माधव नेपालले भन्नुभयो ‘केपी ओली असहयोगी हुन्’
नेकपा (बहुमत) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिवर्तनलाई उल्ट्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले षड्यन्त्र गरिरहेको बताउनुभएको छ । मंगलबार राजधानीमा आयोजित प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले ओलीले कम्युनिष्ट पार्टीको सर्वोच्च स्थानमा बसेर संविधान र लोकतान्त्रिक गणतन्त्रमाथि कुठाराघात गरेको बताउनुभयो ।
गणतन्त्र र संघीयताका पक्षमा ओली कहिल्यै इमान्दार नभएको भन्दै नेपालले ओलीको इतिहास खोजेर जनतामा ल्याउन पत्रकारहरूलाई आग्रह गर्नुभयो । ‘ओलीको असली चरित्र के हो खोजेर जनतामा ल्याउनुस्, त्यसपछि उनले गरेका झुटा प्रचारको खण्डन गर्नुस् ।’
उहाँले कम्युनिष्ट पार्टीभित्रैबाट कुनै व्यक्तिले प्रतिक्रान्तिकारी कदम चालेकोमा आफूलाई लज्जित बनाएको पनि उल्लेख गर्नुभयो । ‘संविधानको मर्म, भावना र मान्यता विपरित असंवैधानिक कू गरिएको छ । त्यो गर्ने मानिस कम्युनिष्ट पार्टीभित्रैबाट देखिएको छ । क्रान्तिकारी पंक्तिभित्रैबाट प्रतिक्रान्तिकारी काम भएको छ, यसले हामीलाई लज्जित बनाएको छ । कस्तालाई नेता बनाइएछ, कस्तालाई प्रधानमन्त्रीमा प्रस्ताव गरिएछ !!’
लोकतन्त्रका लागि १४ वर्ष जेल बसेको भन्ने ओलीको भनाइप्रति व्यङ्ग्य गर्दै उहाँले ओलीले के के गरे फेहरिस्त बाहिर ल्याउन पत्रकारहरूलाई अनुरोध गर्नुभयो । झापा आन्दोलनका बेलादेखि नै ओलीमा व्यक्तिवाद मौलाउन थालेको र आफू महासचिव बनेपछि सधैं असहयोग गरेको पनि नेपालले बताउनुभयो ।
‘केपी ओली जहिले पनि असहयोग गर्ने व्यक्ति हुन् । एकचोटी सहयोग गरेका थिए,त्यो पनि वामदेवलाई पछार्नका लागि । त्यतिबेला वामदेवको हुर्मत लिनलाई ’,उहाँले भन्नुभयो, ‘अहिले वामदेव बीचमा हल न चलको अवस्थामा हुनुहुन्छ । उतै जानुहुन्छ भन्ने हल्ला छ,साँचो के हो थाहा छैन ।’ नेता गौतमप्रति संकेत गर्दै उहाँले संकटका बेला नै नेताको पहिचान हुने बताउनुभयो । परिवर्तन नै संकटमा परेका बेला बीचमा उभिनु गलत हुने उहाँकोभनाइ छ । ‘सहि र गलत छुट्ट्याएर गलतकाबिरुद्ध उभिनुपर्छ । असल नेता त्यो हो जसले राम्रो कामको लागि नेतृत्व गर्छ।’
ओली पक्षले बनाएको साइबर सेनाबारे टिप्पणी गर्दै उहाँले त्यसले ओलीलाई जोगाउन नसक्ने दाबी गर्नुभयो । ‘अरिङ्गालको गोला र झुसिल्किराहरूले केही गर्न सक्दैनन् । सत्य र न्याय हाम्रो पक्षमा छ’ । संसद् विघटन भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको हैसियत के हो ? भनेर उहाँले प्रश्न पनि गर्नुभएको छ । ‘हामीले विघटन मानेका छैनौं । जसले विघटन गरेको भनेको छ, आफैं कसरी प्रधानमन्त्री भइरहन सकेको ?,’ उहाँले भन्नुभयो, ‘जब प्रतिनिधिसभाको सदस्य होइन भने कसरी प्रधानमन्त्री बन्न मिल्छ ? कि कामचलाउ भन्नुस्, कि बिदा हुनुस् ।”
माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न गए भन्ने ओलीको भनाइको प्रतिवाद गर्दै उहाँले भन्नुभयो, ‘ओरिजिनल एमालेमा माधव नेपाल हो,केपी ओली होइन । तर अब कोही पनि एमाले र माओवादीमा छैनन् । सबै एक भैसकेका छन्, ती सबै नेकपा भैसकेका छन् ।’
टिप्पणीहरू