कसले सुन्ने यसको कथा
‘गर्न सक्नेले’ अरुका वरिष्ठता, योग्यता र क्षमतामाथि कसरी प्रहार गर्छन् र आफू हावी हुन्छन् भन्ने कुराको एउटा उदाहरण बनेका छन्, वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरे । उनीबाट ‘कार्यकारी’ को अधिकार खोसिएको छ, त्यो पनि अचम्मैसँग ।
अहिले त्यहाँको समुच्च अधिकार छ, महाप्रवन्धक डिमप्रकाश पौडेलसँग । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका निकटस्थ हुन् । तर, पुस ५ को कदमसँगै योगेशले राजीनामा दिइसकेपछि पनि शक्ति घटेन, बरु बढ्यो । यसबाट पेलानमा परे, झण्डै ४० वर्षदेखि राष्ट्रको सेवा गर्दै नेपाल सरकारको सचिवबाट अवकास पाएका सुशील घिमिरे । अहिले अध्यक्ष पद छाड्ने मनस्थितिमा पुगेका छन् । कात्तिक १ बाट कार्यकारी अधिकार खोसिएको हो । जबकि योगेशले चाहँदा पनि डिमप्रकाशलाई सञ्चालक समितिको सदस्य बनाउनै चार महिना लागेको थियो । तर, उनले सुशीलको कार्यकारी खोस्न चार दिन पनि लागेन । कारण हो, ओलीपक्षीय कृषिमन्त्री पद्मा अर्याललाई साथ लिएर उनी बालुवाटार पुग्नु । त्यहाँबाट आदेश गराएर मन्त्रालयमा ‘कार्यकारी’ को चिठी बुझे । डिमप्रकाश अखिल पृष्ठभूमिका र योगेशनिकटस्थ कार्यकर्ता हुन् । पहाड स्याङ्जा र तराई नवलपरासीका उनले पहाडको नाताले पद्मासँग निकटता कायम गर्दै सुशीलको कार्यकारी खाइदिएको चर्चा पर्यटन मन्त्रालयमा छ ।
उता, नेवानिसँग अहिले चारवटा जहाज किनेको मात्रै ऋण छ, ३८ अर्ब । एयर बस थ्री २० को केही किस्ता तिरेको थियो । तर, पछि लकडाउनका कारण तिर्ने काम बन्द छ । यदि सरकारले नेवानिलाई सहयोग गर्ने हो भने ऊ घाटामा रहँदैन । तर, सरकारको ध्यान ध्वजावाहकलाई सुधार्ने भन्दा निजीलाई पोसेर कमिशन खाने भएपछि नेवानिका दुःख घटेनन् । अरु त अरु, स्वयं प्रधानमन्त्री विदेशतिर जानुप¥यो भने यति समूहको सञ्चालन रहेको हिमालय एयरलाइन्स रोज्ने स्थिति छ । अहिले पनि नेवानिका लागि गर्ने हो भने सरकारसँग मौका छ । पर्यटनका हाकिमहरु भन्छन्, ‘यही तालले हो भने त संस्था डुब्छ ।’ कस्तो बिजोग भने, अन्तर्राष्ट्रिय उडानहरु पूर्णतः सुचारु भइसक्दा पनि अर्बौं रकम खर्चेर किनिएका वाइडबडी जहाज थन्किएर बसेका छन् । तिनै वाइडबडी चैतको लकडाउन अघिसम्म १३ घण्टा नै चलेका थिए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार त्यस्ता जहाज सामान्यतया १२ घण्टा चलेको हुनुपर्छ ।
चालु आर्थिक वर्षको बजेटअघि नेवानिलाई आर्थिक रुपमा बलियो बनाउन सुशील घिमिरेको अग्रसरतामा राम्रै छलफल भएको थियो । पैसा दिन नसके पनि सञ्चयकोषको व्याज पाँच प्रतिशत घटाए हुन्छ भन्ने माग थियो । नभए पनि आयल निगमले पाँच प्रतिशत मुद्दतीमा जम्मा गरेको पैसाबाट नेवानि सुधार्ने योजना पनि अगाडि सारिएकै हो । वा, नेपाल सरकारकै सम्पत्तिका रुपमा डिडिए गरेर रकम दिँदा पनि हुन्थ्यो भन्ने अर्को विकल्प थियो । अहिले पनि नेवानिसँग ४५ अर्बको दायित्व र ५४ अर्बको सम्पत्ति छ । तर, सरकारभित्रै यस्तो संयन्त्र छ कि, न सुगतरत्न कंसाकारले सुखसँग काम गर्न पाए, न मदन खरेल नै टिके । हुँदाहुँदा छानेर, राम्रो मान्छे भनेर ल्याइएका सुशील घिमिरेलाई अपाङ्ग बनाइयो ।
त्यहाँ अहिले विदेशी पाइलट पाँच जना छन् । चार–पाँच लाख रुपैयाँ तलब खान्छन् । पहिला २२ हजार डलरसम्म तलब खाने विदेशी थिए । नेपाली पाइलटहरुको फ्लाइङ आवर नपुगेका कारण यस्तो भएको हो ।
अर्कातिर, मन्त्रीपिच्छे युरोपियन युनियनका देशहरुमा नेवानिमाथि लागेको कालोसूची हटाउने कुरा हुन्छ । तर, पहल गर्नुपर्ने नागरिक उड्डयन प्राधिकरणलाई निजी विमान कम्पनी पोस्दैमा फुर्सद छैन ।
टिप्पणीहरू