राजनैतिक आन्दोलनको मौका छोपी तस्करी

देशैभर राजनीतिक आन्दोलन चर्किरहेको छ । आम जनतादेखि सरकारको ध्यान पनि राजनैतिक गतिविधितर्फ केन्द्रित भइरहेको मौका पारेर नवलपरासी र रुपन्देहीमा खुलेआम अवैध कारोबार भइरहेको छ।

नवलपरासीस्थित सशस्त्र प्रहरी २६ नम्बर गणबाट सूचना संकलनकोलागि खटाइएका उग्र धोबीले तस्करहरुसंग मिलेर खुलेआम तस्करी गराइरहेको बताइन्छ ।

८ बर्षदेखि घुमुवाको रुपमा रहेका उनले सीमावर्ति क्षेत्रमा अवैध कारोबार गर्नेहरुसंग रकम असुली तस्करी गर्न सघाइरहेका छन् । स्रोतका अनुसार उग्रले मरिच व्यापारी महेन्द्र ठाकुर,अर्का मरिच व्यापारी सुरेन्द्र चाहान र मटर व्यापारी वीरेन्द्र यादवसंग महिनावारी रकम बुझ्ने गर्दछन् ।

यसैगरी भारतीय नागरिक शंकरले ठूलो परिमाणमा कपडाको तस्करी गर्न उग्रलाई हप्ता बुझाउने गरेका छन् । कुखुरा तस्कर राजेश र भैँसी राँगाको कारोबार गर्ने मक्सदले पनि उनलाई मासिक रकम बुझाउने गर्दछन् । त्यसबापत उनले शंकरलाई कपडा,राजेशलाई कुखुराको चल्ला र कुखुराको मासु तथा मक्सदलाई भैसी चोरी तस्करी गर्न सघाएका छन् ।

पश्चिम नवलपरासीको घुमुवा कमान्डरसमेत रहेका उग्रको विरुद्ध सशस्त्र प्रहरीको हेडक्वार्टरमा समेत उजुरी परेको थियो तर उनले तालुक निकायका हाकिमहरुलाई बेला बेला महंगा उपहार र नगद रकम बुझाउने हुँदा कारबाही हुन नसकेको सशस्त्र प्रहरी २६ नम्बर गणका कर्मचारी नै बताउँछन् ।

नाम उल्लेख नगर्ने शर्तमा उनीहरु भन्छन्, ‘कतिपय कुरा एसपी सापलाई थाहै हुन्न । उसको शान एसपीको भन्दा बढी छ । फौजमा बोल्न भएन ,के गर्नु सर सोझा मान्छेले फौजी हुनु पनि बेकार रहेछ । ’

नवलपरासी पश्चिममा महेशपुर भन्सार,गुठी प्रसौनी,चमनटोला, हरपुर,भुजाहा,बसाहिया,बल्लीनगर जस्ता नाका रहेका छन् । यी नाका बाहेक भारतीय सीमावर्ति क्षेत्रसंग जोडिएको लामो दूरीको बोर्डरमा दैनिक चोरी तस्करी भइरहेको छ । नेपाल प्रहरीका एसपी अजय के.सी र सशस्त्र प्रहरीका एसपी तथा २६ नम्बर गणका गणपति महेश अधिकारी तस्करी शून्य जिल्ला बनाउने अभियानमा खटिएको भएता पनि सशस्त्रकै पुराना पुराना घुमुवा प्रहरीको असहयोगले उक्त कार्यले प्रभावकारिता पाउन सकेको छैन ।

एकजना सशस्त्र प्रहरी कर्मचारी भन्छन्, ‘एसपी साबले बोर्डर कडाई गर्न निर्देशन दिएपछि त झन उग्रेको रेट बढेको छ। ’

यता रुपन्देहीमा सशस्त्र प्रहरी बल रुपन्देहीका प्रमुख एसपी तेजकुमार पोखरेलको सरुवा भएको छ । उनको सरुवा भएसंगै मातहत युनिटहरुले उनको आदेशलाई अक्षरशः पालना गर्न छाडेका छन् । जसको कारण सीमावर्ति क्षेत्रबाट कपडा र जिउँदो कुखुरा दिनदहाडै नेपाल भित्रिरहेका छन् । भारतमा बर्डफ्लू फैलिएता पनि प्रहरीको सेटिङमा नवलपरासी र रुपन्देहीको सीमावर्ति क्षेत्रबाट दैनिक हजारौको संख्यामा मासुकोलागि तयारी अवस्थाको बोइलर कुखुरा नेपाल भित्रिरहेको छ । नेपालमा पंक्षिहरु अर्को मुलुकबाट भित्रिन निषेध छ ।

यता बेथरी चौकीमा ट्राफिक प्रहरीका सई विष्णुबहादुर जि.सी नेतृत्वको टीमले मालबाहक गाडीहरुसंग असुलीलाई तीब्रता दिएको छ । लुम्बिनी करिडोरमा रहेका सिमेन्ट, छड,खाद्यान्न उद्योग,बोरा उद्योगका कच्चा पदार्थ लिएर भारतबाट आउने गाडीहरुसंग यसअघि बेलहियामा उठाउदैं आएको रकम बेलहियामा प्रहरी हेडक्वाटरले पूर्णतया रोक लगाईदिएपछि उक्त काम यतिबेला बेथरीमा हुन थालेको छ ।

बेथरीको टोलीले भारतबाट कच्चा पदार्थ ल्याउने गाडीहरुसंग अतिरिक्त रकम लिएर मात्रै छाड्ने गरेको हो ।

टिप्पणीहरू