समय र मन पनि कस्तो कस्तो

समय र मन पनि कस्तो कस्तो

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले पुस मसान्तका दिन चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसँग राजधानी नयाँ दिल्लीस्थित साउथ ब्लकमा भेटवार्ता गर्नुभएको छ । पहिले स्थल सेनाध्यक्ष रहेका रावत अहिले जल,स्थल र वायु सेनाको संयुक्त प्रमुखको रुपमा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) को हैसियतमा छन् । स्थल सेनाध्यक्ष मनोज नरवानेसँग नेपाली राजदूत नीलाम्बर आचार्यले यसअघि नै दुई पटक भेट गर्नुभएको छ । सीडीएस बनेपछि रावतले सबैसँगको भेटघाटलाई तीव्रता दिने क्रममा आचार्यसँग भेट गरेको बताइन्छ ।

भेट आर्मी हेडक्वार्टरसँगै रहेको साउथ ब्लकको नामले परिचित भारतको रक्षा मन्त्रालयमा भएको हो । भेटमा सीडीएस रावत बर्दीमै उपस्थित थिए । बर्दीमा आर्मी चिफको जस्तै रावतको पनि चार तारा राखिएको छ । आर्मी चिफझैँ रावत पनि भारतीय सेनाका महारथि हुन् । तर उनलाई भने मोदी सरकारले चीफको पनि चिफमा नियुक्त गरेको हो ।

भेटवार्तामा दुबैजना स्वागत र सञ्चो विसञ्चोको औपचारिकतामा सीमित थिए । १० मिनेट जति भएको कुराकानीलाई ‘कर्टसी कल’ भनिएको छ । संयोगचाँहि नेपालका परराष्ट्रमन्त्री भारत भ्रमणमा नयाँ दिल्ली पुग्ने अघिल्लो दिन रावत र आचार्यबीच कुराकानी भएको थियो । राजदूतले एक महिना अघिदेखि भेटघाटको समय मागे पनि रावतको कार्यालयले पुस २९ गतेलाई मात्र मिलाएको बताइन्छ ।

विपिन रावत गोर्खा रेजिमेण्टको अधिकृतबाट माथि पुगेका हुन् । नेपाली भाषा राम्रैसँग बोल्छन् । हालका सेनाध्यक्ष नरवानेभन्दा पहिले काठमाडौं आउँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा नेपाली भाषामा नै संवाद गरेका थिए भनिन्छ । हुन तः गोर्खा रेजिमेण्टका अधिकांश अधिकृतले नेपाली भाषा बोल्छन् र बुझ्छन् । रावत भारतीय सेनाध्यक्षहरूमध्ये तुलनात्मक रुपमा नेपालप्रति ‘पोजिटिभ’ रहेको सैन्य स्रोतले पनि पुष्टि गरेको छ । गोर्खा रेजिमेण्ट हाँकेका अधिकांशले नेपाली र नेपालप्रति सकारात्मक भाव राख्ने गरेको बताइन्छ ।

परराष्ट्र मन्त्रीको हालै सम्पन्न भारत भ्रमणमा धेरै उपलब्धि हात लाग्ने सम्भावना नरहेको आशंकाको पुष्टि भैसकेको छ । दुई देशका सेनाबीच सहयोग आदान प्रदान हुनसक्ने सम्बन्धमा सोधिएको प्रश्नमा सैन्य स्रोतले भनेको छ ‘त्यस्तो सहयोग आफ्नै च्यानलबाट निर्क्यौल हुन्छ । लिड चाँहि परराष्ट्र मन्त्रालयले नै गर्छ । तर,एजेण्डा भने त्योभन्दा पहिले नै दुई देशका सेनाबीच भइसक्नुपर्छ ।’

टिप्पणीहरू