नयाँ कोरोनाले बेलायत तहसनहस

नयाँ कोरोनाले बेलायत तहसनहस

बेलायतमा नयाँ स्वरुपमा कोरोना भाइरस संक्रमण तीव्र फैलिएसँगै जनजीवन ज्यादै प्रभावित बनेको छ । बेलायतमा सोमबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८९ हजार ८६० पुगेको छ । कुल संक्रमित संख्या ३४ लाख ३३ हजार ४९४ छ । यो भाइरस नियन्त्रणका लागि यहाँ तेस्रो लकडाउन जारी छ ।

हालसम्मको अध्ययनले यो भाइरस पहिलाको भन्दा लगभग ७० प्रतिशत छिटो फैलिएको भेटिएको छ । वैज्ञानिकहरुले बेलायत बाहेक अरु देशहरु नेदरल्याण्ड्स, डेनमार्क, साउथ अफ्रिकामा पहिले नै यस्तो स्वरुपको कोरोना भाइरस देखिएको दाबी गरेका छन्।

बेलायतले ब्राजिलमा भेटिएको नयाँ कोरोना भाइरस भेरिएन्ट झन् संक्रामक रहेको हुन सक्ने निष्कर्शमा साउथ अफ्रिका, पोर्चुगल र केप भर्डीबाट आउने यात्रुलाई रोक लगाएको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा वरिष्ठ वैज्ञानिकको रुपमा काम गरिसकेका र हाल कोभेन्ट्री विश्वविद्यालयमा इपिडेमियोलोजी तथा हेल्थ केयर रिसर्च विषयका एसोसियट प्रोफेसर डा. ओम कुर्मी चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म धेरैपटक म्युटेसन (उत्परिवर्तित) भएर अथवा त्यसको गुणहरुमा धेरै परिवर्तन भएर नयाँ स्ट्रेन (स्वरुप) हरु बनिसकेको बताउँछन् ।

कुर्मीका अनुसार, चीनको वुहानमा गत वर्ष डिसेम्बरको सुरुवातमा ‘एल स्ट्रेन’ देखापरेको थियो । त्यो एल स्ट्रेन भाइरस २०२० को सुरुवातमा एस स्ट्रेनमा परिवर्तन भयो र त्यसपछि भी र जी स्ट्रेन बन्न पुग्यो ।

युरोप र उत्तरी अमेरिकामा सबैभन्दा बढी जी स्ट्रेन पाइएको छ । युरोपका देशहरु आ–आफ्ना बोर्डर बन्द गर्न ढिलाइ गरे र यो भाइरस युरोपका विभिन्न देशमा फैलिन पुग्यो र त्यसका साथसाथै अरु विभिन्न स्ट्रेनहरु जस्तै जीआर, जीएच, जीबी देखापर्‍यो । त्यस्तै अलि कम म्युटेसन हुने कोभिड–१९ भाइरसको समूहलाई ओ स्ट्रेनमा राखियो ।

हाल केही हप्तादेखि धेरै चर्चामा रहेको भाइरस भीयूआई-२०२०१२-०१ हो । यो यूकेमा बढी देखिएको छ । नेपालमा पनि यो स्ट्रेन पुगिसकेको छ । यो पत्ता लगाउन ‘होल जिनम सिक्वेन्सिङ’ विधि अपनाउनुपर्ने डा. कुर्मीले बताए । अरु धेरै देशमा नदेखिनुको कारण होल जिनम सिक्वेन्सिङ विधि त्यति विकसित नभएर हुन सक्ने कुर्मीको बुझाइ छ ।

यो स्ट्रेनको संक्रमण तीव्र भए पनि यसले पहिलाको स्ट्रेन भएको व्यक्तिभन्दा बढी असर अर्थात बढी मृत्युदर जस्तो केही नदेखिएको विज्ञहरुले बताउँदै आएका छन् ।

अहिले बजारमा आएको भ्याक्सिनले यो स्ट्रेनमा काम गर्छ कि गर्दैन भन्ने चासो सर्वत्र पाइएको छ । सामान्तया जति पनि खोप बनिरहेका छन् वा अन्तिम परीक्षणमा छन्, तिनले नयाँ स्ट्रेनमा पनि काम गर्ने सम्भावना औंल्याउछन् नेपाली वैज्ञानिक डा. कुर्मी ।

जाडो याममा कोभिड–१९ संक्रमण बढी हुने पाइएको छ ।जाडो याममा धेरै किसिमका स्वासप्रश्वाससम्बन्धी भाइरसहरु जस्तै इन्फ्लुएन्जा, फ्लु अथवा अरु प्रजातिका कोरोना भाइरसहरु बढी देखिएको छ ।

यसैबीच, बेलायत अहिले इतिहासमै सबैभन्दा ठूलो खोप अभियानमा छ । कोरोना भाइरस महामारीविरुद्धको लडाईंसंग जुध्न ८ डिसेम्बरदेखि खोप वितरण शुरु गरिरहेको बेलायतले मध्ये फेब्रुअरीसम्म १५ करोड मानिसलाई खोप दिने योजना बनाएको छ ।

बेलायत सरकारको खोप अभियानमा नेपाली समुदायले पनि स्वयंसेवी भूमिका निर्वाह गरेको छ । सरकारले कोरोना विरुद्धको खोपलाई तीव्रता दिएसंगै हालसम्म करिब ४५ लाखलाई खोप दिइसकेको छ ।

टिप्पणीहरू