सल्लाह हैन हुकुम शीरोपर
मन्त्री फेरिए पनि मन्त्रालय त उही हो, तर मन्त्रीलाई कानुनी र प्रशासनिक हैन, ‘आफ्ना’ को मात्रै चिन्ता हुँदा कस्तो हुन्छ अहिले वन मन्त्रालयमा देखिँदैछ ।
पुस ५ मा संसद विघटनलगत्तै थपिएका हुन्, वनमन्त्री प्रेमकुमार आले । उनमा असाध्यै कम सुझबुझ हुँदा कर्मचारीले दुःख पाइरहेका छन् । ठेक्कापट्टाको पृष्ठभूमिका आले अखण्ड सुदूरपश्चिम आन्दोलनपछि तत्कालिन एमालेको ओली पक्षधर भएर राजनीतिमा प्रवेश गरेका हुन् । अहिले मन्त्री भइसक्दासम्म पनि दुईवटा कार्यशैली उस्तै राखेका छन् । एउटा हो, व्यापारिक चिन्तन, अर्को गुटगत क्रियाशीलता । मन्त्रालयमा कतै कर्मचारी खालि भयो कि ‘आफ्नो मान्छे हालिहालौँ’ भन्ने बानी छ । त्यसमाथि मन्त्री भएलगत्तै धनगढीको आमसभा भनेर गएको, उतै लामो समय बसे ।
वनमा मात्रै हैन, सिंगो कर्मचारीतन्त्र अहिले बालुवाटारको दबदबाले आक्रान्त छ । ‘यसो होइन, त्यसो गरौँ’ भन्ने हिम्मतका सचिवहरु नहुँदा, अनि भन्नेखालका मान्छेहरु चेपुवामा पारिँदा ‘निर्देशन’ ले हैन, ‘हुकुम’ ले प्रशासनिक संरचना चलेको छ । कोही, कसैले बालुवाटारको कुरा काट्योमात्रै भने त्यहाँ कुरा पुगिहाल्ने र कुरा पुग्नेबित्तिकै कुरा काट्नेका दशा बिग्रन थाल्ने भयंकर ठूलो त्रासमा कर्मचारी छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि अलिक ठोकठाक गरेर वामपन्थी कर्मचारीले कतै कतै ठाउँ पाए । तर, अहिले पूर्वएमालेको पनि ओली गुटबाहेकको भए दुःख दिने गरिँदा कर्मचारीमा कामप्रतिको लगाव घटेको बताइन्छ ।
टिप्पणीहरू