शर्मिलाको नेतृत्वमा गम्भीर गल्ती

शर्मिलाको नेतृत्वमा गम्भीर गल्ती

नेपालमा सरकारी कार्यालयहरुले चिठी-पत्र,विज्ञप्ति,सूचना लेख्दा गल्ती गर्ने गरेका घट्ना नयाँ होइनन् । यस्ता गल्ती राष्ट्रपति कार्यालयदेखि वडा कार्यालयसम्मका कर्मचारीले पटक-पटक दोहोर्याईरहेका हुन्छन् । एकपटक राष्ट्रपति कार्यालयले जारी गरेको बधाई सन्देशमा श्रध्दाञ्जली लेखिँदा चर्को आलोचना भएको थियो ।

सोमबार शर्मिला ढकाल नेतृत्वको नेपाली दूतावास ओमानले जारी गरेको एउटा बधाई सन्देशमा त्यस्तै गल्ती भेटिएको छ । सन्देशमा १४ जनवरी २०२१ हुनुपर्नेमा एक बर्षअगाडिकै मिति १४ जनवरी २०२० लेखिएपछि अहिले सर्वत्र आलोचना भैरहेको छ । दूतावासले ओमानी पर्वतारोहीले आमादब्लम हिमाल सफलतापूर्वक आरोहण गरेकोमा लेखेको बधाई सन्देशमा त्यस्तो गल्ती भेटिएको हो ।

‘ओमानी पर्वतारोही महिला नादिरा अल हार्थी १४ जनवरी २०२० मा नेपालको आमादब्लम हिमालको चुचुरोमा सफलतापूर्वक पुगी सो हिमाल चढ्ने पहिलो अरबी महिला बन्न सफल हुनुभएकोमा नेपाली दूतावास ओमान उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।’ बधाई सन्देशमा भनिएको छ ।

हार्थीले यसै वर्षको १४ जनवरीमा आमादब्लम आरोहण गरेकी थिइन् । तर दूतावासले सामान्य सावधानीसमेत नअपनाई सन् २०२१ को ठाउँमा सन् २०२० लेखेको हो । उनले सन् २०१९ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको पनि आरोहण गरेकी थिइन् । सरकारले उनलाई नेपाल भ्रमण वर्ष २०२० का लागि सद्भावना दूत नियुक्त गरेको थियो ।

हेर्दा सामान्य लाग्ने तर गम्भीर अर्थ दिने यस्ता गल्ती कूटनीतिक क्षेत्रमा निकै संवेदनशील मानिन्छन् । यस्ता गल्तीले मुलुककै छविमाथि समेत प्रश्न उठ्ने गर्छ । तथापि बारम्बार गल्ती भने दोहोरिरहन्छन् ।

टिप्पणीहरू