प्रधानमन्त्रीको च्याम्बरमा माकुरो

प्रधानमन्त्रीको च्याम्बरमा माकुरो

एकातिर संसद पुनर्स्थापना भए विकल्प के ? अर्कातिर, सिंहदरबारको अफिसमा परेको माकुराको जालोको चिन्ता ! यस्ता दुःख पनि छन्, बालुवाटारमा ।

केही दिनअघि मुख्यसचिव शंकरदास बैरागीले प्रधानमन्त्रीसँग भन्नुभयो, ‘सरकारी काम सरकारी टेबुलमै बसेर गर्दा ठीक होला हजुर !’ जवाफ आयो, ‘जान्छु–जान्छु ।’ बैरागीले थपे, ‘हजुर पार्टी प्यालेसतिर मात्रै गएर भएन, अफिस पनि आउनुपर्छ ! अफिसभरि माकुराको जालो लागिसक्यो । हप्तामा एकैचोटि भए पनि जानुपर्‍यो !’ प्रधानमन्त्रीले फेरि भन्नुभयो, ‘जाने नै त हो नि !’ तर, यसो भनेको हप्ता दिनभन्दा बढी भइसक्यो, न प्रधानमन्त्री जानुभयो, न माकुराका जालो र कुर्सीका धुलो नै सफा गरिए ! खासमा सरकारी फाइल निवासको सोफाभन्दा अफिसको कुर्सीबाट सदर गर्दा शानदार हुने मुख्य सचिवको आशय थियो । प्रधानमन्त्रीले कार्यालय नटेकी बालुवाटारबाट काम चलाएको– पौने एक वर्ष कटिसक्यो ।

अनि, प्रधानमन्त्रीको टिमका मान्छेहरु बालुवाटारमा गफगाफ गर्दैछन्, ‘पुनस्र्थापना भए के गर्ने ?’ भनेर । स्वयं केपी ओली, प्रमुख सल्लाहकार विष्णु रिमाल र उपप्रधानमन्त्री ईश्वर पोखरेलबाहेक अरु सबै पुनस्र्थापना भइदिए पार्टी बाँच्थ्यो भन्ने धारणा राख्छन् । महासचिव विष्णु पौडेल पनि भित्री मनबाट त्यही चाहन्छन् । एकजनाले भने, ‘पुनस्र्थापनापछि केपी ओली सकिएर के भयो, आन्दोलन त जोगिन्छ नि !’ तर, पुनस्र्थापना भयो भने केपी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मुडमा रहेको उनीहरुको साझा बुझाई छ । अहिलेकै स्थितिमा शेरबहादुरलाई प्रधानमन्त्री बनाउने संख्या केपीसँग पुग्दैन । तर, पुनर्स्थापना भएन भने केपी ओली झन् डरलाग्दो हुने सम्भावनाबारे उनीहरु चर्चा गरिरहन्छन् ।

टिप्पणीहरू