पतिसँगै रहेकीलाई बलात्कार प्रयास: सरकारी वकिलले चाखे मीठो स्वाद

पतिसँगै रहेकीलाई बलात्कार प्रयास: सरकारी वकिलले चाखे मीठो स्वाद

जिल्ला सरकारी वकिल कार्यालय धुलिखेलले जबर्जस्ती करणी उद्योगअन्तर्गत दर्ता भएको मुद्दामा ‘हाजिरी’ जमानीमा छाड्ने निर्णय गरेको छ । ‘रातको १० बजे नशाको सुरमा खानीखोला गाउँपालिका–४ घर भएका ३८ वर्षीय सुकबहादुर माझी महिला सुतेको कोठामा पुगेर घाँटी थिची जबर्जस्ती करणीको प्रयास गरेका थिए’, पीडितका आफन्तले भने, ‘श्रीमान्सँगै सुतेको समयमा सुुकबहादुर माझीले जबर्जस्ती करणीको प्रयास गरेका हुन् ।’

छोरीहरू अर्काे कोठामा सुतेका थिए । हारगुहारसँगै उनी भागे । प्रहरीले घटनास्थल मुचुल्कामा समेत सोही कागज तयार गरेको छ । साक्षीहरूको बयान र घटनास्थलका आधारमा तयार गरिएको प्रतिवेदनमा सोही कुरा उल्लेख छ । ०७७ मंसिर २० गते राति श्रीमान् र सुकबहादुर माझीले सँगै रक्सी खाएका थिए । उनी रक्सी खाएर आफ्नो घर गए । नशाको सुरमा साथीकी पत्नीलाई करणी गर्ने उद्देश्यले घरको आँखिझ्यालबाट भित्र प्रवेश गरेका माझीले बयान दिएका छन् । माझीले महिलाको शरीरमाथि चढेर घाँटी र काँधमा समातेपछि चिच्याउँदा छोरीले खुकुरी लिएर आएपछि उनी फरार भएका थिए ।

जिल्ला न्यायाधिवक्ता चन्द्रकुमार पोखरेलले उक्त मुद्दामा पीडितले जाहेरी ब्यहोरामा उल्लेख गरेको विवरण, प्रहरी अनुसन्धानबाट माझीले महिलालाई घाँटीसम्म पक्रिएको र करणीको प्रक्रिया शुरु भएको अवस्था नदेखिएको, श्रीमान्, श्रीमती एउटा ओछ्यानमा सुतेको अवस्थामा उक्त व्यक्तिले करणी वा उद्योग गर्लान् भनी अनुमान र कल्पनासमेत नभएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा ३१ को उपदफा ३ बमोजिम मुद्दा नचलाउने निर्णय गरेको बताएका छन् । पीडितले प्रश्न गरेका छन्, ‘पीडकले म जबर्जस्ती करणी गर्न गएको हुँ, महिलाको काँधमा र घाँटीमा समाएको हुँ, श्रीमान् र छोरी सँगै कराएर खुकुरीले काट्न आएपछि भागेँ भन्दा पनि सरकारी वकिलको कार्यालय तैंले करणी गर्न खोजेको हैन रछस् भनेर सफाइ दिन किन तयार भयो ?’ माझीले यसअघि पनि सोही गाउँका तीन जना महिलालाई जबर्जस्ती करणीको प्रयास गरेका थिए । उक्त घटनामा मिलापत्र गर्न र उजुर नहाल्न महिलालाई ३० हजारको प्रस्ताव गरिएको थियो । उनले पैसा लिन नमान्ने बताएपछि महिलाको श्रीमान्लाई समेत सोही समूहले अभद्र व्यवहारअन्तर्गत मुद्दा चलायो । ७ दिनपछि श्रीमान् धरौटीमा छुटेका छन् ।
माझीका आफन्तले आफूले ३ लाख रूपैयाँ खर्च गरेकाले जेल जानु नपर्ने बताएको १५ दिनभित्रै सरकारी वकिल कार्यालयको मुद्दा नचलाउने निर्णयप्रति शंका व्यक्त गरिएको छ । नेत्रीहरूले यस्ता घटनामा संलग्नलाई उन्मुक्ति दिने अधिकारीमाथि अनुसन्धानसहित कारबाहीको माग गरेका छन् ।

टिप्पणीहरू