प्रतिगमनविरुद्ध मोटरसाइकल र्याली
प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलन चर्काइरहेको नेकपा (बहुमत) ले बुधबार मोटरसाइकल र्याली निकालेको छ । माघ ९ गते शुक्रबार आयोजना हुने बृहत् विरोध प्रदर्शनको पूर्वसन्ध्यामा मोटरसाइकल र्याली गरिएको सो पार्टीद्वारा गठित केन्द्रीय संघर्ष समितिले जनाएको छ ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै आएको नेकपाले पर्सि माघ ९ गते शुक्रवार राजधानीमा बृहत् जनप्रदर्शन गर्दैछ । उक्त जनप्रदर्शनको प्रचारका लागि उपत्यकास्तरीय मोटरसाईकल र्याली निकालेको संघर्ष समितिले जनाएको छ ।
पार्टीका प्रवक्ता तथा आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले नेतृत्व गर्नुभएको मोटरसाइकल र्यालीमा नेकपाका जनवर्गीय संगठनहरुको बाक्लो उपस्थिति रहेको थियो । र्यालीमा १५ सयभन्दा बढी मोटरसाइकल निकालिएको छ । भृकुटीमण्डपबाट शुरु भएको र्याली पद्दमोदयमोड, पुतलीसडक, बागबजार, भक्तपुर, पुरानो बसपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, जावालाखेल, लगनखेल, सातदोबाटो, बालकुमारी, कोटेश्वर तीनकुनेमा पुगेर समापन भएको छ ।
र्यालीका क्रममा ‘प्रतिगमन मूर्दावाद !’, ‘असंवैधानिक कू खारेज गर !’ जस्ता नारा लगाइएकाे थियाे ।
टिप्पणीहरू