छविले बिगारे एचआइडिसिएलको उज्यालो ‘छवि’
तत्कालीन ऊर्जामन्त्री गोकर्ण विष्टले बडो महत्वकांक्षाकासाथ जलविद्युत् क्षेत्रमा मात्रै लगानी गर्न स्थापना गरेको हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि (एचआइडिसिएल) गलत नेतृत्वका कारण डुब्ने अवस्थामा पुगेको छ ।
तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६८ सालको जेठमा उद्घाटन गरेको कम्पनी अहिलेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छविराज पोखरेलको असक्षमताले गर्दा विगतमा कयौं सरकारी संस्था डुबेजस्तै बाटोमा अगाडि बढेको छ । सिइओले गरेका गलत निर्णयको कारण कम्पनी लगानीकर्तालाई प्रतिफल दिन नसक्ने अवस्थामा पुगेको हो । यसबाट कम्पनीमा २ अर्ब रूपैयाँ लगानी गरेका सर्वसाधारण लगानीकर्ता निराश हुने अवस्था बनेको छ ।
विषयगत दक्षताभन्दा पनि राजनीतिक पहुँचका आधारमा सिइओ नियुक्त भएका पोखरेल माघको दोस्रो हप्ता सकिने आफ्नो कार्यकाल थप्न विभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् । पूर्वसभामुख कृष्णबहादुर महरा नजिक रहेका प्युठानका पोखरेल त्यही पावर प्रयोग गर्दै कम्पनीको सिइओमा नियुक्त भएका थिए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री भएको वेला महराको दबाबमा पोखरेललाई सिइओ नियुक्त गरिएको थियो ।
गरिबी निवारण कोषमा पनि राजनीतिक नियुक्ति खाएका पोखरेलमाथि त्यहाँ गरिएका अनियमितताका फाइलमा अख्तियारले पनि सूक्ष्म छानबिन गरिरहेको स्रोतले बतायो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अस्वाभाविक बहिर्गमनपछि पोखरेल त्यहाँको प्रमुख हुने भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्युठाने सूर्य थापालाई लिएर तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनकोमा गएका थिए । ‘मन्त्रालयबाट तपाईंले पोखरेललाई प्राधिकरणको कार्यकारी नियुक्त गर्न प्रस्ताव लैजानुप¥यो, प्रधानमन्त्रीलाई कन्भिन्स गराउने जिम्मा मेरो भयो भन्दै थापाजीले प्रस्ताव लिएर आउनुभएको थियो’ भन्दै पुनले आफू निकटलाई बताउने गरेका थिए । स्मरण रहोस्, घिसिङलाई दोस्रो कार्यकाल नियुक्तिका लागि सर्वसाधारणले आवाज उठाउँदा थापाले ‘कुरा नबुझी एक पाखेहरूले यस्तो कुरा गरेको’ भनेपछि चर्को आलोचना भएको थियो ।
उसो त नेकपाको केन्द्रीय सदस्य भएर पनि मन्त्री पुनको स्वकीय सचिव (पिए) बसेका दुर्गाप्रसाद चापागाईं ‘सचिन’सँग पनि पोखरेलकोे विशेष घनिष्ट सम्बन्ध थियो । मन्त्री पुनलाई रिझाएर पोखरेल उनको पनि प्रिय बनेका थिए । मन्त्री पुनको गृहजिल्ला रोल्पामा पर्ने १५६ मेगावाटको माडी जलाशययुक्त आयोजना साझेदारीमा निर्माण गर्न पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइनासँग (पावर चाइना)सँग एमओयू गरेर सिइओ पोखरेलले मन्त्रीलाई खुशी बनाएका थिए । सिइओ पोखरेलले जलविद्युत् क्षेत्रमा काम गर्ने एक स्थानीय एजेण्ट मेट सर्भिसेसका प्रवीण श्रेष्ठसँगको मिलेमतोमा ९१२ मेगावाटका दुई निर्माण गर्ने भन्दै पावर चाइनासँग एमओयू गरेका छन् । ती आयोजनाहरूमा ताप्लेजुङमा पर्ने ७५६ मेगावाटको तमोर र माडी जलाशयययुक्त थिए । गत वर्ष चिनियाँ राष्ट्रपति सिजिङ पिङको नेपाल भ्रमणको मौका छोपी राजधानीको सोल्टी होटलमा एमओयू गरिएको थियो ।
भ्रमणमा औपचारिक रूपमा एमओयू गर्न कुनै कार्यक्रम नभए पनि होटलको हलमा कार्यक्रम चलिरहँदा एउटा बन्द कोठामा गोप्य रूपमा एमओयूमा हस्ताक्षर भइरहेको थियो । हस्ताक्षर कार्यक्रममा मन्त्री पुन, ऊर्जा सचिव एवं एचआइडिसिएलका अध्यक्ष दिनेशकुमार घिमिरे र मेटा सर्भिसेसका कर्मचारी साक्षी थिए । हस्ताक्षरको फोटो सार्वजनिक भएपछि सबै आश्चर्यमा परेका थिए । यसैगरी पोखरेलले सञ्चालक समितिलाई थाहासमेत नदिई ताप्लेजुङमा पर्ने तमोर मेवा जलविद्युत् आयोजनाको प्रवर्द्धकसँग अपरादर्शी एमओयू गरेका थिए । तमोर मेवाका प्रवद्र्धक भानेन्द्र लिम्बूसँग बोर्डबाट सहमतिसमेत नलिई अपारदर्शी रूपमा पोखरेलले एमओयू गरेका थिए । एमओयू गरेर केही व्यक्तिको स्वार्थ पूरा भए पनि अहिलेसम्म कुनै पनि आयोजना अगाडि बढेका छैनन् । सबै आयोजना गफमै मात्र सिमित छन् ।
‘काम हुनु पर्दैन हाम्रो सिइओ साब खाली एमओयू गर्न रुचाउनु हुन्छ, उहाँको काम त एमओयू गर्ने मात्रै देखिन्छ, सेयरमा लगानी गर्न दिएको साढे ५ अर्ब पैसा लगानी नदेखाएर बैंकमा डिपोजिटमा राखी हिसाब गोलमाल गरेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याउँदै छानबिन गर्न भनेको छ’, कम्पनीका एक अधिकारी भन्छन्, ‘महालेखाले यस्तो गम्भीर विषय उठाउँदासमेत छानबिन भएको छैन, ऊर्जा सचिव नेतृत्वको सञ्चालक समिति नै मौन बसेको छ, राजनीतिक पहुँच भयो भने जस्तो सुकै फट्याइँ गरे पनि माफ पाइँदो रहेछ’,उनले गुनासो पोखे ।
एचआइडिसिएलले जलविद्युत् आयोजनामा सेयर र ऋण लगानी गर्न सक्ने भएता पनि पोखरेलले राख्ने अपारदर्शी मागलाई पूरा गर्न नसक्दा आफूहरूले लिएर गएको लगानी प्रस्ताव अस्वीकृत हुने गरेको एक भुक्तभोगी प्रवद्र्धकले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
टिप्पणीहरू