उल्टो कदमको उल्टो हिँडेर बिरोध

उल्टो कदमको उल्टो हिँडेर बिरोध

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगामी भन्दै नेपाल विद्यार्थी संघले हिजो उल्टो हिँडेर बिरोध जनाएको छ । माइतीघरदेखि बानेश्वरसम्म उल्टो हिँड्ने काम भएको हो ।

नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले संसद विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको बताए । ‘झण्डै दुई तिहाइ जनमत पाएको सरकारले सिङ्गो देशभन्दा पनि व्यक्तिगत स्वार्थका लागि संसद् विघटन गर्यो ’ उनले भने । महामन्त्री दीपक भट्टराईले प्रधानमन्त्रीको कदमले देशलाई उल्टो बाटोमा डोर्याएको भन्दै उल्टो हिँडेर साङ्केतिक विरोध गरिएको बताए ।

प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलनमा जान खुट्टा कमाएको भन्दै काँग्रेसभित्रै सभापति शेरबहादुर देउवाको बिरोध भैरहेका बेला नेविसंघले रचनात्मक आन्दोलन गरेको हो । काँग्रेसमा आन्दोलन कसरी अगाडि बढाउने भन्नेमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको फरक धारणा आइरहेको छ । देउवा सर्वोच्चको फैसला कुर्नुपर्ने पक्षमा छन् भने पौडेल आन्दोलनमा जानुपर्ने अडानमा छन् ।

तत्काल आन्दोलनमा जान नहुने पक्षमा रहेका सभापति देउवाकै कारण काँग्रेस केन्द्रीय समितिले आन्दोलनलाई काठमाडौँबाट गाउँ केन्द्रित गर्ने निर्णय गरेको छ र केन्द्रीय समितिको बैठक पनि सरेको छ ।

टिप्पणीहरू