सरकार प्रमुखले बोल्ने भाषा यस्तै हुन्छ ?

सरकार प्रमुखले बोल्ने भाषा यस्तै हुन्छ ?

– साहस न्यौपाने

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईलाई ‘बैगुनी केटा’ को संज्ञा दिनुभयो । ओली समूहको प्रदेश १ कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा ओलीले भट्टराईमाथि यस्तो अराजनीतिक टिप्पणी गर्नुभएको हो । एक महिना अघिसम्म आफ्नै मन्त्रिमण्डल सदस्य रहेका भट्टराईलाई ‘केटा’ भन्दै ओलीले राजनीतिमा आफूलाई ‘बा’ को रूपमा उभ्याउनुभएको देखिन्छ ।

‘केटाकेटीबारे केही भन्नु छैन । दौडेर गई केटालाई जिताएर पठाउनुस्,म मन्त्री बनाउँछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही (योगेश भट्टराई) केटो पो रहेछ,’ उहाँले भन्नुभएको थियो । केही दिनअघि उहाँले अर्को त्यस्तै खेदजनक टिप्पणी गर्नुभयो । पूर्वप्रधानन्यायाधीशहरूलाई ‘जागिरे’ भन्दै न्यायपालिकाको शीरमै प्रहार गर्न खोजियो । प्रतिनिधिसभा विघटनका बारेमा आफ्नो धारणा सार्वजनिक गर्ने चार जना पूर्वप्रधानन्यायाधीशहरूलाई उहाँले चेतावनी दिँदै भन्नुभएको थियो, ‘कुनैबेला अदालतमा जागिर खाएको आधारमा अहिले पनि जागिरे नठान्नु होला ।” ‘न्यायपालिकाको सर्वोच्च पदमा पुगिसकेका न्यायमूर्तिहरूमाथिको उक्त टिप्पणी अराजक,अनैतिक र अपाच्य मात्र थिएन,दण्डनीय प्रकृतिको पनि थियो भनिन्छ ।

ओलीका पछिल्लो एक महिनायताका सार्वजनिक अभिव्यक्ति सुन्ने हो भने ‘…लाईभन्दा देख्नेलाई लाज’ भनेजस्तै हुन्छ । जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गर्दा पनि रत्तिभर पश्चाताप देखिँदैन । बरु आफूले गौरव लायक काम गरेकोझैँ प्रस्तुत भैरहनुभएको छ । संसद विघटन गर्ने आफ्नो निर्णय ठीक भन्दै आफ्नो पक्षमा जुलुस निकाल्न लगाउनुभएको छ । इतिहासमा सायद आफ्नो निर्णयका पक्षमा ‘आइएम विथ फलाना’ भनेर कुनै निरङ्कुश शासकले पनि जुलुस निकाल्न लगाएन होला तर उहाँले खुलेरै त्यो काम गर्नुभयो ।

त्यतिले नपुगेर उहाँले झण्डै आफ्नै उमेरका र राजनीतिमा आफूभन्दा पनि वरिष्ठ नेताहरूको मानमर्दन गरिरहनु भएको छ । सार्वजनिक मञ्चमा उभिएर ठूलै पराक्रम गरेझैँ नेकपाका स्थायी समिति सदस्य भीम रावलको तेजोवोध गर्नुभएको पनि देखियो । रावलकै गृहक्षेत्रमा पुगेर उहाँले ‘मान्छेभन्दा कुरा ठूला’ भन्दै होच्याउनुभयो । ‘अहिले गणतन्त्रवादी होइन भनेर कुर्लिने अछामको एउटा केटा म जेल बस्या बेला बाटोमा हिँड्दा हिँड्दै पुलिसले समाएर ल्याएछ र भेट्टाएर मैले राजनीतिकरण गरेँ । अहिले कुराकानी सानातिना छैनन् । मान्छेभन्दा कुरा ठूला छन्,’ रावलप्रति उहाँले त्यसप्रकारको टिप्पणी गर्नुभएको थियो ।

ओलीले नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पनि उछित्तो काढ्न छाड्नु भएको छैन । १५ वर्ष पार्टीको मुख्य नेतृत्व सम्हालिसक्नुभएका नेपाललाई प्रचण्डको कार्यकर्ता भन्दै आफूसँग कुनै हैसियत नै नमिल्ने शैलीमा निम्न कोटीको आरोप लगाउन पनि पछि पर्नुभएन । यसबीच ‘प्रचण्डलाई सुधार्न बालुवाटारमा ड्रमका ड्रम पानी र डोभ साबुन सकिएको’ उल्लेख गर्दै आफू नै सर्वेसर्वा भएको स्वःघोषणा पनि गर्नुभएको छ । यी सबै पछिल्लो एक महिनामा प्रधानमन्त्री ओलीले दिनुभएका प्रतिनिधिमूलक सार्वजनिक अभिव्यक्ति हुन् ।

उहाँका झुट,कुण्ठा,आवेगका अरु फेहरिस्त धेरै छन् । के एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री र कम्युनिष्ट पार्टीको अध्यक्षले प्रयोग गर्ने शब्द,प्रस्तुति र भाषाशैली यस्तै हुन्छ ? लोकतन्त्रकै लागि १४ वर्षसम्म जेल बस्नुपरेको भन्दै ओलीले आफूलाई ठूलो लोकतन्त्रवादी भन्नुभएको छ । तर उहाँका वचनले लोकतान्त्रिक संस्कार, संस्कृति र आचरणको प्रतिनिधित्व गर्छ ? आफ्नो विचारसँग असहमत हुँदैमा कसैलाई पनि अराजनीतिक टिप्पणी गर्न मिल्छ ? उहाँले भन्नुभएको र चाहनुभएको लोकतन्त्र यस्तै हो ?

कुनैपनि लोकतान्त्रिक पार्टीले व्यक्तिको उमेरलाई आधार बनाएर ऊमाथि निम्छरो टिप्पणी गर्दैन । अझ कम्युनिष्ट पार्टीमा त झन् त्यसको गुञ्जायससम्म पनि रहँदैन । कम्युनिष्ट पार्टीमा कमरेडली भावना हुन्छ,सानालाई समेत सम्मान गर्ने संस्कृति हुन्छ । विचार, सिद्धान्त र राजनीतिमा संघर्ष चल्न सक्छ तर उमेरले जेठो–कान्छो हुँदैमा कसैमाथि तुच्छ टिप्पणी गर्न मिल्दैन । आफूबाहेक अरुलाई नजान्ने देख्ने,अबुझ ठान्ने र उमेरले कान्छोलाई तल्लो भाषाले सम्बोधन गर्ने सामन्ती र निरङ्कुश शैली तथा संस्कृति हो ।

यद्यपि नेपालका राजाहरूले पनि उमेरले आफूभन्दा कान्छोलाई ‘केटाकेटी’ भनेर हेपेको सुनिएको थिएन । अहिले सामाजिक सञ्जालहरूमा देखिने र सुनिने प्रधानमन्त्रीका अभिव्यक्ति आउँदा कान थुन्नुपर्ने अवस्था छ । अरुलाई गालि गरेको, होच्याएकोभन्दा केही सुनिँदैन । देशको अभिभावक जस्तो मान्छेले यसरी प्रस्तुत हुँदा कस्तो संस्कृति निर्माण होला ? भावी पुस्ताले के सिक्ला ? प्रतिनिधिसभा विघटन गरेर मुलुकमा संवैधानिक संकट सिर्जना हुँदा पनि उहाँ उखानटुक्का सुनाउन र हाँस्न छाड्नु भएको छैन ।

मुलुक यस्तो गम्भीर मोडमा पुगेका बेला आफ्ना मान्छेहरूलाई बोलाएर ‘कमेडी सो’ चलाएको शैलीमा भाषण गर्नुहुन्छ । अनि आफ्नै शैलीमा भन्नुहुन्छ ‘म नभए देश रहँदैन,मलाई काम गर्न दिएनन् । त्यसैले प्रचण्ड र नेपालसँग रिस उठ्यो, त्यो रिस साँध्न विघटन गरिदिएँ ।’ लोकतन्त्रमा आफ्ना असन्तुष्टि राख्न हरेक मान्छे स्वतन्त्र छ । प्रधानमन्त्रीलाई पनि आफ्ना राय राख्ने उक्त स्वतन्त्रता दिइएको हुन्छ । तर सीमा र मर्यादाको पर्खाल भत्काएर जे मन लाग्यो त्यहि बोल्ने छुट कसैलाई पनि हुँदैन ।

राज्यको उच्च तहमा रहेको राजनीतिक व्यक्तिले कसैको मानमर्दन गरेर, उछित्तो काढेर, हेपेर,होच्याएर गरिने व्यवहार अराजनीतिक हुन् । साथै,त्यस्ता व्यवहार फौजदारी कसुरको सजाय आकर्षित हुने प्रकृतिका पनि छन् । त्यसैले प्रधानमन्त्री ओली राजनीतिकरूपले मात्र हैन कानूनी रूपले पनि दण्डित हुनुपर्छ भन्ने माग बढ्दै गयो भने अवस्था के होला ? अनि राज्यको उपल्लो र सम्मानित तहमा रहनेहरूबाट पछिल्लो पुस्ताले के सिक्ने ?

टिप्पणीहरू