ओलीलाई तीन दिने म्याद

ओलीलाई तीन दिने म्याद

नेकपा बहुमतले प्रधानमन्त्री केपी ओलीलाई थप कारवाहीको चेतावनी दिएको छ । यसअघि नेकपाले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । सोमबार स्पस्टिकरण सोध्दै पार्टीविरोधी गतिविधि जारी राखेकाले साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने चेतावनी दिइएको हो ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालद्वारा हस्ताक्षरित पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ नदिए थप कारवाही गर्ने जनाइएको छ । पत्रमा ओलीले संविधानको ठाडो उल्लंघन गरी प्रतिनिधिसभा विघटन गर्नुका साथै पार्टी अनुशासन नाघेकाले थप कारवाही गर्ने जनाइएको छ । माघ २ गतेको स्थायी कमिटी बैठकले ‘साधारण सदस्यबाट समेत किन नहटाउने ?’ भनी गरेको निर्णय स्मरण गराउँदै अध्यक्षबाट हटाइसकेपछि पनि पार्टी निर्णय नाघेर अध्यक्षकै हैसियतमा प्रस्तुत भएको र पार्टी विरोधी गतिविधि जारी राखेकाले स्पस्टिकरण सोधिएको पत्रमा उल्लेख छ ।

‘यो प्रत्र प्राप्त गरेको या तपाईंको निवासमा टाँस गरेको मितिले तीन दिनभित्र स्पस्टिकरण दिनुहोला । यदि तीन दिनभित्र चित्तबुझ्दो स्पष्टिकरण नदिएमा तपाईलाई थप कारवाही हुने व्यहोरा पनि सूचित गरिन्छ’, पत्रमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजनमा पुगेको नेकपाको बहुमत पक्षको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाए पनि केन्द्रीय सदस्यमा भने यथावत राखेको थियो ।

टिप्पणीहरू