सडकमै किशोर किशोरीको सन्देश
प्रतिनिधिसभा विघटनविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको बेला बुधबार सडकमै संसद बैठक आयोजना गरिएको छ । संसद विघटनविरुद्ध प्रदर्शनमा उत्रिएको नेपाल टिन लिडर्सले सांकेतिक विरोधस्वरूप भृकुटीमण्डपमा नमूना संसद (राष्ट्रियसभाको बैठक) बोलाएको हो ।
संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको भन्दै कार्यक्रमका सहभागीहरुले संविधानतः प्रतिनिधिसभा भंग हुन नसक्ने भनेकाले सडकमा साङ्केतिक बैठक राखेको बताएका छन् ।
बैठकमा आफ्ना धारणा राख्दै कृतिका खरेलले संविधानको संरक्षक भएर पनि राष्ट्रपति विद्यादेवी भण्डारीले सोअनुसारको भूमिका खेल्न नसकेको भन्दै असन्तुष्टि जनाएकी छिन् । ‘राष्ट्रपतिले चाहेको भए संसद विघटन हुनबाट बचाउन सक्नुहुन्थ्यो तर त्यस्तो गर्नुभएन । राष्ट्रपतिज्यू तपाईं प्रधानमन्त्रीको सारथी हो कि जनताको राष्ट्रपति ?,’ प्रश्न गर्दै खरेलले भनिन्, ‘हामीलाई आशा र भरोसा छ, सर्वोच्चले संसद पुनःस्थापना गर्नेछ ।’
संविधान मिचेर गरिने निर्वाचनको अर्थ नहुने भन्दै नितमराज पौडेलले कोरोनाको उपचार गर्न छोडेर सरकार अन्तै बहकिएको बताए । ‘जनतालाई हामीले निराश बनाउन मिल्दैन महोदय ! सिधै उपधारा २ बाट ७ मा हामफाल्नु कति उचित हुन्छ ? निर्वाचनमा खर्च हुने पैसा कोभिड कोषमा खर्चिएको भए कति राम्रो हुन्थ्यो,’ उनले आफ्नो धारणा राख्ने क्रममा भने ।
पार्टीभित्रको समस्या पार्टीमै हल गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जनताको सार्वभौम थलोमाथि प्रहार गरेको भन्दै युवराज बानियाले आक्रोश पोखे । ‘आफ्नै पार्टीले काम गर्न दिएन भन्दैमा संसद विघटन गर्न कति उचित हुन्छ ?,’ उनले प्रधानमन्त्री ओलीलाई नमूना संसद बैठकबाट प्रश्न गरेका छन् । ‘प्रधानमन्त्रीले अर्कै देशको संविधान र कानुन त पढेर आउनु भएन ?’ व्यंग गर्दै सोधे, ‘यो कदम गैरसंवैधानिक छ । सत्ताको लोभमा परेर संसद विघटन गर्नु कति ठिक छ ?’ म प्रधानमन्त्रीका सारथीलाई सोध्न चाहन्छु ।’
संसद बैठकलाई सम्बोधन गर्दै अनिल दाहालले राजनीतिक स्थिरताका लागि कम्तिमा दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्थाको स्मरण गराए । उनको भनाइ थियो ‘संसद विघटन नहोस् र राजनीतिक अस्थिरता पनि नहोस् भनेर कम्तिमा दुई वर्षसम्म अविस्वासको प्रस्ताव गर्न नपाइने बनाइयो । अदालतले संसद पुनःस्थापना गर्छ भन्ने आशामा छौं ।’
टिप्पणीहरू