सुदूरपश्चिम प्रदेश क्याबिनेट पुनर्गठन हुने
नेकपाभित्र उत्पन्न विभाजनको सोझो असर प्रदेश सरकारहरुमा समेत पर्न थालेको छ । कतै अविश्वास प्रस्ताव दर्ता भएको छ भने कतै मन्त्रिपरिषद् विस्तार गरिँदैछ । प्रदेश नं. १ र बाग्मती प्रदेश सरकारविरुद्ध पुस महिनामा नै अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । उता, सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको बताइएपनि कसैलाई नहटाइने स्रोतको दाबी छ ।
‘अहिलेको क्याबिनेटलाई बिस्तार गरी केही मन्त्री थप्ने योजना मात्र बनाइएको हो’ मुख्यमन्त्री निकट स्रोतले बताएको छ । थपिने मन्त्रीको लागि दीर्घ सोडारी, तारा लामा तामाङ,कुन्ती जोशी मानबहादुर धामी,पूर्ण जोशी, वीरमान चौधरी, अक्कल रावललगायतका सांसदहरु तीव्र आकांक्षी देखिएका छन् । कतिपयले सामाजिक सञ्जालमा दुई जना राज्यमन्त्रीसहित नौ जनाको क्याबिनेट भन्दै नाम र मन्त्रालयसमेत किटानी गरेर पोष्ट गर्न थालेको समेत पाइएको छ ।
मन्त्रीमण्डलबाट पठानसिंह बोहोरा र झपट बोहोरालाई यसअघि नै हटाइ सकिएको छ । पठानसिंह भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री थिए भने झपट आर्थिक मामिला । अहिले क्याबिनेटमा पाँच जना मन्त्री छन् । संवैधानिक हिसाबले प्रदेशमा ११ जनासम्मको मन्त्रीमण्डल बनाउन सकिन्छ । सुदूरपश्चिम प्रदेशसभामा ५३ जना सांसद छन् । त्यसमध्ये काँग्रेसका १२, राजपाका २ र नेकपाका ३९ जना हुन् । प्रधानमन्त्री ओलीको पक्षमा ७ जना देखिएका छन् ।
टिप्पणीहरू