कहिले कुरेको कुर्यै, कहिले जुरेको जुर्यै
वाम गठवन्धनले गत निर्वाचनमा अकल्पनीय जित हासिल गरेपछि मात्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा झसङ्ग हुनुभयो । त्यतिबेला देउवालाई लागेको हुनुपर्छ ‘अब पाँच वर्षको लागि थन्किएँ’ । हुन तः चुनाव प्रचार–प्रसारका क्रममा उहाँले काँग्रेसले बहुमत ल्याउने र आफैँ प्रधानमन्त्री बन्ने बताउनुभएको थियो । चुनावी आमसभामा मान्छे उराल्ने र हौसाउने कुरा सबैले गरेझैँ देउवाले पनि गर्नुभएको हो ।
तर, परिणाम देउवाले सोचेभन्दा फरक आयो । अहिले चुनावी नतिजापछि सोचेभन्दा भिन्न देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले देउवालाई पाँच वर्ष कुर्न नपर्ने संकेत दिन थालेको छ । किनकि अहिले उहाँलाई दिनैपिच्छे प्रधानमन्त्रीको अफर आउन थालिसकेका छन् । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा फुट्यो । दुवै समूह प्रधानमन्त्रीको अफर लिएर बुढानीलकण्ठ धाउन थालेका छन् ।
‘कहिले मरिहत्ते गर्दा नपाइने,कहिले वास्ता नगर्दा पनि आइलाग्ने’ भएपछि देउवा करिब मौन बस्दै आउनुभएको छ । उहाँले संसद विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले मौन बसेको बताएपनि ‘कुरा त्यति मात्रै नभएको’ काँग्रेसी नेताहरू नै बताउँछन् । ‘सभापतिजी भोलिको सम्भावनाको जोड–घटाउको हिसाबमा लाग्नुभएको छ । त्यसैले उहाँलाई संसद विघटनको पक्ष–विपक्षमा बोल्न अप्ठेरो परेको हुनसक्छ’, काँग्रेसका एकजना केन्द्रीय नेताले भनेका छन् ।
देउवा निकट स्रोतका अनुसार ‘उहाँ ओलीलाई पनि नचिढ्याउने र प्रचण्ड–नेपाललाई पनि नजिक राख्ने रणनीतिमा हुनुहुन्छ । दुवै पक्षले बुढानीलकण्ठको परिक्रमा गरे पनि देउवालाई प्रधानमन्त्री हात लागिहाल्ने विश्वास भने जागिसकेको छैन’ । ‘त्यतिमात्र हैन एक त अहिले नै प्रधानमन्त्री बनिन्छ भन्ने विश्वास नभएर पनि होला,अर्को चैं एउटा पक्षलाई साथ दिँदा भोलि अर्कोपक्षले सहयोग नगर्ने अवस्था नआओस् भनेर सतर्क बन्नुभएको होला’ एकजना काँग्रेसी नेताको टिप्पणी छ ।
बाहिर असंवैधानिक र अलोकतान्त्रिक भने पनि देउवालाई भित्रैदेखि प्रधानमन्त्री ओलीको कदम मन परेको हुनुपर्छ । रसातलमा पुगेको काँग्रेसलाई बौराउने योभन्दा ठूलो अवसर देउवाका लागि फेरि नआउन सक्छ । किनभने अहिले एकातिर ओली सरकारको लोकप्रियता खस्किएको छ भने अर्कोतिर नेकपा फुटेको छ । तर,काँग्रेसका केही नेताले भने सार्वजनिक रूपमै यसलाई अवसरका रूपमा हेर्न नहुने बताउँदै आएका छन् ।
घटनाक्रमले देउवालाई पाँच वर्ष कुर्न नपर्ने संकेत दिन थालेको छ ।
‘पार्टीको अवस्था बलियो बनाउने हिसाबले सोच्दा त चुनावमा जाने कुरा ठीकै होला,तर यो पार्टीको मात्र सवाल हैन संविधानको सवाल हो’, काँग्रेस नेता गगन थापाले एउटा कार्यक्रममा भनेका थिए, ‘पार्टीको स्वार्थभन्दा मुलुकको स्वार्थ ठूलो हुन्छ । अहिलेको स्वार्थ भनेको संविधानको रक्षा गर्ने कुरा हो । संविधान र लोकतन्त्र बच्यो भने चुनाव जित्ने कुरा त छँदैछ ।’
त्यसो त संसद विघटन र त्यसपछि विकसित घटनाक्रमलाई हेर्ने सवालमा काँग्रेसमा मतैक्यता छैन । ‘पर्ख र हेर’ को देउवा रणनीति बुझेको वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष भने तत्काल आन्दोलनमा जानुपर्नेमा जोड दिइरहेको छ । पौडेलले संसद पुनर्स्थापना नभए मुलुकमा अनर्थ हुने भन्दै जनताको आवाज सर्वोच्चसम्म पुर्याउन आन्दोलनको विकल्प नभएको बताइसकेका छन् ।
आफ्नोपक्षको अडानकै कारण देउवा पनि आन्दोलनमा आउन बाध्य बनेको पौडेलपक्षको भनाई छ । देउवाको अहिलेको धर्मसंकट भावी सत्ता समीकरणसँग जोडिएको प्रष्टै देखिन्छ । ओलीको विरोधमा आन्दोलनलाई सशक्त बनाउँदा भोलि चुनाव हुने भयो भने गठबन्धन कसरी गर्ने ! ओलीले चुनावी सरकारको नेतृत्व दिने आश्वासन दिएको कुरा त छँदैछ । प्रचण्ड–नेपाललाई चिढ्याउनु पनि भएन । अन्यथा,भोलि संसद पुनर्स्थापना भयो भने सरकार बनाउन उनीहरूको साथ महत्वपूर्ण हुन्छ ।
यता,देउवालाई फकाउन बुढानीलकण्ठको चक्कर लगाउनुका पछाडि नेकपाका दुवै समूहको पनि आ–आफ्नै स्वार्थ छन् । ओलीपक्ष देउवालाई कम्तिमा तटस्थ राख्न चाहन्छ । काँग्रेसलाई संयुक्त आन्दोलनमा जानबाट रोक्न सकेमात्र पनि आफ्नो जीत हुने ओलीको आँकलन छ । त्यसैका लागि चुनावअघि नै कथम् सरकार छाड्नुपरे देउवालाई आश्वासन दिइएको बताइन्छ ।
प्रचण्ड–नेपाल पक्षलाई पनि ओलीमाथि थप दबाव सिर्जना गर्न काँग्रेसको साथ चाहिन्छ । त्यसैका लागि उनीहरूले संयुक्त आन्दोलन र भावी सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् । अझ प्रदेशका सरकारहरू ढाल्ने र जोगाउनेमा समेत काँग्रेस निर्णायक बनेर उभिएको छ । यस्तो परिस्थितिमा देउवाको ‘पर्ख र हेर’ को रणनीतिको अर्थ बुझ्न कठिन पर्छ र ?
टिप्पणीहरू