अहिले ठाउँ ठाउँमा जे जे हुँदैछ

अहिले ठाउँ ठाउँमा जे जे हुँदैछ

प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेपछि अहिले मुलुकमा राजनीतिक र संवैधानिक संकट चुलिएको छ । प्रधानमन्त्रीको कदमका विरुद्ध विभिन्न राजनीतिक दल,संघसंस्था,नागरिक समाजलगायत आन्दोलनमा छन् ।

संसद विघटनपछि विभाजित सत्तारुढ नेकपाका दुवै पक्ष आन्दोलन, भेला, बैठक र छलफलमा केन्द्रित छन् । यस्तो जटिल राजनीतिक वस्थामा शनिबार काठमाडौँमा विभिन्न कार्यक्रमहरु हुँदैछन् ।

हेर्नुस् के के हुँदैछन् आज ?

नेकपा (बहुमत) काठमाडौँ जिल्ला १५ नं वडा कमिटीले केन्द्रीय सदस्य जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा पार्टी कार्यकर्ता भेला गर्दैछ ।

ओलीनिकट नेकपा काठमाडौँ जिल्ला १५ न. वडा कमिटीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा जगत सुन्दर ब्यांक्वेटमा बिहान कार्यकर्ता भेला गरिरहेको छ ।

त्यस्तै, अहिले याग्रिमा होटल बौद्धमा नेकपा (माओवादी केन्द्र) कर्णजीत समूहको नेवा-ताम्सालिङ प्रदेशअन्तर्गत काठमाडौं जिल्ला भेला कार्यक्रम हुँदैछ ।
ओलीनिकट राष्ट्रिय युवा संघ जिल्ला कमिटी भक्तपुरले मोटरसाइकल र्‍याली गर्दैछ । पार्टी कार्यालय सूर्यबिनायकमा भेला भई जुलुससहित काठमाण्डौ जान आव्हान गरिएको छ ।

यता,खानेपानी मन्त्री मणि थापासंग संसद विघटन, मध्यावधि निर्वाचन, नेकपाभित्रको विवाद र विभाजन, मेलम्ची खानेपानी आयोजना लगायतका विषयमा साक्षात्कार कार्यक्रम सकिएको छ ।

विवेकशील साझा पार्टीले पनि माइतीघर मण्डलामा प्रधानमन्त्री ओलीको गैरसंबैधानिक कदमक बिरुद्ध प्रदर्शन गर्दैछ ।
प्रचण्ड-माधवनिकट नेकपा जिल्ला कमिटी भक्तपुरले ठिमी ब्याङ्केटमा वरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम गर्ने भएको छ ।

नेपाल ल क्याम्पसअगाडि प्रचण्ड-माधवनिकट अखिल नेपाल राष्ट्रिय स्वतत्र विद्यार्थी युनियन केन्द्रीय समितिले प्रतिनिधि सभा विघटनको असंबैधानिक कदमबिरुद्ध नेपाल ल क्याम्पस अगाडि सडक बहस कार्यक्रम गर्दैछ ।

रिपोटर्स क्लब, भृकुटिमण्डपमा११ बजे बिश्व हिन्दु युवा संघले आफ्नो स्थापनाको छोटो समयमा संगठन निर्माण,सपथ ग्रहण र केन्द्रीय समितिको बैठक बसेर गरेको निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दैछ ।
ओली निकट नेकपा काठमाडौ क्षेत्र नं. ३ ले गृहमन्त्री राबहादुर थापा बादलको प्रमुख आतिथ्यतामा ड्रिम हाउस जोरपाटीमा क्षेत्रस्तरीय कार्यकर्ता भेला कार्यक्रम गर्दैछ ।

नेपाल बिज्ञापन व्यवसायी संघको २१ औं साधारण सभा छ । कार्यक्रम एभरेस्ट होटल, नयाँ बानेश्वरमा हुने बताइएको छ ।

त्यस्तै,ओलीनिकट राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बृहत् र्‍याली तथा भेला कार्यक्रम गर्ने जनाएको छ । र्‍याली नयाँ बानेश्वरबाट शुरु भै माइतीघर मण्डला, सुन्धारा र जमल पुगेर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सभा हुने बताइएको छ ।

अहिले १२ बजे मण्डलामा ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गर्न,प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसीसहितले अहिंसात्मक नागरिक प्रदर्शन गर्ने भएका छन् ।

नेपाल समाजवादी निर्माण मजदुर संघले ट्रेड युनियन महासंघको कार्यालय, ललितपुरमा अहिले १२ बजे केन्द्रीय समितिको बैठक आव्हान गरेको छ ।

प्रचण्ड-माधवनिकट नेकपा सम्पर्क समन्वय कमिटीले भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । कार्यक्रम गोल्डेन लाइट पार्टी प्यालेस मित्रपार्क चाबहिलमा १२ बजे हुने जनाइएको छ ।

ओलीनिकट नेकपा नागार्जुन नगर कमिटीले अहिले १२ बजे स्टार बैङ्क्वेट स्वयम्भूमा बृहत् अगुवा कार्यकर्ता भेला गर्दैछ ।

त्यस्तै अहिले साढे १२ बजे हार्दिक होटलमा ओलीनिकट नेकपा लुम्बिनी प्रदेश सम्पर्क समन्वय कमिटीले अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने जनाएको छ ।

शाही शक्ति नेपाल केन्द्रिय समितिले भेला तथा छलफल कार्यक्रम गर्दैछ । भेला थकाली भान्छाघर ठमेलमा १ बजेका लागि बोलाइएको छ ।

अहिले १ बजे मानव अधिकार तथा शान्तिसमाज काठमाडौ शाखाले २३ औं वार्षिक साधरण सभा गर्ने भएको छ । सभा ईष्टपोल उच्च मावि नारायणटारमा हुनेछ ।

ट्रमा सेन्टरमा आज बिहानदेखि गंगामाया अधिकारीले छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राखी पानीसमेत नखाई सत्याग्रह बसेकी छन् ।

डा.गोविन्द केसी पनि सडकमा

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमका बिरुद्ध राजनीतिक दल,नागरिक समाज,विभिन्न संघसंस्थाले आन्दोलन गरिरहेका बेला डा.गोविन्द केसी पनि सडकमा ओर्लिएका छन् ।

केसीसहितको अहिंसात्मक नागरिक आन्दोलनले ओलीको कदमलाई असँवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, स्वेच्छाचारी भन्दै उक्त कदमको अवज्ञा गर्न अहिंसात्मक प्रदर्शन गर्न लागेको जनाएको छ ।

आन्दोलन शनिबार १२ बजे मण्डलामा हुने जनाइएको छ । प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा भन्दै डा. केसीसहितको अहिंसात्मक नागरिक आन्दोलनले प्रदर्शनमा सहभागी हुन आमजनतालाई अपिल गरेको छ ।

मेडिकल शिक्षा सुधारका लागि भन्दै पटक-पटक अनशन बसेका डा. केसीसमेत प्रधामन्त्रीको कदमका विरुद्ध आन्दोलनमा उत्रन लागेका हुन् ।

टिप्पणीहरू