ओलीसङ्ग वामदेवले माग्नुभयो अध्यक्ष (भिडियाे)

ओलीसङ्ग वामदेवले माग्नुभयो अध्यक्ष (भिडियाे)

नेकपा दुबै खेमाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूलाई अध्यक्ष बनाउन प्रस्ताव गरेको खुलासा गर्नुभएको छ । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा बोल्दै गौतमले  ‘तपाईं प्रधानमन्त्री हुनुुहुन्छ । प्रधानमन्त्री चलाइरहनुहोस्,मलाई पार्टी अध्यक्ष बनाउनुहोस् ।’ भनेर प्रस्ताव गरेको तर ओलीले अस्वीकार गरेको बताउनुभयो । आफूलाई अध्यक्षको दाबी गर्नुको आधार दिँदै गौतमले भन्नुभयो ‘म अध्यक्ष भएँ भने तुरुन्तै पार्टी एकता गराउन सक्छु । तर,उहाँले मान्नुभएन ।’

नेतृत्व हस्तान्तरणको प्रसंगमा उहाँले ‘उमेरमा प्रधानमन्त्रीभन्दा पनि छिप्पिएको मान्छे भएको नाताले आफूलाई दिने होला’ भनेको समेत खुलासा गर्नुभएको हो । तर,प्रत्युत्तरमा प्रधानमन्त्रीले ‘म निर्वाचनको माध्यमबाट एउटा कमाण्डर बनेर चुनाव हाँक्न जाँदैछु । तपाईंले चाँहि डिमोशन गरेर अध्यक्षबिनाको प्रधानमन्त्री बनाइदिनुहुन्छ,’भन्नुभएको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्रीको त्यस्तो जवाफ पाएपछि ‘त्यसोभए हुँदैन,म तपाईंसँग आउन सक्दिनँ’ भनेर आफूले जवाफ फर्काएको पनि उहाँले उल्लेख गर्नुभएको छ । पद पाए जाने नत्र नजाने भन्नुको तात्पर्य तपाईंमा पनि पदको लोभ रहेछ नि ? भनेर सोधिएको जिज्ञासामा गौतमले ‘अध्यक्ष पाए जाने नत्र नजाने भनेको पदको लोभ होइन । केपी अध्यक्षसहितको प्रधानमन्त्री भएकै कारण अहिलेको लफडा भएकोले अध्यक्षमा नबस्नुस् भनेको हुँ ।’

‘उहाँ प्रधानमन्त्री मात्र हुने र म अध्यक्ष हुने हो भने मैले त्यो पार्टीलाई एकताको लागि राम्रोसँग सम्बोधन गर्छु । मैले दुवैतिर सम्बोधन गर्छु । म दुवैतिर ग्राह्य भएको नाताले पार्टीलाई एक बनाउन सक्छु,’ गौतमले अन्तरवार्तामा दृढता व्यक्त गर्नुभएको छ ।

तपाईंसमेत अध्यक्ष बनेको अवस्थामा तीन वटा अध्यक्ष रहने भयो नि ? भन्ने जिज्ञासामा उहाँको धारणा थियो ‘आफू एउटा मात्र अध्यक्षको पक्षपाती हुँ । मिल्दाखेरी प्रचण्ड,माधव,म जो भएपनि एउटा मात्र अध्यक्ष हुने हो । तर,पार्टी एकीकरण हुनुपर्यो ।’

टिप्पणीहरू