नेकपाको प्रदर्शनमा घुसपैठको चिन्ता
प्रतिनिधिसभा विघटनका विरुद्ध सडक संघर्ष चर्काइरहेको नेकपा (बहुमत) ले भोलि (माघ ९ गते) काठमाडौँमा हुने बृहत् जनप्रदर्शनमा सरकारबाट घुसपैठ हुनसक्ने भन्दै कार्यकर्तालाई सचेत गराएको छ।
जनसभाको आवश्यकता र तयारीबारे जानकारी दिन केन्द्रीय संघर्ष समितिले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रदर्शनमा घुसपैठ गरी शान्तिपूर्ण आन्दोलनलाई विथोलेर अराजकता र द्वन्दतिर लैजाने सरकारी र प्रतिगामी समूहको प्रयासप्रति चिन्तित रहेको जनाइएको छ ।
‘हाम्रो संविधानले निर्दिष्ट गरेको सीमाभित्र रहेर गरिने यो प्रदर्शन पूर्णतया: शान्तिपूर्ण हुनेछ। आन्दोलनका विषयमा फैलाइएका कुनैपनि भ्रममा नपर्न हामी अपिल समेत गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘तर, प्रदर्शनमा घुसपैठ गरी शान्तिपूर्ण आन्दोलनलाई बिथोलेर अराजकता र द्दन्द्दतिर लैजाने सरकारी तथा प्रतिगामी समूहको प्रयासप्रति भने हामी सचेत छौँ।’
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, प्रतिगामी र अराजनीतिक भनेको नेकपाले जनप्रदर्शनका लागि डेढ लाख कार्यकर्ता काठमाडौँ उतार्ने बताएको छ।
विज्ञप्तिमा दशकौं लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाद्वारा जारी संविधानमाथि ओलीले प्रहार गरेकाले देशव्यापी संघर्षमा उत्रिनु परेको बताइएको छ।
नेकपाले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि आन्दोलनको विकल्प नभएको भन्दै सबैलाई सहभागी हुन पनि आग्रह गरेको छ।
टिप्पणीहरू