ओलीको जिकिर : नेकपा फुटेको छैन, मै आधिकारिक

ओलीको जिकिर : नेकपा फुटेको छैन, मै आधिकारिक

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन् । बुधबार निर्वाचन आयोगलाई पठाएको पत्रमा ओलीले नेकपा नफुटेको र आफै आधिकारिक भएको दाबी गरेका हुन् ।

निर्वाचन आयोगले पुस २३ गते नेकपाका दुबै समूहलाई राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो । आयोगले तोकेको म्यादको अन्तिम दिन ओली र प्रचण्ड–नेपाल दुबै समूहले जवाफ पठाएका छन् ।

ओली पक्षबाट नेता सुवास नेम्वाङको टोली बुधबार आयोग पुगेको थियो भने प्रचण्ड पक्षका नेता लीलामणि पोखरेलसहितको टोली आयोग गएर जवाफ पठाएको हो । ११ पृष्ठ लामो जवाफ पत्र लेख्दै ओलीले पार्टीमा आफू आधिकारिक भएकाले प्रचण्ड पक्षले आयोगमा पठाएको डकुमेन्ट अधिकारिक नहुने जिकिर गरेका छन् । प्रचण्ड–माधव समूहले पेश गरेको माइन्यूटमा हस्ताक्षर गर्नेहरुमध्ये धेरैले आफूहरुले बोलाएको बैठकमा हस्ताक्षर गरेको समेत उनले दाबी गरेका छन् ।

ओलीले पार्टीमा प्रचण्ड द्वितीय अध्यक्ष र माधव नेपाल बरिष्ठ नेताका रुपमा यथावत रहेको पनि बताएका छन् । उनले पद रिक्त नै नभएकाले नेपाललाई अध्यक्ष बनाउने कुरा नै गलत हुने पनि उल्लेख गरेका छन् । ओलीले पूर्व एमालेको महाधिवेशनको कुरालाई जोडेर नेपाल नेकपाको अध्यक्ष बन्न नसक्ने तर्क पनि गरेका छन् ।

टिप्पणीहरू