मन परेपछि पर्‍यो पर्‍यो

मन परेपछि पर्‍यो पर्‍यो

निजामती सेवामा एउटा रोग छ मन परेको कर्मचारीलाई शीरमै सिउरिने, मन नपरेको कर्मचारीलाई देखिनसहने । नीति, विधि, पद्धतिलाई धोती लगाएर नेताको खल्तीका मान्छे टपक्क टिपेर तिनलाई कसरी पक्षपोषण गरिन्छ भन्ने रमाइलो दृश्य देखा पर्यो यो साता ।

यो साताको क्याबिनेट बैठकले एक जना विवाद्स्पद् छविका सह सचिवलाई बढुवा मात्र गरेन साविककै ठाउँमा पदस्थापन गरेपछि ती कर्मचारी र त्यहाँका मुख्यमन्त्रीबीचको सम्बन्धका बारेमा निजामती बृत्तमा अनेक खाले लख काटिँदै छ । एउटा मामुली कर्मचारी खुशी पार्न मुख्यमन्त्रीहरु कुन हदसम्म गिरेर काम गर्छन् भन्ने तथ्य पनि हो यो ।

अस्तिको मन्त्रिपरिषद् बैठकले सहसचिव भरतमणि सुवेदीलाई सचिवमा बढुवा गर्यो तर रोलक्रम मिचेर । जबकि सचिव बढुवाको पहिलो नम्बरमा थिए सुमनराज अर्याल । भरतमणि सुवेदी दोश्रो नम्बरमा । उनलाई सचिवमा उकालिएनमात्र सिधै पदस्थापन पनि गरियो साविककै कार्यालयमा । सुवेदी लुम्बिनी प्रदेशमै कार्यरत थिए ।

मुख्यमन्त्री शंकर पोखरेलसँगको सम्बन्धकै आधारमा सुवेदी सोही ठाउँमा पदस्थापन भए । रमाइलोचाहिँ कस्तो भने अधिकांश कर्मचारी संघबाट तल प्रदेश वा स्थानीय तहतिर जान नपरे हुन्थ्यो भन्ने ठान्छन् । त्यही अनुसार चलखेल गर्छन् । तर सुवेदीको हकमा ठ्याक्कै उल्टो । तलबाट माथि आउनै नमान्ने ।

सुवेदी कतिसम्म जब्बर कर्मचारी भने, गत भदौमा एकै पटक ६० जना सहसचिवको सरुवा गर्दा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका सचिव भरतमणि सुवेदीको सरुवा भएको थियो संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ।

उनको ठाउँमा सहसचिव लोकसेवा आयोगबाट खगेन्द्रप्रसाद सुवेदी खटाइएका थिए । उनले त्यहाँ बस्ने कुर्सी पाएनन् । त्यसै हल्लिनुपरेपछि काठमाडौं फर्किए । झण्डै चार महिनासम्म लुम्बिनी प्रदेशबाट केन्द्रमा आएनन् । बरु यही बीचमा सोही प्रदेशका प्रमुख सचिव तोयानारायण ज्ञवालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानियो । अतिरिक्त समूहमा थन्काइयो ।

अहिले खेलोफड्को बुझिदैछ त्यहाँबाट रातारात प्रदेशका प्रमुख सचिव तोया ज्ञवालीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा लखेट्नु र भरतलाई निमित्तको जिम्मेवारी दिनुको रहश्य ।

महिनौ दिनसम्म लुम्बिनी प्रदेश प्रमुख सचिव बिनै चल्यो । त्यतिञ्जेल कामु प्रमुख सचिवको जिम्मेवारी तिनै भरतमणिको काँधमा आइलाग्यो ।
अस्तिको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले दोस्रो नम्बरमा सिफारिस गरेका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका सचिव रहेका सुवेदीलाई सचिवमा बढुवामात्र गरेन त्यही ठाउँमा पदस्थापन गर्ने निर्णय गर्यो ।

जस्तो यसअघि सात पटकसम्म बढुवा सिफारिस भएका गोकर्णमणि दुवाडी बल्ल सचिव बने । महिनौसम्म पदस्थापन गरिएन । अहिले दुई नम्बर प्रदेशतिर हुत्याइएको छ ।

टिप्पणीहरू