किन कोही जान मान्दैनन् कालापानी ?

किन कोही जान मान्दैनन् कालापानी ?

मिल्दासम्म सबै हाई–हाई र नमिल्दा नाङ्गै पारेर उछित्तो काढ्ने त नेपाली बानी भई नै हाल्यो । तर, अघिपछि विरोधीलाई माथ खुवाउनकै लागि पनि राष्ट्रियता र सिर्जनात्मक शैलीका कार्यक्रम अगाडि सार्ने क्रम अहिले देखिएको छैन ।

०५४ मा एमाले विभाजन हुँदा मालेपक्षीय अखिल नेताहरु कालापानी मार्चपासमा गए, लोकप्रियता कमाए । प्रधानमन्त्री केपी ओलीले अस्ति सोमबार राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने बैठकलाई संबोधन गर्दै नक्सा जारी गरेको कुराले विदेशीहरु रिसाएको र त्यसकै उक्साहटमा आफ्नै पार्टीका साथीहरु परेको अभिव्यक्ति दिनुभएको छ । त्यसो त यो कुरा ‘स्याल कराउनु र बाख्रा हराउनु’ भनेजस्तो हुनसक्छ । तर, प्रधानमन्त्रीको यही दाबीलाई खण्डन गर्न पनि हिजो कालापानी जाने टोली, जो आज बढीजसो प्रचण्ड–माधव समूहमा छन्, उनीहरु झण्डा बोकेर त्यहाँ पुगेको भए के हुन्थ्यो ? तर, न मार्चपासवाला, न प्रधानमन्त्री, दुबैलाई राष्ट्रियताका लागि हैन, लोकप्रियताका लागि कालापानी चाहिएको छ । योगेश भट्टराई, स्व.रवीन्द्र अधिकारीहरु कालापानी गए, तर त्यसपछि त्यहाँ जानुको उद्देश्य पूरा गर्नेबारे एक दिन पनि सोचेनन् । प्रधानमन्त्रीले अभूतपूर्व राष्ट्रिय एकता गरेलगत्तै ती भूभागलाई नेपालको नक्सामा समेट्न संविधानको अनुसूची संशोधनको पहल गर्नु त भयो । तर, उक्त नक्सालाई शैक्षिक पाठ्यक्रममा समावेश गर्नबाट रोक लगाएर तुरुन्तै दक्षिणतिर शरण पर्न थाल्नु भयो । अर्थात्, ज–जसले कालापानीका कुरा गरे, ती सबै देखाउनका मात्र गरे । त्यसको मर्म, त्यससँग जोडिएको नेपाली भावना र चाहनासँग कसैको निरन्तर लगाव देखिएन ।

अझ केपी ओलीविरुद्ध आन्दोलनमा उत्रिएकाहरु त आफ्ना सिर्जनामा रम्न हैन, अर्जुन पराजुलीको कविता शेयर गरेर आफूलाई अब्बल सावित गर्न खोज्दैछन् । यस्तो बेलामा रेल र पानीजहाजको टिकट कहाँ पाइन्छ ? चुच्चे रेल कहाँ पुग्यो ? घरघरमा पाइपबाट ग्याँस जान्छ भन्थे । कहाँ छ, पाइपबाट निस्कने ग्यास ? यी कुरासहित सिलिण्डरको जुलुस निकालेको भए उनीहरुमा सिर्जनात्मकता देखिन्थ्यो । तर, एउटाले खानुसम्म खायो र अर्कोले केही पनि पाएन भनेर झगडा चर्किएजस्तो देखिन्छ । त्यसो त उनै योगेशहरुले यसबीच खाइपाइ आएको मन्त्री पद छाडेर त्याग पनि देखाएका छन् ।

टिप्पणीहरू