ओलीको विघटनप्रति विप्लव सकारात्मक
नेत्रविक्रम चन्द (विप्लव)
अहिले विप्लव नेतृत्वको नेकपा के गर्दै छ ? पछिल्लो एक महिनायता विकसित राजनीतिक घटनाक्रमपछि विप्लवको रणनीति, दृष्टिकोण र क्रियाशीलता कसरी अगाडि बढेको छ ? यस्ता आमजिज्ञासा देखिन थालेका छन् । यसै सन्दर्भमा जनआस्थाले भूमिगत अवस्थामै नेकपा नेता विप्लवसँग इमेलमार्फत संवाद गरेको छ ।
उनले पुस ५ गतेको संसद् विघटनसँग विदेशी शक्तिकेन्द्रको स्वार्थ गाँसिएको बताउँदै मुख्यतः दुई कारण औँल्याएका छन् । ‘पहिलो, पूर्वएमाले र माओवादी केन्द्रबीचको अपवित्र एकता । दोस्रो, विदेशी शक्तिकेन्द्रहरूको हस्तक्षेप । एउटा दलाल पुँजीवादी सत्ताको असफलता, अर्को सरकारी पार्टी र गुटहरूको असफलता । एउटा दलाल पुँजीपति वर्गभित्रको स्वार्थ संघर्ष, अर्को सरकारी पार्टीभित्रका गुटहरूको संघर्ष ।’
उनले जनआस्थाको सोधाइमा जवाफ फर्काएका छन्, ‘यो कुनै आकस्मिक घटना होइन बरु तीन दशकको असफलतासहित आइरहेको संसदीय व्यवस्थाकै नयाँ संकट मात्र हो । यो केपी ओलीको सरकार भएका कारणले मात्र होइन, अरुको सरकार भए पनि ढिलो चाँडो हुन्थ्यो ।’
यसबाहेक विप्लवका धारणा यस्ता छन्–
तीन विकल्प
यसको निकासबारे राजनीतिक शक्तिले तीन वटा धारणा प्रस्तुत गरेका छन् । पहिलो केपी सरकारलाई फेरेर अरू कुनैको नेतृत्वमा नयाँ सरकार बनाउने, दोस्रो संसदीय व्यवस्थाकै चुनाव गरेर नयाँ सरकार बनाउने, तेस्रो असफल संसदीय व्यवस्थालाई विस्थापित गरेर जनगणतन्त्र या वैज्ञानिक समाजवादको स्थापना गर्ने । हाम्रो विचारमा अगाडिका दुई विकल्प यथास्थितिमै देशलाई घुमाउने गलत धारणा हुन् । तेस्रो विकल्प अर्थात् वैज्ञानिक समाजवाद स्थापना गर्नु नै उत्तम विकल्प हो । देश क्रमशः त्यही दिशामा जान्छ र लानुपर्छ ।
सत्तारुढ नेकपाको फुट
सरकारी नेकपाको फुटले तत्काल देशलाई अस्थिरताको तरंग दिए पनि दीर्घकालीन दृष्टिले देशलाई आमूल परिवर्तन तथा स्थिरतातिर लैजान सघाउ पु¥याउँछ ।
नेपालमा जनता कम्युनिष्ट समर्थक र वैज्ञानिक समाजवादी राज्य व्यवस्थाका पक्षपाती छन् । यो जनमतलाई अवसरवादी, संसद्वादी सरकारी नेकपाले संसदीय व्यवस्थाभित्रै घुमाउने सम्भावना कमजोर भएको छ । संसदीय व्यवस्थाबाट जनताले शान्ति र समृद्धि प्राप्त गर्न सक्दैनन् भन्ने साधारण नागरिकले पनि बुझ्ने गरी स्पष्ट भएको छ । यसले आमूल परिवर्तनतिर जान मद्दत गर्छ ।
वार्ता र उपयोग
सरकारले वार्ता टोली बनाएर हामीसँग छलफल गरेको छैन । अनौपचारिक कुरा भएका हुन्, यद्यपि ती निकै गम्भीर र मर्मस्पर्शी थिए । यसमा उपयोगको कुनै अर्थ नै छैन ।
कर अनि कारबाही
हामीमाथि जसरी प्रतिबन्ध लगाइयो, यो नै अन्यायपूर्ण एवं अनुचित छ । देशलाई कर छली गर्ने र देशको धन उडाउन खोज्ने कम्पनीलाई कारबाही गर्नुपर्छ भन्ने जनताको माग पूरा गर्नु हाम्रो के अपराध थियो ? जनताको करबाट जम्मा भएको कोषलाई स्वाहा पार्ने भ्रष्टहरूलाई कारबाही गर्नु के गल्ती भयो ? न्यायको आवाज उठाइरहेका हाम्रा नेता कार्यकर्तालाई गोलीले हान्न र जेलनेलमा हाल्न किन प¥यो ? हामीलाई शान्तिपूर्ण रूपले जनतामा जानबाट किन रोक्ने !?
संकटको समय
निश्चय पनि नेताहरूको सहादत, गिरफ्तारी र जेलनेलले पार्टीलाई क्षति पुगेको छ । तर, यो कुनै आत्मसमर्पण या धोकाधडी गरेको मामिला होइन । यो सुन्दर भविष्यका लागि क्रान्तिले माग गरेको मूल्य चुकाएको विषय हो । क्रान्तिमा गरिने बलिदान र दुःख कष्टले पार्टीलाई कमजोर होइन स्पातिलो र ऊर्जाशील बनाउँछ । हाम्रो पार्टी यतिबेला साँच्चैको कम्युनिष्ट पार्टी बन्दै गएको अनुभूति भएको छ ।
एकता अभ्यास
यसबीच कमरेड गोपाल किराँतीसँग समस्या छ भन्ने कोणबाट कुरा उठे । उहाँसँग कुनै समस्या नै थिएन र छैन । त्यस्तै, क.मोहन वैद्य (किरण) को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) मित्र पार्टी हो । हाम्रो बीचमा राष्ट्र र जनताका समस्यालाई समाधान दिनका लागि मैत्रीपूर्ण सहकार्य भइरहेको छ ।
चीन र एनसेल
सरकारले हामीमाथि प्रतिबन्ध लगाएपछि चीन जाने–आउने क्रम कम भएको छ । चीनसँग जस्ता भेटघाट र छलफल हुन्थे त्यसमा कुनै अन्तर आएको छैन ।
जसरी चीन सम्बन्धलाई लिएर हामीलाई आर्थिक विषयमा बद्नाम गर्न खोजिन्छ, त्यसबारे त कल्पना पनि नगर्नुस् † कसैले पैसाको कुरा गरेको भए कुनै दिन अवश्य सत्य बोल्नुपर्ने छ ।
एनसेलले देशप्रति गरेको अपराधका कारण कारबाही गरेको हो । यदि, कारबाही नगरेको भए एक पैसा पनि राज्यले पाउने थिएन । कम्तीमा २२ अर्ब नगद राज्यले पायो । विडम्बना, राज्यले नै बाँकी कर तिर्नु पर्दैन भनिरहेको छ ।
एनसेलले राज्यको बाँकी कर तिर्छ÷तिर्दैन उसको कुरा भयो तर एनसेलले हाम्रो पार्टीको नेतृत्वमा बनेको जनसरकारलाई पनि कर तिर्नुचाहिँ पर्छ । हैन भने हाम्रो प्रभाव क्षेत्रका जनतामा एनसेल बन्द हुन्छ ।
हिंसाको आरोप
व्यक्ति हत्या गर्ने नीति पार्टीको हुने कुरै छैन । मोरङमा शिक्षक राजेन्द्र श्रेष्ठले १० हजार नदिएकाले हत्या गरेको आरोप झुट हो । राजेन्द्र श्रेष्ठ मारिएको घटना दुःखद हो तर त्यो हाम्रो कारणले भएको होइन राज्यको गलत व्यवहार र नीतिले भएको हो । हाम्रो विनम्र आग्रह छ कि घटनाको सत्यतथ्य छानबिन गरौं घटना कसरी घट्यो र किन घट्यो ।
राजेन्द्र स्कुल पढाउने शिक्षक अवश्य हो तर उनलाई राज्यले शिक्षकको गरिमामय पेशाविपरित सुराकीको रूपमा प्रयोग गरेर जघन्य अपराध गरेको छ । यसका प्रमाण पर्याप्त छन् । उनलाई बारम्बार सम्झाउँदा पनि दमन गराउने कार्य रोकेनन् । सुराकीका कारण कमरेडहरू गिरफ्तारीमा पर्नुभयो । सीसीएम कमरेड बालबाल बच्नुभयो । केन्द्रीय नेताहरूलाई घेरा हालियो । पार्टीले ठूलो क्षति व्यहोर्नुपर्यो । जनतालाई नेकपाका नेता कार्यकर्तालाई सहयोग गरेमा तातो गोली खुवाउनुपर्छ भन्दै आतंकित पार्ने काम भयो । फेरि पनि सम्झाउन जाँदा यस्तो घटना घट्यो । शिक्षक साथीहरूलाई हाम्रो अनुरोध छ राज्यको यस्तो दमनकारी कार्यको मतियार नबनौं । हामीले सच्याउनुपर्ने विषय सच्याउँछौं ।
अब संयुक्त मोर्चा
देशको स्वाधीनता, जनताका अधिकार, दैनिक जीवनका समस्यालाई हेर्ने, बुझ्ने र समाधानबारे दृष्टिकोण मिल्ने कम्युनिष्ट पार्टीहरूबीचको सुदृढ र दीर्घ सहकार्य नै रणनीतिक संयुक्त मोर्चा हो । नेपालमा लामो समयदेखि कम्युनिष्टले राज्य रूपान्तरण र संयुक्त मोर्चाका लागि प्रयत्न गर्दै आएका हुन् तर हालसम्म सफल हुन सकेको थिएन । कि पार्टी एकतामा जाने कि कार्यगत एकतासम्म पुगेर फर्किने हुँदै आएको थियो । तर, यो समयमा हामी चार पार्टी रणनीतिक संयुक्त मोर्चा बनाएर देशलाई संसदीय व्यवस्थाको घेराभित्रबाट निकाली जनगणतन्त्र वा वैज्ञानिक समाजवादतिर लैजान सयुक्त मोर्चा बनाउन सफल भएका छौं । यसर्थ यसको मुख्य उद्देश्य जनतालाई दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको उत्पीडन र देशलाई साम्राज्यवादी हस्तक्षेप एवं अतिक्रमणबाट मुक्त गरेर जनगणतन्त्र वा वैज्ञानिक समाजवाद स्थापना गर्ने रहेको छ ।
टिप्पणीहरू