उपत्यकामा आज छपक्कै
प्रतिनिधिसभा विघटनका विरुद्ध उपत्यकामा हरेक दिन विभिन्न कार्यक्रमहरु भैरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेको भन्दै राजनीतिक दल, नागरिक समाज, बिभिन्न संघ-संगठन लगायतले एक महिनादेखि गरिरहेको आन्दोलन, विरोध प्रदर्शन, अन्तरक्रिया, भेला, बैठक आज पनि जारी छ। यसका साथै आज उपत्यकामा अन्य कार्यक्रम पनि आयोजना भैरहेका छन् ।
उपत्यकामा आज हुने कार्यक्रमहरू
अहिले बिहान सवा १० बजे माइतीघर मण्डलामा अनुसुया रिसर्च सेन्टरका सदस्यहरू सुगमजंग केसी, सुनिल महर्जन र लाेहित श्रेष्ठले टिचिङ अस्पतालमा रहेका बेवारिसे लासहरुकाे उचित ब्यवस्थापन गराउन दवाव दिने उद्धेश्यले सचेतनामूलक कार्यक्रम गर्दै छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको उपस्थितिमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला कार्यक्रम आयोजना गरिएको छ । भृकुटीमण्डपबाट र्यालीसहित जाने र बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा भेलाको उद्धघाटन हुने जनाइएको छ ।
दिउँसो १ बजे राप्रपा नेपाल (लाक्पा लामाङ) ले मित्रपार्कमा स्थापना गरेको पार्टी कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै, नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ।
नेवा: एकता दिवसको अवसरम ‘वर्तमान राजनीति र नेवार एकताको महत्त्व’ विषयक विचार गोष्ठी हुँदैछ । नेपा: ब्यांक्वेट खुसिबुँमा हुने गोष्ठी अपरान्ह ३ बजेका लागि तय भएको बताइएको छ।
त्यस्तै, अपरान्ह ४ बजे नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नागार्जुन नगर ३ नं. वडा कमिटीले असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही ओलीतन्त्रविरुद्ध विरोधसभा गर्दैछ। सो पार्टीले नागार्जुनस्थित वडा कार्यालय अगाडि सभाको आयोजना हुने बताएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले संसद विघटनका विरुद्ध माघ ९ गते राजधानिमा गर्न लागेको विरोध कार्यक्रमको तयारीस्वरुप पर्चा वितरण, कोणसभा, माइकिङ, सांस्कृतिक प्रचार सभा सहितका सिर्जनात्मक प्रचार कार्यक्रम गर्ने जनाएको छ ।
गंगामाया अधिकारीले छोरा कृष्ण प्रसाद अधिकारीको हत्यारलाई कारवाहीको माग राख्दै राष्ट्रिय ट्रमा सेन्टरमा पानीसमेत नखाई गरेको सत्याग्रह आज पनि जारी छ ।
त्यसैगरी, आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशनअनुसर क्याम्पस प्रमुखको कार्यकक्षमा असोज १२ गतेदेखि गरेको तालाबन्दी आज पनि जारी राखेको छ ।
टिप्पणीहरू