‘प्रधानमन्त्रीको भाषामा राजाकै भाषा ह्वास्स’ : प्रचण्ड (भिडियो)

‘प्रधानमन्त्रीको भाषामा राजाकै भाषा ह्वास्स’ : प्रचण्ड (भिडियो)

नेकपा (बहुमत) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई दुर्घटनातर्फ उन्मुख गराउँदै दुश्कर्मको सुरुवात गरेको बताउनुभएको छ । उहाँले ओलीको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति प्रक्रियालाई भङ्ग गर्ने र देशलाई ठूलो दुर्घटनातर्फ डोर्याउने षड्यन्त्रको सुरुवात भएको समेत बताउनुभयो । मंगलबार राजधानीमा आयोजित प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै उहाँले अहिलेको अवस्था अन्त्यन्तै असामान्य रहेकोप्रतिगमन र प्रतिक्रान्तिको खतरा बढिरहेकाले त्यसलाई रोक्ने प्रतिज्ञा र संकल्पसहित एकजुट भएर लाग्न पनि सबैलाई आव्हान गर्नुभयो ।

५० वर्षदेखि सँगै रहेका पूर्व एमालेका वरिष्ठ नेताहरूलाई आफूले विश्वासमा लिन नसक्ने अनि प्रचण्डले खेल्यो भन्ने ?

संविधानको प्रस्तावनामै मुलुकको सार्वभौम अधिकार जनतामा निहीत रहेको उल्लेख गर्दै उहाँले त्यसलाई लत्याएर ओलीले राजा महाराजाकै शैली र भाषामा संसद विघटन गरेको बताउनुभयो । प्रचण्डको भनाई थियो ‘प्रधानमन्त्री ओलीको भाषामा राजाकै भाषा ह्वास्स गन्हाएको छ’ । उहाँले ओलीको राजतन्त्र पुनःस्थापना गर्ने र देशलाई अराजकताको भूमरीमा झोस्ने प्रतिक्रान्तिको योजना जसरी पनि असफल पार्नुपर्ने बताउनुभयो । ‘केपी ओलीले पटक पटक पार्टी फुटाउन खोजेको तर आफूले धेरै अपमान सहेर पनि त्यसलाई रोकेको’ स्मरणसमेत प्रचण्डले कार्यक्रममा गर्नुभएको थियो ।

उहाँले खोक्रो राष्ट्रवादको आड र विदेशी शक्तिको योजनामा ओलीले पार्टी फुटाएको दाबी गर्नुभयो । पूर्वएमालेमा खेलेर विभाजन गराएको भन्ने ओलीको आरोपको खण्डन गर्दै उहाँले भन्नुभयो, ‘५० वर्षदेखि सँगै रहेका पूर्व एमालेका वरिष्ठ नेताहरूलाई आफूले विश्वासमा लिन नसक्ने अनि प्रचण्डले खेल्यो भन्ने ? हिजो मात्र एकतामा आएको प्रचण्डले कसरी विश्वासमा लियो,म केपी ओलीलाई आफ्नै अनुहार ऐनामा हेर्न आग्रह गर्छु ।’ उहाँले जनताले मात्रै सहि फैसला दिने भएकाले आफूहरू जनतामा गएको पनि त्यस अवसरमा उल्लेख गर्नुभएको थियो ।

प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई धम्क्याउँदै हिँडेको भन्दै उहाँले दुवैतिर सेटिङ गरेको भन्ने केपी गुटलाई भन्नुभयो ‘आफ्नो कर्मको फल ओलीले चाँडै भोग्नेछन्’ । प्रेस संगठनलाई प्रतिगमनको दुस्साहसलाई पराजित गर्ने गरी आन्दोलनको आँधीहुरी ल्याउन पनि उहाँले आग्रह गर्नुभयो । केपी ओलीले जनताको सार्वभौम अधिकारको मुटुमै प्रहार गरेको हुँदा आफूहरूमा केहि आक्रोश र आवेग भएपनि धैर्यता नगुमाएको उहाँको भनाइ छ । प्रचण्डले भन्नुभयो ‘जनमत निर्माणमा पत्रकारको भूमिका अग्रणी हुने भएकाले प्रतिगमनविरुद्ध निरन्तर लेख्ने र बोल्ने गरिरहनुहोस् ।’

भिडियोः 

https://www.facebook.com/Janaasthanews/videos/843088019597658/

टिप्पणीहरू