हिजोको बिरोधसभामा अवरोधको आरोप

हिजोको बिरोधसभामा अवरोधको आरोप

नेकपा (बहुमत) ले शुक्रबार राजधानी काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शन तथा सभामा समर्थक,शुभेच्छुक र सर्वसाधारणको उपस्थिति उल्लेख्य रहेको दावी गरिएको छ । कार्यकर्ता पङ्क्ति मात्रै होइन जनताको उपस्थिति र सहभागिता नै उक्त कार्यक्रमको सकारात्मक पक्ष रहेको आयोजकहरुले बताएका छन् ।

सरकारले भने गृह मन्त्रालयमार्फत् प्रहरीलाई दिएको निर्देशनअनुसार हरेक नाका र गौंडामा प्रदर्शनकारीहरू चढेका सवारी साधनलाई रोक लगाउने प्रयास गरेको आरोपसमेत लगाइएको छ । सवारी साधन चालकलाई ब्लु बुकलगयतका कागजात चेक जाँच गर्ने नाममा पटक पटक केरकार गरेको उपत्यका बाहिरबाट आएका कार्यकर्ताले बताएका छन् । जबकि उपत्यका बाहिरबाट प्रदर्शनकारी बोकेर भित्रिएका सवारी साधनमा ब्यानर झुण्डाइएको थियो । तर पनि प्रहरीले कडैसङ्ग सोधिखोजी गरेको देखिन्थ्यो ।

‘ती सबै गतिबिधि बृहत् प्रदर्शनलाई ढिलाढिला पार्ने उद्देश्यबाट अभिप्रेरित थियो । प्रहरी परिचालन गरेर सहभागीहरूलाई सकेसम्म कार्यक्रमस्थलमा ढिलो पुर्याइदिने आशय देखिन्थ्यो ।’ आयोजक समितिका एकजना सदस्यले जनआस्थालाई बताए । त्यसो त त्यही कार्यक्रमको निहुँमा आजको बन्द सफल पार्न बिप्लव समूहबार घुसपैठको खतरा न्यूनिकरण गर्न पनि सुरक्षा जाँचलाई कडा गर्न परेको प्रहरी प्रशासनको जिकिर छ ।

राजनीतिक प्रभावको हिसाबले काठमाडौं उपत्यकामा पूर्वमाओवादीको संगठन कमजोर छ । झण्डै एक महिनादेखिको आन्दोलनमा देखिएको सहभागितालाई हेर्दा उपत्यकामा बढेको पुस महिनाको चिसोझैँ स्थानीयको उपस्थिति चिसो देखिन्छ । उपत्यका साविक एमाओवादीको पहिलेदेखि नै कमजोर कार्य क्षेत्र हो । शुक्रबारको कार्यक्रममा काठमाडौं वरिपरिका जिल्लाबाट आएका मान्छेको उपस्थिति उल्लेख्य देखिन्थ्यो ।

साविक एमालेका नेता तथा कार्यकर्तामध्ये अधिकांश नेता नेकपा बहुमततिर देखिएका छन् । त्योभन्दा तलका कार्यकर्ता र शुभेच्छुकचाँहि सूर्य चिन्हको आधिकारिकतालाई पर्खेर बसेको भनिन्छ । उनीहरूले सर्वोच्च अदालत र निर्वाचन आयोगले गर्ने निर्णयलाई ‘पर्ख र हेर’ को रणनीतिमा राखेका छन् । उपत्यकामा साविक एमालेको वामपन्थी पकड भएपनि माओवादीको छैन । पूर्वएमालेको बलियो संगठन भएपनि उनीहरू पर्ख र हेरमा बसेको र एमाओवादीको कमजोर संगठनको छायाँ आन्दोलनमा देखिएको हो ।

हालसम्मको सबैजसो राजनीतिक आन्दोलनलाई उचाईमा पुर्याउन स्थानीय नेवार समुदाय जुरुक्क उठ्नुपर्छ । तर,त्यो समुदायमा माओवादीको पकड देखिँदैन । अघिल्लो वर्ष गुठी विधेयकको बिरोधमा देखिएको सहभागिताले नेवारहरूको उपस्थितिलाई आवश्यक ठहर्याएको थियो । ०४६ साल,०६२/०६३ सालको आन्दोलन सफलतामा उपत्यकावासीको निर्णायक भूमिका थियो । उपत्यकामा निर्वाचित सांसद तथा स्थानीय तहका पदाधिकारीलाई हेर्दा पनि माओवादीको कमजोर अवस्थालाई उजागर गरेको बताइन्छ ।

टिप्पणीहरू