भगौडाहरूले बढि खरानी घसे : अध्यक्ष प्रचण्ड

भगौडाहरूले बढि खरानी घसे : अध्यक्ष प्रचण्ड

नेकपा (बहुमत) ले शुक्रबार काठमाडौँमा बृहत् शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनबिरुद्ध नेकपाले उपत्यकामा डेढ लाख मानिस उतारेको दाबी गरेको छ । विरोध सभालाई नेकपाका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई सडकबाटै तह लगाउने चेतावनी दिनुभएको छ । ओलीले प्रतिनिधिसभा मात्र नभई संविधान र शान्ति प्रक्रियालाई नै विघटन गर्न खोजेको भन्दै उहाँले सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत दिनुभएको हो ।

उहाँले ओलीलाई बेलैमा ठेगान नलगाएर आफूहरूले गल्ती गरेको भन्दै माफीसमेत माग्नुभएको छ । अध्यक्ष प्रचण्डले अर्कोपक्षमा गएका पूर्वमाओवादीका नेताहरूले ओलीलाई खुशी बनाउन जे पनि बोल्ने गरेको बताउनुभएको छ । उहाँले ओलीका साइबर सेनाभन्दा भगौडाहरूले बढी खरानी घसेको देख्दा आफूलाई अचम्म लागेको बताउनुभयो ।

‘उहाँहरूले धेरै खरानी घस्नुभएको छ,’ ओली समूहमा गएका पूर्व माओवादी नेताहरूतर्फ संकेत गर्दै प्रचण्डले भन्नुभयो, ‘ओलीका समर्थकलेभन्दा पनि तल्लोस्तरमा झरेर टिप्पणी गरेको देख्दा अचम्ममा परेको छु ।’

सभालाई सम्बोधन गर्दै अर्का अध्यक्ष माधवकुमार नेपालले ओली एक्लिँदै गएकाले अब साइबर सेना र अरिङ्गाल मात्र बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ओलीको विरुद्ध सिङ्गो देश उभिएको छ । ओलीकोपक्षमा साइबर सेना र अरिङ्गालमात्रै छन् । हाम्रो विशाल पार्टीसँग ओलीका अरिङ्गाल र साइबर सेनाले लड्ने क्षमता राख्दैनन् ।’

अध्यक्ष नेपालले ओलीले पार्टीमा हैरानी मात्र दिएको भन्दै उनीसँग मिल्ने कुनै सम्भावना नरहेको पनि प्रष्ट पार्नुभयो । फेरि ओलीसँग मिल्छन् कि भनेर अन्य पार्टीहरूले आशंका गरेको भन्दै उहाँले भन्नुभयो, ‘ओलीले ५० वर्षसम्म हैरान पारे, दुःखमात्रै दिए । पार्टी एकता गरेपछि सुध्रिन्छन् कि भन्ने सोच्यौँ तर भएन,हामी मूल्यको राजनीति गर्छौं । विचारको राजनीति गर्छौं, अब ओलीसँग मिल्ने कुनै सम्भावना छैन ।’

वरिष्ठ नेता झलनाथ खनालले पार्टीको आधिकारिकता आफूहरूसँगै रहेको भन्दै सडकमा आएर हेर्न चुनौति दिनुभयो । खनालले भन्नुभयो, ‘कुन पार्टी आधिकारिक हो ? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु ।’ ओलीलाई कम्युनिष्ट आन्दोलनको घटक तत्व भन्दै उहाँले प्रतिगमन नसच्चिएसम्म आन्दोलन नरोकिने समेत प्रष्ट पार्नुभयो ।

टिप्पणीहरू