देउवाको अनुहार उज्यालो, बोलीवचन मौन
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि प्रधानमन्त्री, अन्यथा चुनाव भएमा पनि निर्वाचन जितेर प्रधानमन्त्री भन्दै दुवै हातमा लड्डुको आश देखाइएको छ । बेलाबेला नेकपाको अर्को समूहसँग भेट र काँग्रेसभित्रैको अर्को समूहले आन्दोलन चर्काउन आग्रह गरेपछि आत्तिने गरेका देउवालाई पुनः बालुवाटारले भन्ने गरेको छ ‘किन आत्तिएको भन्या ? जे भएपनि तपाईं प्रधानमन्त्री बनिहाल्नुहुन्छ । चुप लागेर बसे भइहाल्यो ।’
देउवालाई ढाडस दिँदै बालुवाटारले भन्ने गरेको धारणा उद्धृत गर्दै स्रोत दाबी गर्छ ‘केही लागेन भने तपाईं हामी मन मिल्ने जति सबै मिलेर मोर्चा बनाउँदै चुनाव लडौंला ।’ बालुवाटारले अघि सारेको मोर्चामा आफूसहित काँग्रेसको देउवा समूह, एक भएको मधेशी दल जसपाबाट राजेन्द्र महतो समूह र राजावादीसँग मिलेर चुनाव लड्ने बताइएको हो । त्यसो हुँदा नेकपामा मात्रै होइन काँग्रेस, राजपा सबैमा विभाजन आउँछ । त्यसले ओली समूहको रोडम्यापलाई अघि बढाउन सहयोग पुग्ने निश्कर्ष छ ।
किन आत्तिएको भन्या ? जे भएपनि तपाईं प्रधानमन्त्री बनिहाल्नुहुन्छ । चुप लागेर बसे भइहाल्यो ।’
त्यस्तो मोर्चा गठन गरेर चुनावमा जाँदा स्पष्टसँग प्रतिगामी र परिवर्तनकारीबीच प्रतिस्पर्धा हुने अवस्था देखापर्ने छ । त्यहि भएर पनि देउवा भित्रैदेखि रमाएर आन्दोलनमा सहभागी नभएका हुन् । उनले पार्टीभित्रको बाध्यकारी अवस्थालाई ‘न्युट्रलाइज्ड’ गर्न आन्दोलनको स्वरूपमा केही गतिबिधि गरेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बुझाई छ ।
अर्कोतर्फ बालुवाटारको विरुद्धमा सोझै उत्रिन देउवाको सामुन्ने दुई तीन वटा बाधा,व्यवधान छन् । आफ्नै पालामा खरिद गरिएको नेपाल वायुुसेवा निगमको वाइडबडी विमानसम्बन्धी अख्तियारमा रहेको फाइल एकतिर छ भने उता,कार्यकाल सकिन लागेकी जापानस्थित राजदूत तथा सासू प्रतिभा राणालाई फिर्ता बोलाइने डर पनि त्यत्तिकै छ । त्यसैले प्रधानमन्त्रीको लागि पाँच वर्ष कुर्नुभन्दा ओली र देउवा तीन वर्षमै दिने र लिने सहमति कार्यान्वयन भएमा सुनौलो अवसर छिट्टै आउने आशमा बसेका हुन् । केपीले प्रचण्डलाई दिनुभन्दा तपाईंलाई नै प्रधानमन्त्री दिने भनेपछि र तीन वर्षमै प्रधानमन्त्री प्राप्त हुने क्षितिज देखिन थालेपछि उनी फुरुङ्ग हुन थालेको बुढानीलकण्ठ धाउने काँग्रेसीहरूले नै बताएका छन् ।
टिप्पणीहरू