबार राजधानीमा राष्ट्रपतिबाट भएको कुकर्मबाट अधिकांश अमेरिकीहरू निःशब्द भएको बताइन्छ ।’

संसद भवनभित्र भएको आक्रमण र गञ्जागोलमा एउटी महिलालाई गोली लागेको थियो भने एक जना सुरक्षाकर्मीसहित छ जना घाइते भएका छन् । तर,केहि बेरपछि ती महिलासहित चार जनाको निधन भएको छ । तस्वीरमा देखिएको ट्रम्प समर्थक श्वेत नश्लवादी आक्रमणकारी तल्लो संसदकी सभामुख न्यान्सी पेलोसीको कार्यालय कब्जा गरेर ससुराली आसनमा बसेको देखिन्छ ।

तर,प्रश्न उठ्छ, यदि यस्तै हर्कत काला, गहुँगोरा, राता वा पहेंला अमेरिकीहरूले गरेको भए आज वासिङ्टन डी.सी.मा कति जनाको हताहती हुन्थ्यो होला ? उक्त घटनापछि पनि ट्रम्पमाथि कुनै कारबाही नहुने हो भने विश्वका सामु अमेरिकी प्रजातन्त्र एक भद्दा मजाकका रुपमा अभिलिखित हुने प्राप्त समाचारमा उल्लेख छ ।
अमेरिकाको राजधानीमा यतिबेला कर्फ्यु लगाइएको छ ।

टिप्पणीहरू