कसरी बन्छन् बदमासहरु करोडपति

झुटो कपाली तमसुक बनाएर अकुत आर्जन गरेको आरोपमा पक्राउ परेका विराटनगर–९ घोघापुल चौकका ४२ वर्षीय मन्टु भनिने सञ्जय रौनियारविरुद्ध मोरङ प्रहरीले ठगी, आपराधिक लाभ र आपराधिक विश्वासघात आरोपमा अनुसन्धान थालेको छ ।

पीडितले किटानी जाहेरी दिएपछि मोरङ प्रहरीले २७ मंसिरमै मन्टुलाई पक्राउ गरेको थियो । तर, अदालतले पर्याप्त प्रमाणको अभाव देखाउँदै मुद्दा दर्ता गर्न आनाकानी गर्‍यो । एसपी सन्तोष खड्काका अनुसार अब थप ३० दिन थुनामा राखेर मिटरब्याजी मन्टुले गरेका अपराध अनुसन्धान गर्न सहज भएको छ ।

प्रहरीले आफ्नो अनुसन्धान सकाएपछि सम्पत्ति शुद्दीकरण विभागको निर्देशनअनुसार पनि सम्पत्ति खोजी गर्नेछ ।

मिटरब्याजी मन्टुबाट ठगिएका २१ जना पीडितबाट प्रहरीले ब्याज लेनदेन गरेको हस्तलिखित कागज, कपाली तमसुकसँगै घरमा छापा मारेर राजीनामा पास गराएका जग्गाका धनीपुर्जा प्रमाणको रूपमा संकलन गरिसकेको छ । यसबाहेक उसले विभिन्न विमा, बंैक, वित्तीय र व्यापारिक कम्पनीमा गरेको लगानी पनि प्रहरीले खोजी थालेको छ । तीन बिघा खेतीयोग्य जमिन मात्र पैतृक सम्पत्ति भएका रौनियारले ५० करोड बढी आपराधिक सम्पत्ति आर्जन गरिसकेको दाबी प्रहरीको पनि छ ।

श्रीमती ज्योति र मिटरब्याजी सञ्जयका नाममा जिल्ला मालपोत कार्यालयमा ७० बढी कित्ता जग्गा एकलौटी राजीनामा पास भएको फेला परेको छ । यसैगरी, उनीहरूले दर्जनौँ मानिसलाई अदालतमा लेनदेन मुद्दा दायर गरेको पाइएको छ ।

भारतको बिहार ससुराली भएका सञ्जयले गैरकानुनी रूपले कमाएको रकम भारत लगेर लुकाएको आरोप पनि पीडितहरूको छ । यसबाहेक विराटनगरका विभिन्न व्यापारीलाई लाखौँ ऋण दिएको र विभिन्न कम्पनीमा शेयर कित्ता लगानी गरेको पनि सम्पत्ति शुद्धीकरण विभागमा दर्ता गराइएको उजुरीमा उल्लेख छ । रौनियारले विराटनगरको एलआइसी बिमा कम्पनीमा लाखाँै शेयर खरिद गरेका छन् ।

मरिसकेका बाबुको सही किर्ते

कुख्यात मिटरब्याजी मन्टु भनिने सञ्जय रौनियारले मृत्यु भएका बाबुको हस्ताक्षर किर्ते गरेर एकलौटी घरभाडा सम्झौता गरेको खुलेको छ ।

विराटनगर महानगरपालिका– ९ घोघापुल चौकमा रहेको घर अस्पताललाई भाडा दिन मृत्यु भइसकेका बाबु जमुनाप्रसादको हस्ताक्षर किर्ते गरेर ‘जनरल अस्पताल तथा न्यु ट्रमा सेन्टर प्रालि’ का सञ्चालकसँग एकलौटी घरभाडा सम्झौता गरेको खुलेको हो ।

अर्का नाइकेको सम्पत्ति खोजिँदै

विराटनगर–९ घोघापुल चोककै ३२ वर्षे गुण्डा नाइके मिटरब्याजी एजाज आलमको सम्पत्ति खोजी गर्न प्रहरी लागेको छ । प्रहरीले आपराधिक लाभ लिएको र मिटरब्याजको धन्दा चलाएर अकुत सम्पत्ति कमाएको आरोपमा एजाज आलमलाई पक्राउ गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । सामान्य परिवारका एजाजले गुण्डागर्दी र मिटरब्याजको धन्दाबाट ५० लाख बढीको जापानी मोटर चढ्दै आएका थिए ।

फरार तीन जना मुन्सिकको खोजी

गुण्डागर्दीमा परिचालन हुने युवाको समूहलाई प्रयोग गरेर जग्गा खाली गराउने, पैसा उठाउने, ठेण्डर हत्याउनेलगायत आपराधिक कार्यमा प्रयोग हुँदै आएका एजाजको समूह पछि अकुत पैसा कमाउँदै गएपछि आफँै मिटरब्याजी बनेको थियो । उनले आफ्नो गिरोहका तीन जना सदस्य विराटनगर–९ का ३५ वर्षीय तनविन खान, ३५ वर्षीय युसुफ भनिने फकिरा शेख र ३७ वर्षीय सावन दासलाई मुन्सी बनाएर मिटरब्याजको धन्दा चलाउँदै आएका थिए । प्रहरीका अनुसार एजाजका तीनै जना मुन्सी भारत फरार भएका छन् । तर, उनीहरू बस्दै आएको स्थान पत्ता लागिसकेकाले चाँडै भारतीय प्रहरीको सहयोगमा पक्राउ गर्ने दाबी एसपी खड्काले गरे ।

– गणेश लम्सालबाट

टिप्पणीहरू